12th July | 2020 | Sunday | 11:53:54 PM

कर्णाली प्रदेशका अर्थमन्त्रीको राजिनामा माग

खगेन्द्र प्रसाद अधिकारी   POSTED ON : असार १७, २०७७ (८:०० AM)

कर्णाली प्रदेशका अर्थमन्त्रीको राजिनामा माग

सुर्खेत ।चालु आर्थिक बर्षको बजेट पास गर्दा हम्मे–हम्मे भएको कर्णाली प्रदेश सरकार आगामी आर्थिक बर्षको प्रस्तावित बजेटले उकुस–मुकुस भएको छ । बजेटमा भएका विवाद बारे टुंगो लगाउन बसेको प्रदेश सरकारको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दल, कर्णाली प्रदेशको बैठक बिना निष्कर्ष टुंगिएको छ भने सत्तारुढ दलकै सांसदहरुले अर्थमन्त्रीको राजिनामा मागेका छन् । 

सांसद खड्कबहादुर खत्रीले अर्थमन्त्री प्रकाश ज्वालाले ल्याएको बजेट जनभावना र कानुन प्रतिकुल नभएको भन्दै नैतिकताकोे आधारमा राजिनामा दिन माग गरेपछि माहोल तातिएको हो । अर्थमन्त्रीको भाषण र रातो किताबको बजेट विवरण फरक परेको र यही कारण प्रतिपक्षी दल नेपाली कांग्रेसले गत वर्षजस्तै संसद अवरुद्ध गरेको भन्दै खत्रीले ज्वालाको चर्को आलोचना समेत गर्नुभयो । 

बैठकमा सांसदहरुले अर्थमन्त्री ज्वालालाई ‘तपाईले पोहोर सालकै प्रवृत्ति देखाउनुभयो, यो नचाहँदा नचाहँदै भएको गल्ती होइन नियत हो’, ‘गलत नियतले बजेट ल्याउने छुट कसैलाई छैन, तपाईंलाई मन्त्रीको कुर्सीमा बस्ने अधिकार समेत छैन, राजिनामा दिनुस्’ सम्म भनेका छन् । बजेट नसच्याए यत्तिकै पारित हुन नदिने, अब पनि मनलाग्दी गर्न नदिने र सरकार नसच्चिए अर्को कदम उठाउने चेतावनी सत्तापक्षकै सांसदहरुले दिएका छन् । 

असार १३ र १४ गते दुई दिनसम्म भएको बैठकमा कुनै टुंगो नलागेको सत्तारुढ दलका एक सांसदले बताए । बैठकको पहिलो दिन शुरूमै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७÷०७८ को बजेटको प्रतिरक्षामा करिब एक घण्टा बोलेपनि त्यसलगत्तै अन्य सांसदहरु बजेट र मन्त्रीहरुको कार्यशैलीविरुद्ध खनिएका थिए । बैठकमा सांसदहरुले मन्त्रीहरुको निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरेको, आफू निकटलाई आर्थिक वर्षको अन्त्यतिर सरकारी रकम बाँडेको, भ्रष्टाचार बढेको, गलत बजेटका कारण प्रतिपक्षलेलगातार सदन अवरुद्व पारेको, सरकारका कारण पार्टी बदनाम भएको भन्दै आक्रोश पोखेका थिए ।

उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश सरकारले विनियोजन विधेयकको भावना विपरीत वार्षिक विकास कार्यक्रम ल्याएको भन्दै एक सातादेखि संसद अवरुद्ध गरिरहेको छ । वार्षिक विकास कार्यक्रममा पुँजीगत र चालु प्रशासनिकसहितको शीर्षकमा बजेट विनियोजन नभएको, गोलमोटल बजेटले पुँजीगत शीर्षकअन्र्तगत सार्वजनिक निर्माण कार्यका लागि ‘एकमुष्ट’ भन्ने शीर्षकमा एक अर्ब ७२ करोड ९६ लाख बजेट छुट्याएको, बजेट भाषण र वार्षिक किताबमा फरक विवरण देखिएकोलगायतका त्रुटि नसच्याए बजेट पास हुन नदिने कांग्रेसको भनाइ छ ।


Views: 64