4th March | 2021 | Thursday | 6:34:50 AM

मानव अधिकारका सवालमा नेपाल प्रतिगामी बन्दै गएको एम्नेस्टीको निष्कर्ष

  POSTED ON : माघ १४, २०७७ (९:२४ AM)

मानव अधिकारका सवालमा नेपाल प्रतिगामी बन्दै गएको एम्नेस्टीको निष्कर्ष

काठमाडौं । मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय संस्था एमनेस्टी इन्टरनेसनल नेपालले मानव अधिकारका सवाललाई सम्बोधन गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रसंघीय मानव अधिकार परिषद्को समीक्षाले द्वन्द्वकालीन अपराधमा न्याय प्रदान गर्नमा भएको विफलतालाई दर्शाएको एम्नेस्टी इन्टरनेसन नेपालले जनाएको हो । 

नेपालको मानव अधिकार अवस्थालाई संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्ले तेस्रो पटक गत हप्ता समीक्षा गरेको थियो । जसअनुसार विश्वव्यापी आवधिक समीक्षा भएको पाँच वर्ष र दशक लामो सशस्त्र द्वन्द्व अन्त्य भएको १४ वर्षभन्दा बढी समय बितिसक्दा पनि सशस्त्र द्वन्द्वका पीडितहरू अझै सत्य, न्याय र परिपूरणको पर्खाइमा रहेको निष्कर्ष निकालिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

संक्रमणकालीन न्यायका सम्बन्धमा उल्लेखनीय प्रगति भएको दाबी गरे पनि द्वन्द्वपीडितका सरोकारलाई गम्भीर उपेक्षा गरिएको जनाइएको छ । नेपालले बारम्बार अन्तर्राष्ट्रिय मञ्चहरूमा अनेक प्रतिबद्धताहरू देखाए पनि आधारभूत मानव अधिकारका सवालमा स्पष्ट रूपमा पछिल्लो समय झन् प्रतिगमन भएको एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक नीराजन थपलियाले बताउनुभएको छ ।  

पहिल्यैदेखि सुनिश्चित गरिएका मानव अधिकारलाई समेत संकुचनमा पार्ने गरी कतिपय प्रस्तावित कानुनहरूमा व्यवस्था गरिएका पश्चगामी प्रावधानहरूलाई अधिकारीहरूले खारेज गर्नुपर्नेमा उहाँको जोड छ । 


Views: 77