पुस्तक : मैनालीको ‘घाउ आफैंलाई दुख्छ’ निबन्धसंग्रह

✍️ सुशीला घिमिरे   POSTED ON : पुष २४, २०७८ (१०:०४ AM)

पुस्तक : मैनालीको ‘घाउ आफैंलाई दुख्छ’ निबन्धसंग्रह

नेपाली साहित्यका फाँटमा पछिल्लो प्राप्तिका रूपमा गोपी मैनालीको निबन्धसंग्रह ‘घाउ आफैंलाई दुख्छ’ शीर्षकको पुस्तक प्रकाशित भएको छ । मैनाली नेपाल सरकारका सेवा निवृत्त सचिव हुनुहुन्छ भन्ने सबैलाई थाहा छ । यसैगरी उहाँको उक्त प्रकारको अर्को समानात्तर व्यक्तित्व पनि छ त्यो साहित्यिक व्यक्तित्व हो भनेर पनि धेरैलाई थाहा छ तर सबैलाई थाहा नहुन सक्छ । पछिल्लो समय मैनाली निबन्धसंग्रह लिएर नेपाली साहित्यका फाँटमा आउनु भएको छ । उहाँको प्रशासनिक कार्य सफल भए जसरी नै साहित्यिक पाटो पनि सफल छ । उहाँ बौद्धिक साहित्यिकार हुनुहुन्छ र लेखनमा निबन्ध, नियात्रा र समालोचना लगायतका विधाहरू उहाँबाट सिर्जना भएका छन् ।

उहाँको हालै प्रकाशित निबन्धसंग्रह ‘घाउ आफैंलाई दुख्छ’ एउटा स्तरीय पुस्तक हो । यो पुस्तक डिएमए साइजमा प्रकाशित छ । सन्तोषी माता सञ्चार प्रा.लि.काठमाडौं प्रकाशक रहेको यस पुस्तकको सर्वाधिकार निबन्धकारमै रहेको छ । पहिलो संस्करणका रूपमा २०७८ सालमै वा हालै प्रकाशित यस पुस्तकको यस संस्करणमा १००१ प्रति छपाइ भएको उल्लेख गरिएको छ । भूमिका खण्डसमेत १९२ पृष्ठमा यो पुस्तक प्रकाशित छ र यसको मूल्य ४०० रुपैयाँ रहेको छ । पुस्तकको छपाइ स्तरीय छ तर कतै-कतै अशुद्धिहरू भेटिन्छन् । पहेंलो, तौल हुने कागजको प्रयोग पुस्तकमा भएको छ । 

यसको मुख्य वितरक एक्सिलेन्स पब्लिकेसन प्रा.लि.बागबजार रहेको छ भने मुद्रण ओमश्री अफसेट प्रेस, काठमाडौं रहेको छ । पुस्तकको आवरण सजावट/लेआउट किरण गजुरेलले गर्नुभएको छ । आवरण आकर्षक छ कालो पृष्ठभूमिमा माथि सेतो अक्षरमा पुस्तकको शीर्षक ‘घाउ आफैंलाई दुख्छ’ र तल निबन्धकारको नाम ‘गोपी मैनाली’ पनि सानो सेतो अक्षरमा राखिएको छ । बीचमा कुनै माथिल्लो ओहोदाको सरकारी कर्मचारी बसेको जस्तो लाग्ने अमूर्त कला दिइएको छ । पुस्तक ‘मनको बहबाट उम्किन खोज्नेहरूप्रति’ समर्पण गरिएको छ । 

पुस्तकको आवरणको पछाडि फोटोसहित निबन्धकारको परिचय दिइएको छ जसबाट उहाँको जन्म २०२० साल असार १ गते काभ्रेपलाञ्चोक जिल्लाको कानपुर-१ मा भएको रहेछ भन्ने थाहा हुन्छ । उहाँले अर्थशास्त्र, विकास प्रशासन तथा वित्त व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएको जनकारी पनि यहाँ दिइएको छ । उहाँले बिएड र बिएलसमेत गर्नुभएको छ । काठमाडौंको शंखमूलमा बस्तै आउनु भएका मैनालीका यसअघि अवसाद अभिनयी-निबन्धसंग्रह २०४०, आँखाभरि रमिता, मनभरि वेदना-नियात्रा २०६३, युगकवि सिद्धिचरण : कृति र प्रवृत्ति विश्लेषण-समालोचना २०६८, अपेक्षा र अनुभूति-निबन्धसंग्रह २०७४ लगायतका कृतिहरू र विभिन्न पत्रपत्रिकामा धेरै संख्यामा लेखरचना प्रकाशित भएका छन् । 

यसैगरी उहाँको ‘अभिव्यञ्जना यात्राप्रति’ समालोचना संग्रह प्रकाशनका क्रममा रहेको जानकारी दिइएको छ । उहाँ नेपाल जनप्रशासन संघको आजीवन सदस्य, प्रशासन, व्यवस्थापन र विकास केन्द्र (कामाद)को आजीवन सदस्य, ब्युरो ८१ को आजीवन सदस्य र पूर्वकर्मचारी सेवा परिषद् नेपाल यशस्करको सदस्य रहनु भएको उल्लेख छ । उहाँले विभिन्न आधा दर्जनभन्दा बढी मान, सम्मान र पुरस्कारहरू पाउनुभएको कुरा यहाँ उल्लेख गरिएको छ । 

