16th January | 2021 | Saturday | 7:44:28 AM

करार कर्मचारीले भरिए दाङका स्थानीय तह

विवेक खड्का   POSTED ON : मंसिर १४, २०७७ (९:१३ AM)

करार कर्मचारीले भरिए दाङका स्थानीय तह

दाङ । मुलुक संघीयतामा गएपछि एउटा नारा चर्चित बनेको थियो, त्यो हो ‘गाउँ–गाउँमा सिंहदरबार ।’ हरेक सरकारी कामका लागि केन्द्रीय राजधानी जानुपर्ने अवस्थाको अन्त्य हुँदै घर– आँगनमै सेवा प्रदान गर्ने त्यो नाराको मर्म थियो । 

२०७४ सालमा निर्वाचनपछि वडा–वडामा जनप्रतिनिधि निर्वाचित भए । यसरी चुनिएका जनप्रतिनिधि सम्मिलित स्थानीय सरकारलाई संविधानले नै ऐन र कानुन बनाउनेदेखि त्यसको कार्यान्वयन गर्ने अधिकार दिएको छ । सुरुमा कर्मचारी नहँुदा केही समय ती अधिकार कार्यान्वयनको सवालमा स्थानीय तहहरू अन्योलमा रहे । तर, पछिल्लो समय दाङका १० वटै स्थानीय तहमा पर्याप्त कर्मचारीको व्यवस्थापन भएपछि अहिले सर्वसाधारणले सहज हिसाबले सेवा पाइरहेका छन् । 

दाङका दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटा गाउँपालिकामध्ये केही स्थानीय तहमा प्राविधिक कर्मचारीहरू अभाव रहे पनि ती स्थानमा करारमा कर्मचारी राखेर भए पनि स्थानीय तहले सर्वसाधारणलाई सेवा दिइरहेका छन् । त्यसैले पनि अहिले जिल्लाका स्थानीय तहमा करारका कर्मचारी छ्यापछ्याप्ती छन् । 

दाङको तुलसीपुर उपमहानगरपालिकामा विगत वर्षहरूमा कर्मचारी अभाव थियो । कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या हुन्थ्यो । एउटा शाखाको कर्मचारीले अन्य दुई÷तीन वटा शाखा हेर्नुपर्ने अवस्था थियो । तर, अहिले उपमहानगरपालिकामा कर्मचारी पर्याप्त छन् ।

२३१ जनाको दरबन्दी रहेको उपमहानगरपालिकामा अहिले ४१० जना कर्मचारी कार्यरत छन् । यसमध्ये एकसय २० जना करारका कर्मचारी रहेको उपमहानगरपालिकाका प्रशासन प्रमुख अनन्त गौतमले बताउनुभयो । अहिले स्वास्थ्य शाखामा कर्मचारीको दरबन्दी भए पनि वडा–वडामा उपमहानगरपालिकाले सञ्चालनमा ल्याएका स्वास्थ्य संस्थामा दरबन्दी सिर्जना नभएको र करारमा कर्मचारी राखिएकाले पनि करार कर्मचारीको संख्या धेरै देखिएको उहाँले बताउनुभयो । ‘अहिले स्वास्थ्यका मात्रै ५२ कर्मचारी करारका हुनुहुन्छ, सरसफाइ, यान्त्रिक कर्मचारी तथा सशर्त अनुदानका गरी जम्मा एकसय २० जना करारका कर्मचारी हुनुहुन्छ,’ उहाँले भन्नुभयोे, ‘अहिले कर्मचारी पर्याप्त भएको हो तर आवश्यकताभन्दा बढी होइन ।’

घोराही उपमहानगरपालिकामा पनि अहिले स्थायी कर्मचारीभन्दा करारका कर्मचारीको संख्या धेरै छ । उपमहानगरपालिकाका सूचना अधिकारी भीम चौधरीका अनुसार २४१ स्वीकृत दरबन्दीमध्ये अहिले ४०३ जना कर्मचारी कार्यरत छन् जसमा दुई सय ३९ जना स्थायी कर्मचारी छन् भने एकसय ५४ जना करार र १० जना दैनिक ज्यालादारीका कर्मचारी छन् । उपमहानगरपालिकाले वडा–वडामा सञ्चालनमा ल्याएका स्वास्थ्य संस्थामा करारका कर्मचारी राखिएको छ । त्यसले गर्दा पनि करारका कर्मचारी धेरै देखिएको उहाँकोे भनाइ छ ।

