रौतहट । १२ वर्षअघि रौतहटमा भएको बम विस्फोट एवं उक्त विष्फोटमा घाइते भएकाहरूलाई जीवितै इँटाभट्टाको चिम्नीमा हालेर हत्या गरेको घटनाका मुख्य आरोपित मोहम्मद अफताब आलमको थुनछेक बहस भोलि (शुक्रबार) लाई सरेको छ ।
जिल्ला अदालत रौतहटमा आज सुरु भएको थुनछेक बहस अदालतको समय सकिँदा पनि बहस गर्नेहरुको पालो नसकिएपछि भोलिका लागि सरेको हो ।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सकिएपछि अब आलमको पक्ष र विपक्षमा कानुन व्यवसायीहरुले बहस सुरु गरेका थिए ।
पीडितको पक्षबाट पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङग्रौला, वरिष्ठ अधिवक्ता पुष्पराज पौडेल, आशिकराम कार्की , गोविन्द शर्मा, ओमप्रकाश अर्याल, दिनेश त्रिपाठीलगायतले बहस गर्ने बताइएको छ ।
प्रतिवादी आलमको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरेलगायत रौतहट आइपुगेका छन्।
यसअघि बिहीबार नै आलमको बयान सकिएको थियो ।
२०६४ साल चैत्र २७ गते रौतहटमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका थिए ।
Views: 207