31st October | 2020 | Saturday | 10:56:54 PM

गाउँपालिकाको लोगो डिजाइनर विश्वकर्मा सम्मानित

रमेश विश्वकर्मा   POSTED ON : कार्तिक १, २०७७ (६:३३ PM)

गाउँपालिकाको लोगो डिजाइनर विश्वकर्मा सम्मानित

गुल्मी । गुल्मीका ग्राफिक्स डिजाइनर ईश्वर विश्वकर्मा जिल्लाको गुल्मीदरबार गाउँपालिकाद्वारा सम्मानित हुनु भएको छ । 

गाउँपालिकाले दिएको अवधारणा अनुसार पालिकाको पहिचान सहितको लोगो डिजाइन गरेका विश्वकर्मालाई नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।  जिल्लाको रेसुंगा नगरपालिका–८ का बिश्वकर्मालाई गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा, उपाध्यक्ष मिना भण्डारी र प्रमुख प्रशासकीय अधिकृत पाण्डेले संयुक्त रुपमा योगदानको उच्च कदर गर्दै नगद र प्रशंसा पत्रले एक कार्यक्रमका बिच सम्मान गर्नुभएको हो ।

गाउँपालिकाले केहि समय अघि पहिचान सहितको लोगो सार्वजनिक गरेको थियो । लोगोको डिजाइनर ईश्वर विश्वकर्मा हुनु हो । गाउँपालिका जिल्लामा रहेका स्थानीय तहमध्ये आफ्नो लोगो सार्वजनिक गर्ने पहिलो गाउँपालिका हो । 

गाउँपालिकाले पालिकाभित्र रहेका धार्मिक, ऐतिहासिक, पर्यटन, कृषि क्षेत्रलाई समेटेर सार्वजनिक गरिएको लोगोमा रहेका–७ वटा लालीगुराँसले गाउँपालिका भित्रका ७ वटा वडाहरुलाई जनाएको छ । रेसुङ्गाको पहाड र टावर पार्कको संकेतले पर्यटन एवं समृद्धिको संकेत गरेको गाउँपालिकाले जनाएको छ । 


चारपाला दरवारको भवनले गाउँपालिकाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको संकेत गरेको छ । धानको बाला र मकैको संकेतले गाउँपालिका भित्रको कृषि क्षेत्रलाई समावेश गरेको छ । धानको बालामा रहेका दानाले पालिकाका सम्पूर्ण जनप्रतिनिधि एकताको सङ्केत गरेको छ । लोगोमा रहेको गोल्डेन माछाले गाउँपालिका बासीको सुख, समृद्धि, सौभाग्यको संकेत गरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनु भयो ।

झाँकीहरुको संकेतले पालिकाभित्र रहेको कला, संस्कृति र विभिन्न जातजातिको संकेत गरेको छ । गाउँपालिकाको नक्सालाई महिला पुरुषले उचालेको संकेतमा सुखी र समृद्ध पालिका निर्माणमा सबैको साथ र सहयोग रहेको संकेत गरिएको छ । लोगोमा रहेको मौरीको घार र मौरीले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र जनताले परिश्रमको संकेतसँगै बलिथुम मौरीमा आत्मनिर्भरता भन्ने जनाएको पाण्डेले बताउनु भयो ।


लोगोमा रहेको हरियो रङले खेतीयोग्य जमिन र कृषकको प्रतिनिधित्व, रातो रङले आर्थिक क्रान्ति र समृद्धि, सेतो रङले शान्त र सुखी जनताको संकेत गरेको छ । यस्तै पहेलो रङले सौभाग्यको संकेत र निलो रङले पालिकाभित्र स्वच्छ खानेपानीको व्यवस्था भएको संकेत गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका आफैं स्वायत्त भएकाले गाउँपालिकाको पहिचान सहितको लोगो सार्वजनिक गरेको पाण्डेले जानकारी दिनुभयो ।


Views: 180