कविता : समाजवाद

✍️ सागर खनाल   POSTED ON : पुष २७, २०७८ (८:१४ AM)

कविता : समाजवाद

मध्यरातमा, 

भेडाहरूको माझमा 

बन्दुकका नाल टेक्दै 

गरीबका खालको बुट बजार्दै 

उन्मत्त प्याला पिएर 

श्रमिकको ज्याला लिएर 

अहिंसाको पगरी लगाई 

रगतको लाली चढाई 

तिम्रो वाद चिच्याउँदै छ-

‘इन्क्लाब जिन्दावाद’ ।


यस निष्पट्ट रातमा 

‘माओ’ गर्ने बिरालो निदाइसक्यो 

दाँतेको दाँत मक्किसक्यो 

रुसोको रूप चाउरिसक्यो 

मार्क्सको मन चुँडिसक्यो 

लेलिनका विचारहरू लिलामीका सुली चढिसके 

तर तिम्रो वाद आएन ।


आयो त केवल,

गरीबलाई एक छाक गासको 

विधवालाई प्रियको साथको 

आमा–बालाई छोराको 

टुहुरोलाई बुबाको याद आयो   ।

के तिम्रो समाजवाद आयो ?

Top