10th August | 2020 | Monday | 4:43:19 PM

यातायात व्यवसायीले बैंकलाई बुझाए चाबी

हिमालय टाइम्स   POSTED ON : असार २४, २०७७ (१२:४२ AM)

यातायात व्यवसायीले बैंकलाई बुझाए चाबी

पोखरा । पोखरामा यातायात व्यवसायीले किस्ता र ब्याज तिर्न नसक्ने भन्दै बैंकलाई नै गाडीको चाबी र कागजपत्र बुझाउन थालेका छन् । व्यवसायीले यसअघि लकडाउन अवधिभरको सयमसीमा थप गरिदिन पटक–पटक आग्रह गरेका थिए । तर, आफूहरूको आवाज कतैबाट पनि सुनुवाइ नभएको र बैंकले किस्ता तिर्न ताकेता गरेपछि बाध्य भएर बैंकलाई नै चाबी र कागजपत्र बुझाएको उहाँहरूले बताउनु भएको छ ।

व्यवसायीले गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंकलाई बैंकमै गएर चाबी बुझाएका हुन् । हायर पर्चेज कर्जामा यातायात साधनहरु राखेर वित्तीय संस्थाबाट यातायात व्यवसायीहरुले ऋण लिकाल्ने गर्दछन् । खास गरि बित्तीय संस्थाहरुले यातायात व्यवसायहरुको आम्दानीलाई आधारमानी ऋृण उपलब्ध गराएको हुन्छ । कोरोनाको माहामारीले गर्दा यातायातहरू ठप्प छन् । किस्ता र ब्याज तिर्न सक्ने अवस्था नभएको कारणले गर्दा बंैकलाई नै चाबी र कागजपत्र बुझाउन बाध्य भएको नेपाल यातायात व्यवसायी संघ गण्डकी प्रदेश संयोजक भानुभक्त बरालले हिमालय टाइम्सलाई बताउनुभयो ।

‘हामीहरू गाडी चलाउन सक्ने अवस्थामा छैनौं । अब बैंकले नै गाडी चलाओस्’, संयोजक बरालले भन्नुभयो, ‘४ महिनादेखि गाडी थन्किएका छन्, मर्मत नगरी चलाउन मिल्दैन ।’ यो महामारीको अवस्थामा व्यवसायीसँग गाडी मर्मत गर्ने पैसासमेत नभएको संयोजक बरालले बताउनुभयो ।

सरकारले सार्वजनिक सवारीधनी तथा चालकलाई बेवास्ता गरेको र राहतका प्याकेज नल्याएको उनीहरूको गुनासो छ । यता, बैंकले सरकारले ठोस योजना केही नल्याएकाले आफूहरूले केही गर्न नसक्ने जनाएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बैंकको तर्फबाट हुनेसम्मको सहजता गरिदिएको तर व्यवसायीले भनेजस्तो गर्न नसक्ने बताउनुभयो ।


Views: 53