11th April | 2021 | Sunday | 6:12:36 PM

विकासले फेरिएको जीवन

डम्मर बुढा मगर   POSTED ON : चैत्र २५, २०७७ (९:०३ PM)

विकासले फेरिएको जीवन

 बागलुङ । निसीखोला गाउँपालिका वडा नम्बर ६ भल्कोटका भाजविर घर्ती मगर ७३ वर्ष हुनुभयो । उमेरले बुढ्यौली लागे पनि गाउँले स्वच्छ खानपानले गर्दा उहाँ अझै हट्टाकट्टा हुनुहुन्छ । आफ्नै रहनसहन र भाषा बोल्ने भाजविर निकै हँसिलो हुनुहुन्छ । उहाँले जीवनका अधिकांश समय गाईभैसी र भेडाबाख्राको गोठालो गरेरै बिताउनुभयो । 

उहाँलाई सहर बजारभन्दा आफ्नै गाउँ रमाईलो लाग्छ । आफ्नै खापापखेरा रमाईलो लाग्छन् र आफ्नै गाईभैँसी प्यारो लाग्छन् । वर्षातमा लेक तिर र हिउँदको समयमा गाउँमा झर्ने भाजविर अहिले गाउँमै हुनुहुन्छ । उहाँलाई बुढेसकाल लागे पनि रंग रमाईलो र खानपान गर्न निकै सोखिन हुनुहुन्छ । 

उहाँसँग जीवनमा भोगेका अनेकौँ अनुवभहरु छन् । उतिबेला ताका भाजविरले भोगेका कयौँ अनुभव अहिले आफैलाई नौलो लाग्छ । उहाँले भोगेका सयौँ अनुभवहरु मध्ये एउटा यस्तो अनुवभव छ जो उहाँ कहिल्यै भुल्नु हुन्न । १५ दिनको पैदल यात्रा गरेर बुटवल पुगेर नुन बोकेर उपभोग गरेको अनुभव उहाँको मनस्पटलमा अझै ताजै छ । उहाँले यो दुख चाहेर पनि भुल्न सक्नुहुन्न । दुर्गम गाउँ । त्यसमाथि पनि सरकारी निकायको ध्यान कम पुगेको गाउँ । विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ संघर्षपछि बल्ल अहिले गाउँसम्म बिजुली बत्ति र सडक पुगेको छ ।

गाउँमा यसरी मोटर गाडी गुड्ला, विजुली बत्तीले गाउँ घर झिलिमिली होला भन्ने उहाँले कहिल्लै कल्पना गर्नुभएको थिएन । तर अहिले गाउँ घरमै सररर गाडी गुड्दा, बिजुली बत्तिले झिलिमिली हुँदा भाजविर दंग हुनुहुन्छ । हर्षित हुनुहुन्छ ।

१५÷१६ वर्षको उमेरमा बुटवल नुन लिन जाने क्रममा गाडी गुडेको र बिजुली बलेको देख्नु भएको घर्ती मगर अहिले घरमा बसीबसी त्यसको उपभोग गर्न पाउनु भएको छ । उहाँले आफ्नो बैशकाललाई सम्झिँदै भन्नुहुन्छ–‘हाम्रो पालामा यस्तो सुबिस्ता थिएन, मैले त बटौली नुन लिन जाँदाखेरी गाडी देखेको थिएँ, बिजुली बत्ती पनि उतिबेलै हो देखेको ।’

घर्तीले गाउँमा यति ठूलो परिवर्तन आउला । विकास होला भन्ने कहिल्लै सोच्नु भएको थिएन । तर अहिले सबै तिर परिवर्नत आएपछि, गाउँ ठाउँले मुहार फेरेपछि घर्ती निकै खुसी हुनुहुन्छ । 

