21st October | 2020 | Wednesday | 7:06:54 AM

धेरैले पढेको तर थोरैमात्र पुगेको म्याग्दीको ‘भालेबास्ने ताल’

ध्रुर्बसागर शर्मा   POSTED ON : आश्विन १२, २०७७ (७:०६ PM)

धेरैले पढेको तर थोरैमात्र पुगेको म्याग्दीको ‘भालेबास्ने ताल’

म्याग्दी । वरिपरि घना जंगल । जंगलको बीचमा पहाडबाट छङ्छङ् गर्दै झरेको झरना,  त्यही झरनाका कारण बनेको भालेबास्ने ताल । जहाँ विहानीपख भाले बास्छ । स्थानीयले तालको नाम नै भाले बास्ने ताल राखेका छन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ दुखुबेसीमा रहेको नेपालमा आकर्षक तालको सूचीमा पर्ने भालेबास्ने ताल अपार पर्यटकीय सम्भावना युक्त हुँदाहुँदै पनि गुमनाम छ  । नेपालमा भाले बास्ने ताल कहाँ पर्छ ? लोकसेवा आयोगले लिने परीक्षा र सामान्य ज्ञानका पुस्तकहरुमा सोधिने यो प्रश्नको उत्तर वाहिरकालाई त के म्याग्देलीलाई समेत थाहा नहुन सक्छ । प्रचारप्रसार र पूर्वाधारको अभावमा विभिन्न मिथक र सांस्कृतिक विरासत वोकेको, प्रशस्तै पर्यटकीय सम्भावना रहेको यो ताल ओझेलमा परेको हो ।

नेपालका आकर्षक तालमध्येको सूचीमा रहेको यो तालको सिरानमा एउटा शिव मन्दिर रहेको छ । सो मन्दिरमा प्रातकालमा दिनहुँ एउटा भाले बास्ने गर्दछ । त्यो भाले कताबाट आउँछ र फेरि कहाँ जान्छ स्थानीयलाई कुनै पत्तो हुँदैन ।

मन्दिरमा बिहान भाले बास्ने समयमा पूजाआजा तथा दर्शन गरेमा मनोकाङ्क्षा  पूरा हुने जनविश्वासे छ । धामीझाक्रीले तालमा स्नान गरेर मन्दिरमा आएर पूजाआजा गर्ने र आफ्नो शक्ती प्राप्तीका लागि साँढेको बलि दिने गर्छन् । ताल आसपासमा देवताको शक्ती रहेको धार्मिक विश्वास रहेको दुखुबेसीका ८९ बर्षिय धनबहादुर गुरूङले बताउनु भयो । बाल्यकालमा जंगलमा पुग्दा भाले बासेको आवज सुन्नले गाउँमा पुगेर सन्देश फैलाउने गरिन्थ्यो । पशुचौपाया लिएर त्यहाँ पुग्दा झरनाको फेदीमा निलो ताल तथा आसपासका क्षेत्रमा जंगली जनावर समेत भेटिने गरेको गुरूङको भनाइ छ । 

‘नयाँ पुस्ताले तालको महत्वलाई वास्ता गर्न छाडे,‘पहिले ताल नजिकको मन्दिरमा नियमित पूजाआजा हुने गर्दथ्यो’ गाउँकै जेष्ठ नागरिक समेत रहेका गुरूङले भन्नुभयो ।  

बाल्यकालमा झरना र ताल आसपासमा पुगेर पूजाआजा र खोलामा नुहाएर फर्किने गरेको अनुभव गुरूङले सुनाउनु भयो । ताल नजिकको जंगलमा भेटिने सुन्तला, उखु खाएर घर जाने गरेका गुरूङले त्यहाँको फलफुल घरमा लैजान नहुने धार्मिक विश्वास रहेको बताउनु भयो । धामीझाँक्री र लामाले आफूभित्र रहेको शक्तीलाई पुष्टि गर्न गाउँबाट खाली खुट्टा कठोर यात्रा गरी मन्दिरमा पूजाआजा र बलि दिएर गाउँले समक्ष आफ्नो शक्ती प्रदर्शनसमेत गर्ने गरेको बुढापाकाको भनाइ छ ।

पहाडबाट झर्ने आकर्षक झरनाको फेदीमा करिब २२ वर्गमिटर क्षेत्रफलमा फैलिएको तालसम्म पुग्न सजिलो हुने बाटो भत्किएपछि अहिले जोखिमपूर्ण यात्रा गरेर तालमा पुग्नुपर्ने स्थानीय नन्दप्रसाद रोका बताउनु हुन्छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ताललाई जोगाउन सरकारी निकायमा पहल गरिएपनि कुनैपनि सहयोग नभएपछि स्थानीयको प्रयासमा गरिएका अभियान पर्याप्त नभएको रोकाको भनाइ छ ।

तालको अवलोकन गर्न पुगेकाले प्रचारप्रसार गरेकै आधारमा वडामा रहेका सामुदायिक विद्यालयका विद्यार्थी र आन्तरिक पर्यटक पुग्ने गरेको बताउँदै पक्की पदमार्ग र पहाडबाट तालसम्म पुग्ने गोरेटो बाटो बनाउनुपर्ने स्थानीयको भनाइ छ । गाउँकै बालबालिकाले समान्यज्ञानमा पढ्ने तालसम्म पुग्ने चाहना ब्यक्त गर्न छाडेको रोकाको गुनासो छ । स्थानीयले भालेबास्ने ताल आसपासका क्षेत्रलाई देवताको पहाडको रुपमा समेत चिन्ने गरेका छन् ।

