13th August | 2020 | Thursday | 2:57:07 AM

कोरोनाबाट एकैदिन चार जनाको मृत्यु

हिमालय टाइम्स   POSTED ON : श्रावण १७, २०७७ (६:५५ AM)

कोरोनाबाट एकैदिन चार जनाको मृत्यु

काठमाडौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एक जनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षीय पुरुषको साउन १५ गते मृत्यु भएको हो । मुटुको रोगी ती पुरुषको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । साउन ६ गते कोरोना पुष्टि भएपछि उहाँलाई ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो । 

यस्तै, वीरगञ्ज महानगरपालिका–१६ का ३५ वर्षीय पुरुषको साउन १५ गते नै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साउन ५ गते निजी क्लिनिक हुँदै तराई अस्पताल भर्ना हुनुभएका उहाँको स्वास्थ्यमा सुधार नआएपछि गण्डक अस्पताल भर्ना हुनुभएको थियो । १३ गते अस्पताल भर्ना भएपछि नमुना संकलन गर्दा १५ गते नै कोरोना पुष्टि भएको थियो ।

यस्तै, वीरगञ्ज–२ का ६५ वर्षीय अर्का पुरुषको पनि साउन १५ मा कोरोनाकै कारण मृत्यु भएको प्रवक्ता डा.गौतमले बताउनुभयो । उहाँको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यस्तै, वीरगञ्ज–११ स्थायी घर भई ललितपुरको थसिखेल–५ बस्ने महिलाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताउनुभयो । मधुमेहका बिरामी ती महिला साउन ६ गते अस्पताल भर्ना हुनुभएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि उहाँलाई स्टार अस्पतालमा भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

सरकारले शुक्रबारसम्म पिसिआर विधिबाट १० हजार ७६८ नमुना परीक्षण गरेको जनाएको छ । जसमा २२४ जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यका छिर्ने विभिन्न नाकाहरूमा समेत परीक्षण गरिएको छ । साँगा फर्पिङ र थानकोट गरी १० हजार २०५ जनाको संकलन गरी परीक्षण गरिएको छ । अहिलेसम्म तीन हजार ७१३ जना रिपोर्ट आएकोमा २५ जनामा पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो । अहिले देशभरिका आइसोलेसनमा पाँच हजार ३१६ जना रहेका छन् । शुक्रबार १५१ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले देशभरिका क्वारेन्टिनमा १२ हजार १११ जना रहेका छन् । 


Views: 57