‘हाम्रो ठाउँमा यस्तो विकास होला भन्ने त मैले कहिल्यै सोचेको थिएन, तर अहिले त हेर्नुस् गाडी सररर चल्छन्, बिजुली बत्ती पनि थिएन त्यतिबेला, हामीले त भाँङ, दियालो बालेर उज्यालो गराउँथ्यौँ, अहिले बुजुलीले झिलिमिली छ, एक दिन लाइन आएन भने अन्धकारमा बसे जस्तो हुन्छ,’ उहाँले मुस्कुराउँदै भन्नुभयो ‘बटौलीमा गाडी देख्दा डराउँथ्यौँ, अहिले त के को डराउँनु अल्ली तल जानु प¥यो भने हिड्नै मन लाग्दैन, गाडीमै जाने भन्ने हुन्छ, गाडी नहुँदा, कोषौँ टाढा हिँडियो, अहिले सुबिस्ताले गर्दा २÷४ पाइला पनि हिड्न गाह्रो लाग्छ ।’

उहाँले जिल्ला सदरमुकाम बागलुङ बजार आउजाउ गर्न दुई साता लागेको सुनाउँदै तत्कालीन समयमा पश्चिम बागलुङका जनताले निकै दुख पाएको सुनाउनुहुन्छ । ‘कागज पत्रको काम गर्न बागलुङ जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिड्दै जानु पथ्र्यो, यहाँबाट हिँडेर बागलुङ पुग्दा ७ दिन, फर्किँदा ७ दिन लाग्थ्यो, बाटोमा चोर लाग्ने गर्ने, निकै डर पनि हुन्थ्यो, आइमाई केटाकेटीलाई झन् धेरै समस्या हुन्थ्यो,’ घर्तीले भन्नुभयो ‘अहिले त बिहान सररर गाडीमा जाउँ उस्तै पर्ने हो भने साझँ आटो खान घरै आइन्छ, यस्तो सुविस्ता होला भन्ने त कस्ले सोचेको थियो होला र ?’

उहाँले अहिले गाउँ–गाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनु पर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोली फेरिएको जस्तो भएको बताउनुभयो । ‘पहिलेको दुखलाई सम्झिँदा खेरी त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ति दिन ?, अहिले कस्तो भयो ?, उतिबेला भोगेको दुखलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ,’ घर्तीले भन्नुभयो ‘अहिले त सबथोक छ, के छैन ?, उति बेला घ्यू बोकेर १५÷१५ दिन लगाएर बटौली पुगेर नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकै छिनमा आउँछ ।’

घर्तीले आफूले गाई गोठ, भैँसी गोठमा धेरै समय बिताएको भन्दै अबका पुस्ताले आफूहरुको पिडो नथाम्ने चिन्ता व्यक्त गर्नु हुन्छ । ‘मैले जन्मेको ५÷६ वर्षदेखिनै गाई भैँसीको गोठालो गर्न थालेको हुँ, हाम्रो जमानामा पढ्ने लेख्ने भन्ने केही थिएन, अहिले त, जन्मिदा बित्तिकै पढ्न जान्छन्,’ उहाँले भन्नुभयो ‘यस्तो पढ्ने लेख्ने केटाकेटीले के गाई, भैँसी, भेडाबाख्राको गोठोले गर्थे ?, अब पछि–पछि त यो गाई भैँसी भन्ने चिज पनि पाइँदैन कि क्या हो ।’

उहाँले आफ्नो जवानीको रमाइलो कुरा समेत सुनाउनुभयो । ‘हाम्रो बैसमा त गोठमा बस्ने, धेरै गाई भैसी पाल्ने, ठूला–ठूला ठेकीमा मही पार्ने, साँझ परेपछि झाँङ बालेर तरुनीहरुसँग गीत गाउँन जान्थ्यौँ, अब ती दिन त कहिले आउलान् र ? अहिले त त्यो सबै हराउँदै गयो,’ उहाँले विगतलाई स्मरण गर्दै भन्नुभयो ‘कस्ता थिए ति दिन, अहिले त आफू पनि बुढो भैयो, उतिबेलाका दाँवल पनि अहिले कता–कता छन् ?, कही बिती सके, अहिले त त्यही पुरानो कुरा सम्झेर चित्त बुझाउन बाहेक केही गर्न सकिदैँन ।’


Views: 39