15th July | 2020 | Wednesday | 2:04:16 PM

खोटाङमा फौजी किराको प्रकोप

चिसाङ शेर्पा   POSTED ON : जेठ १७, २०७७ (१०:२७ AM)

खोटाङमा फौजी किराको प्रकोप

खोटाङ । खोटाङको दशवटै स्थानीय तहमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको छ । गत वैशाख २ गते खाल्लेमा देखिएको फौजी किराको प्रकोप दुई नगरपालिका र आठ गाउँपालिकामा फैलिएको छ ।

कृषि ज्ञान केन्द्र दिक्तेलका अनुसार १३ हजार ३३५ रोपनी अर्थात ६ सय ६६ हेक्टरमा प्रमुख बालीका रुपमा लगाइएको मकैमा फौजी किराको प्रकोप फैलिएको छ । केन्द्रका अनुसार सवैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ हजार ५ सय रोपनी, हलेसी तुवाचुङ नगरपालिकामा ३ हजार ३ सय रोपनी र बराहपोखरी गाउँपालिकामा २ हजार ३४० रोपनीमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप फैलिएको छ ।

जन्तेढुंगा गाउँपालिकामा सय रोपनी, खोटेहाङ गाउँपालिकामा ५ सय रोपनी, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १ हजार रोपनी, साकेला गाउँपालिकामा ७५ रोपनी, रावाबेशी गाउँपालिकामा १ हजार रोपनी, एेंसेलुखर्क गाउँपालिकामा ८२० रोपनी र केपिलासगढी गाउँपालिकामा ७ सय रोपनीमा फौजी किराको प्रकोप फैलिएको छ ।

कृषि ज्ञान केन्द्र दिक्तेलका निमित्त प्रमुख हरिनारायण राईले फौजी किरा नियन्त्रणका लागि विभिन्न पालिका तथा केन्द्रको सहकार्य भइरहेको र विषादी ल्याउन भने समस्या भइरहेको बताउनुभयो ।

फौजी किराले प्रमुख बालीका रुपमा लगाइएको मकैको बिरुवाको मुन्टा, गुभा, पात खाएर नष्ट गर्ने गरेको छ । फौजी किराले विभिन्न सिजनमा किसानहरूले लगाएको अधिकांश मकैबाली नष्ट पार्ने गरेको छ । किसानहरूको मुख्य बाली मकै दिन प्रतिदिन नष्ट गरिरहँदा भोकमरीको अवस्था आउन सक्ने किसानको भनाइ छ ।


Views: 103