30th November | 2020 | Monday | 4:10:31 AM

दशैं मुखमा किसानलाई धान भित्र्याउने चटारो

विवेक खड्का   POSTED ON : कार्तिक ४, २०७७ (१२:१५ PM)

दशैं मुखमा किसानलाई धान भित्र्याउने चटारो

दाङ । कोरोना कहरकै बीचमा किसानलाई यतिबेलामा खेतमा पहेंलै पाकेको धान भित्र्याउन चटारो छ । दशैँ पर्व नजिकिएसँगै खेतमा धान पाक्न थालेपछि किसान अहिले पहेंलै झुलेको धान काट्न व्यस्त भएका छन् । दाङमा कतै धान काटेर सकिएको छ भने अधिकांश ठाउँमा किसानले धान काट्ने काम गरिरहेका छन् ।

दाङ उपत्यका र देउखुरी उपत्यकामा पनि यतिखेर धान पाकेर पहेंलपुर भएको छ । धान काट्न र भित्र्याउन भ्याई नभ्याई छ । मध्य असोजदेखि धान काट्न सुरू गरेका किसानले कार्तिक तेस्रो हप्तासम्म धान भित्र्याउने गर्छन् । जिल्लामा अहिले करिब ५० प्रतिशत धान किसानले भित्र्याई सकेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी उमेश श्रेष्ठले वताउनु भयो ।  ‘करिब ५० प्रतिशत धान किसानले भित्र्याइसकेका छन्, अझै ठ्याक्कै तथ्यांक आई नपुगे पनि किसानले करिब आधा धान काटिसकेका छन्’ उहाँले भन्नु भयोे– ‘अहिले अधिकांश नागरिक घरमै भएका कारण पनि धान रोप्ने पनि छिटो भयो, काट्ने पनि छिटो भएको छ ।’ उहाँका अनुसार देउखुरी उपत्यकामा तुलनात्मक रूपमा अलि धेरै फल्ने गरेको छ ।


दाङ उपत्यकमा क्षेत्रफल धेरै भएपनि देउखुरी उपत्यकाको तुलनामा कम फल्ने गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनु भयो । ‘क्षेत्रफलको हिसावले त दाङ उपत्यका धेरै छ, तर देउखुरी उपत्यकाको तुलनामा दाङमा धान कम फल्ने गरेको छ’ उहाँले भन्नु भयोे, ‘देउखुरीमा क्षेत्रफल कम भएपनि धान उत्पादन दाङ उपत्यकाभन्दा बढी फल्ने गरेको छ ।’ जिल्लामा बिगतका वर्षभन्दा यसवर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ । कोरोना कहरका कारण बाँझो खेतमा पनि धान खेती भएको छ ।

किसानहरूले यसवर्ष ७९४ हेक्टर क्षेत्रफलमा धानखेती गरेका छन् । जिल्लाभरी दशवटै पालिकामा गरी ३८ हजार चारसय ९७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको ज्ञान केन्द्रले जनाएको छ । यसवर्ष धानखेती बढेका कारण करिब दुईलाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । यसवर्ष कोरोनाको प्रभावका कारण रोजगारी गुमाएका युवाहरूले बाँझो खेतमा पनि धान खेती गरेपछि उत्पादन बढ्ने आशा गरिएको हो । ‘अहिले समयमै धान खेती हुन पायो, त्यसैमा धान खेती पनि बिगतको भन्दा बढी भएपछि उत्पादन बढ्ने आशा गरेका छौँ’ तुलसीपुर–१४ का हरिशरण चौधरीले भन्नुभयो ‘उत्पादन बढेपछि नै केही राहत होला, काम गरेर आम्दानी गर्ने हराइगो ।’ दाङमा धान भित्र्याएपछि किसानले गहुँ, मसुरो लगायतका बाली लगाउने गरेका छन् ।








Views: 103