15th July | 2020 | Wednesday | 1:51:41 PM

रौतहटमा एकैदिन थपिए ७३ संक्रमित

श्याम कार्की   POSTED ON : जेठ १७, २०७७ (१०:२५ AM)

रौतहटमा एकैदिन थपिए ७३ संक्रमित

रौतहट । रौतहटमा कोरोना संक्रमितको संख्या आक्रमक रुपमा बढिरहेको छ । रौतहटमा एकैदिन ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ । 

शुक्रबार संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट यसैसाता रौतहट आएका नेपालीहरू छन् । रौतहट जिल्लाको राजपुर नगरपालिकास्थित राजपुर फतवाको क्वारेन्टाईनमा रहेका ५० जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ भने बौद्धिमाई नगरपालिकास्थित सरमझुवा क्वारेन्टाईनमा रहेका २ जना, मौलापुर नगरपालिकास्थित पतौरा प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाईनमा रहेका ६ जना पुरुषमा कोरोना संक्रमण पुुष्टि भएको छ ।

त्यसैगरी जिल्लाकै इशनाथ नगरपालिकास्थित डुमरिया माविको क्वारेन्टाईनमा रहेका २ महिला र १३ जना पुरुषहरूमा समेत कोरोना संक्रमणको पुष्टि भएको प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ । संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको तथा संक्रमितहरूलाई गरुडा नगरपालिकास्थित प्रहरी स्कुलमा निमार्णाधीन आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।

जिल्लामा शुक्रबार दिउँसोसम्म क्वारेन्टाइमा बस्नेको संख्या ६ हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मंगलबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टाईनमा ६ हजार ४३९ जना छन् । जसमध्ये ६ हजार १३३ पुरुष र ३०६ महिला छन् । जिल्लामा भारतमा रहेका करिब १० हजार बढी जिल्लावासी घर फर्कने स्थानीय प्रशासनको अनुमान छ । 

अझै स्वाब परीक्षणको रिपोर्ट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । स्थानीय प्रशासनले क्वारेन्टाईन क्षेत्रमा स्थानीयको आवजावत बढेपछि सो क्षेत्रको २ सय मिटर वरपर निधेषाज्ञा जारी गरेको छ ।

क्वारेन्टाइनमै झडप

यता कोरोना संक्रमितलाई आइसोलेसन लान अवरोध गरेपछि रौतहटको ईशनाथ नगरपालिका–७ मा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ । जोकहामा रहेको अनवारुल इस्लामिक मदरसामा रहेको क्वारेन्टाइनका दुई व्यक्तिमा बिहीबार संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमित भएका दुवै जनालाई उपचारका लागि जिल्लाभित्रै अर्को स्थानमा रहेको आइसोलेसनमा लग्न चिकित्सक र सुरक्षाकर्मी पुग्दा सो स्थानमा विवादले उग्र रुप लिएको थियो । स्थानीय बासिन्दाले संक्रमितको उपचार नगरपालिकाभित्रै हुनुपर्छ भन्ने माग राखेका थिए ।


Views: 142