15th August | 2020 | Saturday | 7:20:33 PM

प्रजातन्त्र दिवस : विरामीलाई फलफूल र विद्यार्थीलाई पुरस्कार

चिसाङ शेर्पा   POSTED ON : फाल्गुन ७, २०७६ (५:५३ PM)

प्रजातन्त्र दिवस : विरामीलाई फलफूल र विद्यार्थीलाई पुरस्कार

खोटाङ । विभिन्न कार्यक्रम गरी ७० औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला समन्वय समिति खोटाङको अगुवाईमा विरामीलाई फलफूल वितरण, प्रभात फेरी र वक्तृत्वकला प्रतियोगितामा सहभागी विद्यार्थीलाई पुरस्कृत गर्दै प्रजातन्त्र दिवस मनाइएको हो ।

नेपालमा १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । दिवसको अवसरमा मंगलबार साँझ जिल्ला अस्पताल दिक्तेलमा रहेका विरामीलाई फलफुल वितरण, बुधबार बिहान दिक्तेलको हाँटडाँडादेखी जिल्ला समन्वय समितिको सभाहलसम्म प्रभात फेरी निकालिएको प्रजातन्त्र दिवस मुल समारोह समितिले जनाएको छ ।

दिवसकै अवसरमा जिल्ला निर्वाचन कार्यालयले सरस्वती नमुना मावि दिक्तेलमा आयोजना गरेको ‘लोकतन्त्र र निर्वाचन’ विषयक अन्तर सदनात्मक वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने भेनिषा राई, दोश्रो हुने स्नेया आचार्य र तेश्रो हुने सुन्दर सुवेदीलाई पुरस्कार प्रदान गरिएको छ । वक्तृत्वकलामा प्रथम, दोश्रो, तेश्रो हुनेलाई क्रमशः दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सय नगदका साथमा प्रशंसापत्र प्रदान गरिएको छ । 

उनीहरुलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, उपप्रमुख गोमादेवी खत्री, जिल्ला निर्वाचन अधिकारी कोपिला राई लगायतले पुरस्कार प्रदान गरेका थिए । यसैविच, आजकै दिन परेको चौथो निर्वाचन दिवसका अवसरमा ‘निर्वाचनमा सरोकारवालाहरुको भूमिका’ विषयमा प्रजातन्त्र दिवसमा सहभागीहरुसँग अन्तरक्रिया गरिएको छ । अन्तरक्रिया अघि निर्वाचन अधिकारी कोपिला राईले निर्वाचन सम्बन्धी सामग्री प्रस्तुतीकरण गरेकी थिईन् ।

तस्विर : चिसाङ शेर्पा 


Views: 99