30th September | 2020 | Wednesday | 1:48:48 PM

भूकम्प प्रतिरोधात्मक इँटा उद्योग सञ्चालनमा

  POSTED ON : मंसिर २७, २०७६ (१:२९ PM)

भूकम्प प्रतिरोधात्मक इँटा उद्योग सञ्चालनमा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा इन्टरलक ब्रिक (भूकम्प प्रतिरोधात्मक इँटा) उद्योग सञ्चालन गरिएको छ । दिक्तेलका गोविन्द बजिमयको एकल लगानीमा साढे पाँच महिनाअघि उक्त इँटा उद्योग सञ्चालन गरिएको हो । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित जिल्ला प्रहरी कार्यालय अगाडि सञ्चालन गरिएको उक्त इँटा उद्योगबाट अहिलेसम्म दश हजार गोटा इँटा बिक्री भइसकेका जनाइएको छ । जिल्लामै पहिलो पटक सञ्चालन गरिएको उद्योगमा उत्पादित इँटाले बजारको माग धान्न हम्मे परेको छ । प्रतिगोटा रु ५७ पर्ने इन्टरलक इँटा बहुउपयोगी हुने भएकाले सबैले प्रयोग गर्न थालेका सञ्चालक बजिमयले बताए । 

“जिल्लामा भूकम्पपछिको पुनः निर्माणको काम धमाधम भइरहेको छ”, उनले भने, “पाँच कामदार लगाएर उत्पादन गरिए पनि बजारको माग धान्न गाह्रो भएको छ ।” उद्योगमा काम गर्ने कामदारलाई प्रतिव्यक्ति रु दशदेखि बाह्र हजारसम्म तलब दिने गरिएको जनाइएको छ । दुई हाते यन्त्र जडान गरेर शुरु गरिएको उद्योग चार रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरिएको छ । 

घर निर्माणमा भूकम्प प्रतिरोधात्मक इँटा प्रयोग गर्दा प्लास्टर गर्नु नपर्ने, काठको आवश्यकता नपर्ने, ज्यामी ज्याला कम पर्ने तथा सिमेन्ट र बालुवा कम खपत हुने सञ्चालक बजिमयले बताए ।

अहिले हाते यन्त्र प्रयोग गरिँदै आएको उद्योगमा केही दिनभित्रै इलेक्ट्रोनिक यन्त्र जडान गर्ने तयारी गरिएको सञ्चालक बजिमयले बताए । “हातले चलाइने यन्त्रबाट अहिले दैनिक ४५० गोटा इँटा उत्पादन हुने गरेका छन्”, उनले भने, “बजारको मागअनुसार उत्पादन दिन नसक्ने भएपछि बजारको मागलाई सम्बोधन गर्न इलेक्ट्रोनिक यन्त्र जडान गर्ने तयारी गरिएको हो ।”

सिमेन्ट, बालुवा र चिप्स (सानो आकारको गिट्टी) प्रयोग गरिने भूकम्प प्रतिरोधात्मक इँटा मेशिनबाट झिकेर २४ घण्टासम्म सेटिङ गर्न र २० दिनसम्म क्युरिङ गर्न समय लाग्ने जनाइएको छ । उद्योगमा प्रयोग हुने कच्चापदार्थ (बालुवा र गिट्टी) स्थानीय साप्सुखोलाबाट ल्याउने गरिएको सञ्चालक बजिमयले बताए ।


Views: 515

सम्बन्धित सामग्री:

अभद्र व्यवहार गर्ने दुई जना पक्राउ

: आश्विन १४, २०७७ (११:१० AM)