28th September | 2020 | Monday | 8:05:51 PM

त्रिभुवन विश्वविद्यालयका परीक्षा तत्काललाई स्थगित

हिमालय टाइम्स   POSTED ON : श्रावण २०, २०७७ (८:१० AM)

त्रिभुवन विश्वविद्यालयका परीक्षा तत्काललाई स्थगित

काठमाडौं । भदौ पहिलो साताबाट सञ्चालन हुने भनिएका त्रिभुवन विश्वविद्यालयका स्थगित परीक्षा  तत्काल नहुने भएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्काल सञ्चालन नहुने भएको हो ।

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमितको संख्या बढेसँगै राजधानीलगायत मुख्य सहरी क्षेत्रमासमेत सङ्क्रमणको जोखिम रहेको हुँदा विश्वविद्यालयले तत्काल परीक्षा गराउने निर्णय लिने सम्भावना टरेको हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः सञ्चालन गर्ने पूर्वनिर्णयबाट आफूहरू पछि हटेको जानकारी दिनुभयो । स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको उहाँले बताउनु भयो । सहज रूपमा सार्वजनिक यातायात सञ्चालन हुन सक्ने परिस्थिति नभएसम्म परीक्षा लिन समस्या हुने उहाँको भनाइ छ ।

विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा गत चैतदेखि स्थगित छन् । सरकारको आग्रहपछि सरकारले चैत ७ गते परीक्षा स्थगित गर्ने निर्णय लिएको थियो ।

विश्वविद्यालयले कोरोना भाइरस पछिको अवस्थामा परीक्षा सञ्चालनबारे निर्णय गर्न डिन कार्यालयहरूलाई अधिकार दिएको छ । डिनहरूले पनि तत्काल परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको जानकारी दिएका छन् ।

अब स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून हुँदै गएको छ । 

 विश्वविद्यालयको परीक्षा देशभर एकै पटक लिनुपर्ने भएकाले पनि सङ्क्रमणको अवस्था सामान्य अवस्थामा आउनैपर्ने उहाँको भनाइ छ ।

अब परीक्षाका विषयमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग समेत छलफल गरी सम्भावित परिस्थिति आकलन गरिने जानकारी उहाँले दिनुभयो । त्यसपछि मात्रै के गर्ने भन्ने विषयमा निर्णय गर्न सकिने उहाँले बताउनु भयो ।


Views: 103