30th September | 2020 | Wednesday | 3:56:07 PM

हिमाली जिल्लामा हिमपात–कतै मनोरञ्जन कतै सास्ती

  POSTED ON : मंसिर २७, २०७६ (१:२३ PM)

हिमाली जिल्लामा हिमपात–कतै मनोरञ्जन कतै सास्ती

डोल्पा । केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च पहाडी जिल्लामा हिमपात सुरु भएको छ । हिमपातले कतै मनोरञ्जन सृजना गरेको छ त काहीँ दैनिक जीवननै कष्टकर बनेको छ ।

हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ । यहाँको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको हो । नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि माझफाल, सरस्वती मावि दुनै, आदर्श मावि जुफाल र शुभकामना आधारभूत विद्यालयको नेपाली विषयको परीक्षा स्थगन भएको हो ।

बिहानैदेखि लगातार भइरहेको हिमपातका कारण बढेको अत्यधिक चिसोका कारण विद्यार्थी परीक्षामा सामेल हुनसक्ने अवस्था नभएकाले आज हुने नगरपालिकाभित्रका आधारभूत र माध्यमिक तहकोे नेपाली विषयको परीक्षा स्थगन भएको ठूलीभेरी नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र पर्ने केही विद्यालयमा हिमपातका कारण परीक्षा नै स्थगन गर्नुपर्ने भएकाले अन्य विद्यालयको परीक्षासमेत स्थगन गरिएको ठूलीभेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले जानकारी दिए । 

प्रश्नपत्र एउटै भएकाले पनि अन्य विद्यालयमा परीक्षा सञ्चालन गर्न समस्या भएको बताउँदै मौसममा सुधार आएर हिउँ पग्लेपछि आइतबार नेपाली विषयको परीक्षा हुने उनले जानकारी दिए । भारी हिमपातका कारण बाटोघाटो थुनिएकाले टाढाटाढाका गाउँबाट विद्यार्थी विद्यालयसम्म पुग्ने अवस्थासमेत नरहेको उनले बताए ।

 “विद्यालयमै बाग्लो हिउँ जमेको छ, हिमपात जारी छ, अत्यधिक चिसोका कारण विद्यार्थी विद्यालयसम्म पुग्ने अवस्था छैन, पुगेका विद्यार्थीले पनि लेख्नसक्ने अवस्था छैन”, लक्ष्मी मावि थरगाउँका विज्ञान शिक्षक हरिस जोशीले भने । 

त्यस्तै कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ । 

यही मङ्सिर १९ गतेदेखि जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा सञ्चालन भएको वार्षिक परीक्षा हिमपातले प्रभावित बनेको छ । परीक्षा सञ्चालन भइसकेको र रोक्न नमिल्ने भएकाले आगो बालेरै भए पनि परीक्षा सञ्चालन भइरहेको तिला गाउँपालिका– ४ नाभीडाँडा आधारभूत विद्यालयका शिक्षक तेजबहादुर शाहीले जानकारी दिए । 

“बाहिर हिउँसँगै पानी परिरहेको छ । चिसोले बालबालिकाको हात कठ्याङ्ग्रिन थालेपछि आगो बालेरै परीक्षा सञ्चालन गरेका छौँ,” शिक्षक शाहीले भने, “वर्षेनी जाडो र हिमपात भइरहँदा बालबालिकालाई परीक्षा दिन कष्ट हुने गर्दछ ।” स्थानीय सरकारले आगामी वार्षिक परीक्षालाई अगाडि सारे विद्यार्थीले यो समस्या भोग्नुनपर्ने उनको भनाइ थियो ।

चिसोले जुम्लाका आवासीय विद्यालयका बालबालिकाको परीक्षा सञ्चालन हुन सकेको छैन । हिमपातले हिमाली जनजीवन पनि कष्टकर भएको छ । गरीब घरपरिवार, ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा बालबालिकालाई चिसोले बढी प्रभावित बनाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा अर्जुनप्रसाद तिवारीले जानकारी दिए । डा तिवारीले तातोपानी खान, न्यानोमा बस्न, औषधि नियमित सेवन गरिराख्न, झोलिलो तातोतातो चीज खान आग्रह गरे ।

कर्णालीका हुम्ला, डोल्पा, मुगु, कालीकोट र जाजरकोट जिल्लावासीको दैनिकी बढी कष्टकर बनेको बताइएको छ ।

देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । चन्द्रागिरीलगायत केही स्थानमा भने हिउँ परेको छ । यहाँका हिउँसँग खेल्न मानिसहरु भेला भएका छन् ।


Views: 244

सम्बन्धित सामग्री:

रुकुमकोटमा हट्यो निषेधाज्ञा

: आश्विन १४, २०७७ (३:४१ PM)