काठमाडौं । पछिल्लो पटक विगत ३३ दिनदेखि अनशनरत गंगामाया अधिकारीको जीवनरक्षाका लागि संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । न्यायका लागि संघर्षरत अधिकारीको जीवनरक्षाका लागि आयोगले ध्यानाकर्षण गराएको हो । छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कानुनी कारबाहीको माग गर्दै सत्याग्रही गंगामाया काठमाडौंको ट्रमा सेन्टरको आकस्मिक कक्षमा अनशनरत हुनुहुन्छ ।
राष्ट्रिय मानव अधिकार आयोगले लामो समयदेखिको आमरण अनशनका कारण उहाँको स्वास्थ्य स्थिति जटिल बनेको र स्वास्थ्य अवस्था निरन्तर अनुगमन गरिरहेको पनि आयोगले जनाएको छ । उहाँको जीवनरक्षा, स्वास्थ्योपचार तथा उचित बसोबासको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वीर अस्पताललाई पत्राचार गरिएको पनि आयोगले जनाएको छ ।
गंगामाया पछिल्लोपटक २०७७ पुस ६ गतेदेखि आमरण अनशनमा रहनुभएको छ । आयोगले आमरण अनशन जस्तो जोखिमयुक्त बाटो नरोज्न पनि अनशनरत अधिकारीसँग आग्रह गरेको छ ।
छोरा कृष्णप्रसादका हत्यारालाई कारबाही माग गर्दै अनशन बस्नुभएका उहाँका श्रीमान् नन्दप्रसाद अधिकारीको २०७१ असोजमा निधन भएको थियो । उहाँको शव अहिलेसम्म शिक्षण अस्पतालको शवगृहमै छ । गंगामाया एक दशकदेखि न्यायका लागि लडिरहनुभएको छ ।
Views: 137