जंगलभित्र रहेका नियालोको सहारामा आन्तरिक पर्यटकले आवतजावत गर्ने गरेका छन् । जंगलमा रहेको नियालो खान आउने बन्यजन्तुसंग धेरैपटक स्थानीयको जम्काभेट समेत भएको छ । तालसम्म पुग्न स्थानीयले नियालोलाई डोरी बनाएर पुग्छन् । पछिल्लो समय ग्रामीण क्षेत्रमा विस्तार भइरहेका सडकबाट बग्ने लेदोले तालको अस्तित्व संकटमा पारेको छ ।

मालिका र रघुगंगा गाउँपालिकाको सीमानामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरसम्म पुग्न नसक्ने भक्तजनलाई लक्षित गरी भाले बास्ने ताल जाने बाटोमा मन्दिर समेत बनाइएको छ । तालमा छिमेकी मंगला गाउँपालिका–२ खार्तुङखोला र दरुङ गाउँबाट समेत जान सकिन्छ । दुवै गाउँबाट भीरबाट जोखिम मोलेर आवतजावत गर्नुपर्छ । हरेक बर्ष फागुन देखि जेठसम्म विद्यालयको शैक्षिक भ्रमण तथा विदाको समयमा भ्रमणमा जाने गरेका छन् । गाउँपालिकाको पहिचानका रुपमा ताललाई चिनाउनु पर्नेमा स्थानीयको जोड छ ।

आगामी आर्थिक बर्षमा तालको संरक्षण तथा पूर्वाधार विस्तारमा वडाले गाउँपालिकासंग बजेट माग गर्ने तयारी समेत भइरहेको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको गाउँ समेत रहेको तल्लो दुखुका स्थानीयले पूर्वाधार विस्तारलाई प्राथमिकता दिन अनुरोध गरेका छन् । गाउँपालिकाले समेत भाले बास्ने तालको पहिचानलाई जोगाउने तथा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न ताल नजिक भालेको आकारको मुर्ती समेत राख्ने योजना बनाइएको छ ।

भाले बास्ने तालको इतिहास

गाउँका ९ भाई लाहुरे मध्ये एक जनाले भरिया लिएर तालको अवलोकन गर्न गएको अवस्थामा ताल नजिक दरबार जस्तै घरमा रात विताएर विहान ढुंगामा सुतेको अवस्थामा भेटिएको किम्बदन्ती रहेको छ । प्राकृतिक सौन्दयले भरिएको ताल नजिक आफ्नो भाकल अनुसार पूजाआजा गर्न गएका लाहुरे र भरिया भागेर आएपछि तालको प्रचारप्रसार गरेकै आधारमा तालको नामाकरण गरिएको बताइन्छ । लाहुरेले तालबाट फर्किएपछि लामो समयसम्म बलि लिएर पूजा गर्ने गरेको भनाइ समेत छ । एका विहानै नियमित भाले बासेको आवाज आसपासका बस्तीसम्म पुग्ने भनाइ समेत भेटिन्छ । मन्दिर र ताल नजिक रहेका उखु र सुन्तला टिपेर लैजानेको घरमा पुग्दा खोल्टी रित्तै हुने पुरानो भनाइ छ ।

मन्दिर आसपासका रहेका रुखको विरुवा लिएर छिमेकी हाल मंगला गाउँपालिका–५ अर्मनमा लगाइएको अवस्थामा भेटिएपछि करिव १ सय बर्ष अगाडिसम्म नियमित पूजाआजा सहित तालको संरक्षण गर्ने गरिएको स्थानीय बुढापाको भनाइलाई उद्द्ध्ति गदैं वडा अध्यक्ष सन्तनाथ जैशी ‘सन्तोष’ बताउनु हुन्छ  । मन्दिरमा आफ्नो मनोकामना पूरा गर्ने, शैक्षिक, रोजगारी तथा सेनामा भर्ती हुनेले भाकल गर्छन र बलि समेत दिन्छन् ।

तालमा कसरी पुग्ने ?

धार्मिक दृष्टिकोणले समेत अत्यन्त महत्वपूर्ण रहेको सो तालमा पूजा आजा र भाकल गरेमा आफूले इच्छाइएको कुरा पूरा हुने भएकोले पनि दरवाङ तथा बावियौचारका स्थानीय मन्दिर सम्म पुग्ने गरेका छन् ।

 विभिन्न जिल्लाबाट म्याग्दीको सदरमुकाम बेनीमा यातायातका साधनमा आएर बेनीबाट बेनी–दरवाङ सडकखण्ड अन्र्तरगत पर्ने सहस्रधारा, दुखुबेसीं, दरुङ गाउँबाट पुग्न सकिन्छ । बेनीबाट करिव दुईघण्टा सवारीसाधनमा सहस्रधार पुगिन्छ । त्यहाँ केही समय आराम गरी स्थानीय यूवाको पहलमा निर्मित बाटोबाट तालसम्म पुग्न सकिन्छ । नियालो र घाँसको सहायतामा आवतजावत गर्नुपर्ने हुन्छ । दरवाङको दुखुबेसी त्यहाँ पुग्ने छोटो दुरीको मार्ग रहेको पत्रकार हरिकृष्ण गौतम बताउनु हुन्छ ।

तालमा पुग्ने मार्गमा संकेत चिन्ह नभएपनि ताल जाने सामान्य जानकारी भेट्न सकिन्छ । भाले बास्ने ताल र मालिका लगायत दुखु गाउँको धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसारका लागि न्यु मालिका युवा क्लबले वृत्तचित्र र गीतको म्युजिक भिडियोबाट समेत प्रचारप्रसार गरिरहेको छ । करिव चार लाखको लगानीमा निर्मित वृत्तचित्र र म्युजिक भिडियोमा मालिका, भाले बास्ने ताल र दुखु गाउँको दृश्य समावेश गरिएकाले पनि प्रचारप्रसारमा सहज भएको क्लवले जनाएको छ ।


Views: 173