30th September | 2020 | Wednesday | 3:57:33 PM

सिन्धुपाल्चोकमा २५ बाढी–पहिरोमा ७४ जनाको मृत्यु, ४१ अझै बेपत्ता

विजय नेपाल   POSTED ON : भदौ ३१, २०७७ (८:५२ AM)

सिन्धुपाल्चोकमा २५ बाढी–पहिरोमा ७४ जनाको मृत्यु, ४१ अझै बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा यस वर्षको वर्षा सुरु भएयताका तीन महिनामा बाढी र पहिरोजन्य विपद्का २५ वटा घटना भएका छन् । असारदेखि भदौ महिनासम्म मात्रै बाढी पहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ जना बेपत्ता रहेका छन् । 

यस वर्ष सिन्धुपाल्चोकमा असार २२ गते सुनकोशी नदीमा एकजना बेपत्ता भएपछि विपद्को शृंखला सुरु भएको सरकारी तथ्यांक छ । चौतारा साँगाचोकगढी नगरपालिका–९ का एक व्यक्ति नदीमा बेपत्ता भएका थिए । त्यसपछिको विभिन्न बाढी तथा पहिरोमा परी सिन्धुपाल्चोकमा मात्रै ७४ जनाले ज्यान गुमाउँदा ४१ जना बेपत्ता भएका हुन् । बाढी तथा पहिरोमा परी जिल्लाभर १३० घर पूर्ण क्षति भएको छ भने तीन हजार २९० घर पूर्ण विस्थापित भई अन्यत्र स्थानान्तरण गर्नुपर्ने भएको छ । 

अहिलेसम्मको अन्तिम घटनाको रूपमा रहेको आइतबार बाह्रबिसे नगरपालिका–७ मा गएको पहिरोमा १४ जनाको मृत्यु भएको छ भने १८ जना हालसम्म पनि बेपत्ता नै रहेका छन् । जिल्लाकै ठूलो मानवीय क्षति भएको घटना भने साउन ३० गते जुगल गाउँपालिका–२, लिदीको पहिरो हो । सिंगो गाउँ नै पुरिने गरी आएको लिदी पहिरोमा परी ३७ जनाले ज्यान गुमाएका छन् । सो पहिरोमा हालसम्म पनि दुई जना हराइरहेका छन् ।

त्यसभन्दा अगाडि असार २४ बाह्रबिसे नगरपालिका–५ जम्बुमा बजार नै बगाउने गरी आएको पहिरोले दुई जनाको मृत्यु भयो भने १७ जना हालसम्म पनि हराइरहेका छन् । त्यस्तै, सोही दिन भोटेकोशी गाउँपालिका–४ वुलकुटेमा एक जनाको बाढीले बगाएर ज्यान गयो । यसैगरी, साउन १ गते भोटेकोशी गााउँपालिका–४ फुल्पिङमा पहिरोले पाँच जनालाई पुर्दा उनीहरू सबैको ज्यान गयो । 

बाढी तथा पहिरोको कारण जिल्लामा सबैभन्दा बढी बाह्रबिसे नगरपालिकाको एक हजार ४४१ घरधुरीलाई स्थानान्तरण गर्नुपर्ने देखिएको छ । प्राकृतिक विपत्तिकै कारण भोटेकोशीमा ८७५, जुगल गाउँपालिकामा ४०८, मेलम्ची नगरपालिकामा १४३, पाँचपोखरी थाङ्पाल गाउँपालिकामा ६६, हेलम्बुमा ६७, चौतारा साँगाचोकगढी नगरपालिकामा २८, सुनकोशी गाउँपालिकामा ८४, लिसंखुपाखर गाउँपालिकामा ४८, बलेफी गाउँपालिकामा ७४ र त्रिपुरासुन्दरी गाउँपालिकामा १७ घर स्थानान्तरण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । पहिरोमा परी जिल्लाभर १३० घर पूर्ण रूपमा क्षति भएको ढकालले जानकारी दिनुभयो । 

विगतका अध्ययनहरूले बाह्रबिसे क्षेत्र पहिरोजन्य विपद्का हिसाबले जहिल्यै उच्च जोखिममा रहेको भूगर्भविद्हरूले जनाएका छन् । ‘भोटेकोशी र सुनकोशी क्षेत्रको भूबनोट अत्यधिक कमजोर छ, त्यसकारण सो क्षेत्रमा बढी बाढीपहिरो गइरहेका छन्’ जुरे पहिरोसहित सिन्धुपाल्चोकमा मात्रै ६० भन्दा बढी जोखिमपूर्ण बस्तीको अध्ययन गरिसकेका भूगर्भविद् मेघराज धितालले बताउनुभयो । ‘लगातार वर्षा (क्लाउड ब्रस्ट) भयो भने त्यो क्षेत्रमा पहिरोजन्य विपद्को सम्भावना उच्च हुन्छ,’ उहाँले भन्नुभयो ‘यो वर्ष भीषण वर्षापछि धेरै पहिरोजन्य विपद्का घटना भएको देखिन्छ ।’ धिताल एकपटक पहिरो आएर समथर बनेको भाग (डेब्रिजको थुम्को) मा बस्ती बसाउनु नै गलत भएको तर्क गर्नुहुन्छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भने आइतबार पहिरो गएको क्षेत्र पहिरोजन्य विपद्का हिसाबले कम जोखिमयुक्त भएको तर्क गर्नुहुन्छ । ‘पहिरोका हिसाबले नसोचेको क्षेत्र हो,’ उहाँले भन्नुभयो, ‘क्लाउड ब्रस्टका कारण एकाएक भेल पहिरो आएर क्षति गरेको देखिन्छ ।’ यो घटनालाई जलवायुजन्य विपद्सँग जोडेर हेर्नुपर्ने उहाँको भनाइ छ ।


Views: 63

सम्बन्धित सामग्री:

रुकुमकोटमा हट्यो निषेधाज्ञा

: आश्विन १४, २०७७ (३:४१ PM)