दाङको विकट मानिने राजपुर गाउँपालिकामा पनि अहिले पर्याप्त कर्मचारी छन् । गाउँपालिकाका सूचना अधिकारी महेश थापा ठेडीका अनुसार ५८ जना कर्मचारीको दरबन्दी रहेको गाउँपालिकामा स्थायी तथा करारमा गरी ११० जना कर्मचारी छन् जसमध्ये ६३ जना कर्मचारी करार सेवामा कार्यरत छन् । यी तीन स्थानीय तहमा मात्रै होइन, अहिले जिल्लाका १० वटै स्थानीय तहमा कर्मचारी पर्याप्त छन् । 

जिल्लामा दरबन्दीभन्दा बढी कर्मचारी देखिए पनि सेवा प्रवाह गर्नलाई त्यो संख्यामा कर्मचारी आवश्यक नै रहेको राजपुर गाउँपालिकाका सूचना अधिकारी महेश थापा ठेडीले बताउनुभयो । ‘अहिले गाउँपालिकामा कर्मचारीको अभाव छैन, लगभग–लगभग सबैमा पर्याप्त कर्मचारी छन्’, उहाँले भन्नुभयोे, ‘अहिले करारमा कर्मचारी नियुक्ति गरेर भए पनि सेवा प्रवाह गरिएको छ ।’

केही प्राविधिक जनशक्तिबाहेक सबैमा पर्याप्त कर्मचारी रहेको दाङको दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले बताउनुभयो । करारका कर्मचारीहरू नियुक्त गरी सेवा प्रवाहलाई व्यवस्थित बनाइएको उहाँको भनाइ छ । ‘अहिले स्थायी कर्मचारीभन्दा करारका कर्मचारी धेरै हुनुहुन्छ’, उहाँले भन्नुभयोे, ‘तर, त्यो अनावश्यक भर्ना गरिएको होइन, आवश्यकताअनुसार नै भर्ना गरिएको हो जसले गर्दा पनि अहिले सेवा प्रभावकारी बनेको छ ।’ 

अहिले विगतका जस्तो कर्मचारीकै कारण सेवा प्रवाहमा अवरोध आउने अवस्था नभएको राजपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनुभयो । ‘पाँच, सात महिनाअघि त केही समस्या थियो’ उहाँले भन्नुभयोे, ‘तर, अहिले कर्मचारीको खासै समस्या छैन ।’ अहिले कर्मचारी भएपछि सेवा पनि प्रभावकारी रूपमा अघि बढेको उहाँले बताउनुभयो ।

कार्यालय सहयोगी, सवारी चालक, सरसफाइकर्मीजस्ता श्रेणीविहीन कर्मचारीको सम्बन्धमा केही अस्पष्टता भएकाले समस्या देखिएको लमही नगरपालिकाका सूचना अधिकारी नरेन्द्रकुमार गुप्ताले बताउनुभयो । अहिले स्थानीय तहहरूले दैनिक ज्यालादारी कर्मचारीहरू पनि नियुक्ति गरेकाले पनि करार कर्मचारीको समस्या धेरै रहेको बबई गाउँपालिकाका प्रशासनतर्फका नायब सुब्बा तेजेन्द्र घर्तीले बताउनुभयो ।

केही स्थानीय तहहरूमा भने पुरानै दरबन्दीमा कर्मचारी हुँदा कर्मचारीको अभाव हुने गरेको छ । गढवा गाउँपालिकामा अहिले सामान्य प्रशासन मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) नगर्दा आवश्यक दरबन्दी सिर्जना हुन नसकेको र साबिकको गाविसकै दरबन्दीमा काम गर्नुपर्ने अवस्था रहेको गढवा गाउँपालिकाका प्रशासन प्रमुख पुनाराम शर्माले बताउनुभयो । अहिले स्थानीय तहअन्तर्गत सबै शाखाहरूमा कर्मचारी हुँदा प्रभावकारी ढंगले काम भइरहेको छ । ‘शाखाहरूमा पनि कर्मचारी त पर्याप्त छन्’ शान्तिनगर गाउँपालिकाका प्रशासन प्रमुख कृष्ण कँडेलले भन्नुभयोे, ‘तर, केही प्राविधिक तथा दक्ष जनशक्तिको अभाव छ, यसले कार्य सम्पादनमा केही समस्या देखिँदै आएको छ ।’ विगतमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको भए पनि अहिले त्यो समस्या अन्त्य भएको उहाँले बताउनुभयो ।