उहाँले सुप्रबल जनसेवा श्री पदक, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार, बागमती प्रदेशस्तरीय प्रतिभा पुरस्कार, धुलिखेल सेवाश्री, राष्ट्रसंघीय प्रणालीबाट गरिबी र वातावरण कार्यक्रमका लागि विशेष प्रशंसा, लाइन्स क्लबस अन्तर्राष्ट्रिय र लाइन्स ब्लाब अफ काभ्रे शंखुबाट नागरिक सम्मान तथा काभ्रे सेवा समाज, मैनाली सेवा समाज, नेपाल निजामती कर्मचारी युनियन, बचत तथा ऋण केन्द्रीय सहकारी संघ म्याग्दी सहकारी, सिको सहकारीबाट सम्मानलगायतका मानसम्मान उहाँले प्राप्त गर्नु भएको छ । 

पुस्तकको भूमिका खण्डमा प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेलको ‘गोपी मैनालीको निबन्धकला’ १६ पेजसम्मको पृष्ठको फैलावटमा छ । त्यसपछि निबन्धकारको ‘निबन्धबारे आफ्ना कुरा’ रहेको छ । यसपछि विषयसूची ‘निबन्धक्रम’ शीर्षकमा रहेको छ । त्यसपछि उहाँसिर्जित निबन्धहरू क्रमशः दिइएका छन् । यस पुस्तकमा उहाँका विभिन्न शीर्षकका ३० वटा निबन्धहरू दिइएका छन् । उहाँको छोटो र छरितो शीर्षक राख्ने प्रवृत्ति पाइन्छ । एक शब्दका सातवटा, दुई शब्दका चारवटा, तीन शब्दका १० वटा, चार शब्दका ६ वटा र पाँच शब्दका तीनवटा निबन्धहरू यस पुस्तकमा छन् । 

यसबाट उहाँका तीन शब्दको शीर्षक भएका निबन्धहरू बढी संख्यामा देदिन्छन् । उहाँका निबन्धहरू ३ देखि ९ पृष्ठसम्मको फैलावटमा रहेका छन् जसले गर्दा निबन्ध लामा र झन्झटिला छैनन् भन्ने देखिएको छ । पाठकलाई उहाँका निबन्धले आकर्षण गरिरहन्छन् । सबै निबन्धहरू एक बसाइमा पढिसकिने खालका छन् । तीन पृष्ठको १, चार पृष्ठको ८, पाँच पृष्ठको ८, छ पृष्ठको ६, सात पृष्ठका ४, आठपृष्ठका २ र नौ पृष्ठको फैलावटमा एकवटा निबन्धहरू यस पुस्तकमा रहनाले यी निबन्धहरू पढ्न खासै लामो समय लाग्दैन । ‘घाउ आफैंलाई दुःछ’ निबन्ध यस संग्रहको शीर्ष निबन्ध हो । 

यस संग्रहका अधिकांश निबन्धहरू आत्मापरक शैलमा लेखिएका छन् । अधिकांश मानिसले आफ्नै कुरा लेख्छन् र लेख्ने पनि आफ्नै कुरा नै हो तर तिनले अरूलाई केही दिन सक्नुपर्छ । आफ्ना कुण्ठामात्र पोख्ने गर्नाले अरूलाई प्राप्ति केही हुँदैन र दिकदार मात्र बनाउँछ । मैनालीका निबन्ध त्यस्ता छैनन् पठनीय छन् । उहाँले आफ्ना कुरा त गर्नु भएकै छ तर तिनले पाठक दिकदार बन्दैनन् । 

समाज, सार्वजनिक प्रशासन, साहित्य, संस्कृति, कला, नवीन प्रविधि, पुस्तान्तरण, मित्रता, राजनीति, चाडपर्व, जन्मभूमि, मानवीय टकराव, युद्ध तथा विविध विषयको दार्शनिक चेतना उहाँका निबन्धहरूमा छरपष्ट छन् । उहाँका सोच पनि अरूका भन्दा पृथक छैनन् तिनलाई प्रस्तुत गर्ने शैली, शब्द र तिनमा रहेको गहनता फरक छन् । 

उहाँले केही निबन्धहरूमा आफ्ना प्रशासकीय अनुभवलाई विषय बनाउनु भएको छ । नेपाली साहित्यको नवीनतम प्राप्ति यो पुस्तक एउटा पठनीय र संग्रहणीय कृतिका रूपमा सर्वाजनिक भएको छ । पुस्तकका लागि निबन्धकार गोपी मैनालीलाई बधाई तथा सफलताको कामना । साथै यस्तै कृतिहरूको सिर्जनामा उहाँको सेवानिवृत्त जीवनले सार्थकता पाओस् हार्दिक शुभकाना ।

Top