8th March | 2021 | Monday | 8:45:04 AM

सीमा नाका खोल्न कोइलाबासीको माग

विवेक खड्का   POSTED ON : माघ ९, २०७७ (९:३६ AM)

सीमा नाका खोल्न कोइलाबासीको माग

दाङ । चैत महिनादेखि बन्द भएको कोइलाबास नाका हालसम्म खुल्न सकेको छैन । कोरोना संक्रमण फैलन नदिनका लागि सरकारले गरेको लकडाउनसँगै बन्द भएको नाका हालसम्म पनि खुल्न नसकेको हो । सरकारले सबै क्षेत्र खुल्ला गरिसके पनि दाङको भारतसँग जोडिएको नाका भने खुल्न सकेको छैन ।

नाका बन्द हुँदा कोइलाबासवासीहरूले धेरै समस्या भोग्नुपरेको गढवा गाउँपालिकाका–८ का अध्यक्ष सद्धाम सिद्धिकीले बताउनुभयो । नाका बन्द हुँदा आवत–जावत गर्नसमेत पाएका छैनन् । सरकारले सबै नाकासँगै कोइलावास नाका पनि बन्द गरेको र हालसम्म खुल्ला नगरेको अध्यक्ष सिद्धिकी बताउनुहुन्छ । भारतले आफ्नो तर्फबाट खुल्ला गरे पनि नेपाल सरकारले नाका खुल्ला नगरेको उहाँको भनाइ छ । सबै कुरामा भारतमै निर्भर रहेका स्थानीय बासिन्दाहरूलाई नाका बन्द हुँदा धेरै समस्या भएको अध्यक्ष सिद्धिकी बताउनुहुन्छ । भारततर्फ जान नपाएपछि स्थानीयहरू गढवा बजार तथा लमही बजार जाने गरेको उहाँले बताउनुभयो ।

कोइलावासबाट लमही आउनका लागि ३४ किलोमिटर रहेको छ । अहिले खाद्यान्न, कपडा, तेल, नुन, चिनी, सावुन–सलाईलगायत आवश्यक पर्ने सम्पूर्ण सामग्री ल्याउन लमही बजारसम्म आउनुपर्ने बाध्यता रहेको छ । कोइलाबासका स्थानीय बासिन्दाहरू सम्पूर्ण कुरामा भारतमा भर पर्ने गरेका थिए । कोइलाबासदेखि लमही आउनभन्दा भारतको बजार गएर समान ल्याउन आफूहरूलाई सहज हुने स्थानीय बताउँछन् ।

उनीहरू भन्छन्, ‘हामीलाई गढवा, लमही पुग्नुभन्दा भारतको बजार गएर सामान ल्याउँदा छिटो र सहज हुन्छ ।’ उनीहरूले नाका खुलेमा आफूहरूलाई सहज हुने बताउँछन् । सरकारले सबै क्षेत्र खुल्ला गरिसके पनि कोइलाबास नाका खुल्ला नगरेको गुनासो उनीहरूको छ । 

जिल्लाका विभिन्न स्थानबाट घुम्न आउनेहरू नाकाको गेटसम्म पुगेर फर्कने गरेका छन् । आफ्नो जिल्लाको सीमा हँुदै भारतसम्म घुम्न आउनेहरू दुई देशको गेट हेरेर फर्कने गरेको वडा अध्यक्ष सिद्धीकी वताउनुहुन्छ । लमहीदेखि कोइलावाससम्म बाटो पिच भएपछि पछिल्लो समय कोइलावास आन्तरिक पर्यटनको रोजाइँको स्थानसमेत बनेको छ । अहिले दैनिक जिल्ला तथा जिल्ला बाहिरका नागरिकहरू कोइलावाससम्म पुग्ने गरेका छन् ।

यता, भारतबाट पहाड हेर्नकै लागि विद्यार्थीहरू कोइलावाससम्म आउने गर्दथे । तर, यस वर्ष भने भारतबाट विद्यार्थीहरू आउन नपाएको वडा अध्यक्ष सिद्धिकीले बताउनुभयो । यस सिजनमा चहल–पहल हुने कोइलावास अहिले सुनसानजस्तै रहेको उहाँको भनाइ छ । फाट्टफुट्ट नेपालीहरू मात्र अहिले सीमा हेर्न यहाँ पुग्ने गरेका छन् । 


Views: 66