प्रदेश लोकसेवाले बढाएको आशा

लुम्बिनी प्रदेश लोकसेवा आयोग गठन भएर काम अगाडि बढाएकाले आवश्यक कर्मचारी राखिने शान्तिनगर गाउँपालिकाका सूचना अधिकारी रवीन रेग्मीले बताउनुभयो । स्थानीय मामिला तथा सामाजिक विकास मन्त्रालयले बनाएको स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन गर्नेसम्बन्धी नमुना कार्यविधिका आधारमा स्थानीय तहले करार कर्मचारी भर्ना गरेका छन् जुन कार्यविधिमा प्राविधिक कर्मचारीलाई करारमा नियुक्ति गर्न सकिने व्यवस्था गरेको छ । 

केही कर्मचारी स्थानीय निकाय हुँदा करारमा नियुक्त गरिएकाहरू छन् जसले गर्दा पनि स्थानीय तहमा करारका कर्मचारी धेरै भएको देखिएको दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले बताउनुभयो । आवश्यक स्थायी कर्मचारी मागसहित सामान्य प्रशासन मन्त्रालयमा पठाएको भए पनि लोकसेवाको परीक्षा नहुँदा समयमै कर्मचारी पाउन नसकिएको उहाँले बताउनुभयो । तर, अहिले लुम्बिनी प्रदेशमा पनि लोकसेवा आयोग गठन भएकाले सहज भएको उहाँको भनाइ छ ।

करारमा भन्दा स्थायी कर्मचारी भएमा सेवा प्रवाहमा सहज हुने गढवा गाउँपालिकाका प्रशासन प्रमुख पुनाराम शर्माले बताउनुभयो । शर्माका अनुसार दरबन्दीअनुसार स्थायी कर्मचारी आएमा ढुक्क पनि हुनुका साथै कर्मचारीतन्त्रमा राजनीतिक प्रभाव पनि नपर्ने भएकाले स्थायी कर्मचारी भए धेरै सहज हुने उहाँको भनाइ छ । स्थानीय तहहरूमा सामान्य प्रशासन मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) छिटो गरिदिए कर्मचारीको समस्या नआउने उहाँको भनाइ छ ।

६ वटा वडामा छैनन् सचिव

दाङमा १० वटा स्थानीय तहमा एकसय वडा छन् । विगतमा ती वडाहरू सचिवविहीन थिए । तर, अहिले अधिकांश वडामा दरबन्दीअनुसारका योग्य सचिवहरू कार्यरत रहेको स्थानीय तहहरूले बताएका छन् । अहिले दाङको गढवा गाउँपालिकाका तीन वटा वडा, बबई गाउँपालिकाको एउटा र शान्तिनगर गाउँपालिकाका दुईवटा बडाबाहेक सबैमा योग्यताअनुसारका वडा सचिव पुगिसकेका छन् । दाङका गढवा गाउँपालिका वडा नं.२, ३ र ८, शान्तिनगर गाउँपालिकाको वडा नं. १ र ४ तथा बबई गाउँपालिकाको वडा नं. १ मा अझै पनि योग्यताअनुसार सचिव पुग्न सकेका छैनन् ।

सचिव नपुगेका वडाहरूमा पनि अहिले अन्य कर्मचारी राखेर भए पनि काम चलाएको गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । उहाँका अनुसार गढवा गाउँपालिका–८ मा कार्यालय सहायकले सचिवको जिम्मेवारी सम्हालेका छन् भने वडा नं. २ र ३ मा खरिदारले वडा कार्यालय चलाएका छन् । वडामा पाँचाँै तहका कर्मचारी हुनुपर्ने भए पनि कर्मचारी अभावका कारण अहिले यसरी नै वडा कार्यालयहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।


Views: 82