11th April | 2021 | Sunday | 6:29:04 PM

म्यानमार नरसंहारविरुद्ध काठमाडौंमा प्रदर्शन

  POSTED ON : फाल्गुन २२, २०७७ (१०:२४ AM)

म्यानमार नरसंहारविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं । म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक समाजले प्रदर्शन गरेका छन् । शुक्रबार नागरिक समाजले ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’को ब्यानरमा ललितपुरस्थित म्यानमारको दूतावासअगाडि प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, डा. गोविन्द केसी, नारायण वाग्ले, युग पाठकलगायतको सहभागिता थियो । प्रदर्शनलाई सम्बोधन गर्दै नागरिक खगेन्द्र संग्रौलाले स्वतन्त्रताप्रेमी, लोकतन्त्र र स्वायत्तताप्रेमी नागरिकहरू म्यानमारका नागरिकहरूलाई ऐक्यबद्धता जनाउन सडकमा आएको बताउनुभयो । विरोध प्रदर्शनमा म्यानमारको सैनिक दमनलाई सांकेतिक रूपमा देखाउन कलाकारहरूले प्रस्तुति पनि देखाएका थिए ।

म्यानमारमा फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि त्यसको विरोधमा निरन्तर आन्दोलन हुँदै आएको छ । संघर्षका क्रममा चार दर्जनभन्दा बढी नागरिकहरूले ज्यान गुमाइसकेका छन् ।

सेनाले सत्तारूढ दलकी नेतृ आङसाङ सुकीसहित नेताहरूलाई नियन्त्रणमा लिएर सत्ता हातमा लिएको थियो । त्यसपछि त्यहाँ दिनहँु प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीले सुकीसहित, राष्ट्रपति विन मिन्टलगायत नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) का नेताहरूको रिहाइ र जननिर्वाचित सरकारको पुनःस्थापनाको माग गर्दै आएका छन् ।

गत नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै नयाँ निर्वाचन गराउने घोषणा गरेको सेनाले म्यानमारमा एक वर्षका लागि संकटकालको घोषणासमेत गरेको छ ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि म्यानमारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ । बेलायतले राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक पनि डाकेको छ । अमेरिका, बेलायत, क्यानाडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सेनालाई जननिर्वाचित सरकार बहाली गर्न तथा पक्राउ लोकतन्त्र पक्षधर नेताहरूलाई रिहा गर्न दबाब दिँदै आएका छन् । अमेरिका, बेलायत, क्यानाडालगायत कतिपय पश्चिमा देशहरूले सैनिक नेतृत्वमाथि प्रतिबन्धहरू घोषणा गरिसकेका छन् ।

सत्ता कब्जा गर्नुभएका सेना प्रमुख ह्लाइङले फरक मत राख्नेहरूप्रति सुरक्षाकर्मीले लोकतान्त्रिक व्यवहार गरिरहेको दाबी गर्दै आउनुभएको छ । 


Views: 87