15th July | 2020 | Wednesday | 1:52:39 PM

घरकै खाना खाएर क्वारेन्टाईनमा बास

सत्यराज सिंह   POSTED ON : जेठ १५, २०७७ (१०:४९ AM)

घरकै खाना खाएर क्वारेन्टाईनमा बास

बझाङ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बस्दै आएकाले खाना नपाएको गुनासो गरेका छन् । भारतको कासीपुरबाट आइ मंगलबार बेलुका नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बस्न थालेका जयपृथ्वी–७ का धिरेन्द्र बोहरा, वडा नम्बर ११ का विजय धामी र कलक धामीले क्वारेन्टाईनमा खाना नपाएकोे गुनासो गर्नुभयो ।

आफुहरूले चिनजानका ब्यक्तिहरू र जनप्रतिनिधिलाई खानाको बन्दोबस्त गरीदिन पटक पटक आग्रह गरे पनि कसैले चासो नराखेको उहाँहरूले बताउनुभयो । भोकले सताएपछि सदरमुकाममा डेरागरी बस्दै आएकी आफ्नी दिदीको कोठामा गएर तीनै जनाले बुधबार दिउँसो खाना खाएको कलकले जानकारी दिनुभयो । 

बोटामा आउँदा तीन दिनसम्म खाना नखाएको उहाँहरूको भनाइ छ । क्वारेन्टाईनमा समेत खानाको ब्यावस्था नभएकाले आफुहरूले भोकले मर्नभन्दा दिदीको कोठामा गएर खाना खानुपरेको कलकले बताउनुभयो । दिदीको कोठा बाहिरै बसेर आफूहरूले खाना खाएर क्वारेन्टाइनमै फर्किएको उहाँले जनाउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बझाङ नजिकै रहेको चर्चमा नगरपालिकाले क्वारेन्टाईनको ब्यवस्था गरेको थियो । भारतबाट आएका अन्य ९ जना सोही क्वारेन्टाईनमा छन् । उनीहरूका लागि भने खानबस्नको बन्दोबस्त ब्यवस्थित छ । उनीहरू केही दिन अघिमात्रै भारतको दिल्लीबाट आएका हुन् । क्वारेन्टाईनमा आउनेहरूले तीनपुस्तेसम्म नाम ठेगाना लेखेर लैजाने गरेको भए पनि खान–बस्नको बन्दोबस्तबारे कसैले वास्ता नगरेको उहाँहरूको गुनासो छ ।

जयपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले यस्तो समयमा सबैले मिलेर बस्नुपर्ने बताउनुभयो । सबैका लागि खाना र बस्ने व्यवस्था मिलाउन नगरपालिकाले भ्याएसम्म काम गरिरहेको बताउँदै उहाँले मंगलबार क्वारेन्टाइनमा आएका तीन जनाले नबुझेर बाहिर गएर खाना खाएको जानकारी दिनुभयो ।


Views: 113