16th May | 2021 | Sunday | 7:02:18 PM

चोरी भएका सवारी साधन सम्बन्धित सवारीधनीलाई जिम्मा

हिमालय टाइम्स   POSTED ON : बैशाख २, २०७८ (४:०२ PM)

चोरी भएका सवारी साधन सम्बन्धित सवारीधनीलाई जिम्मा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका मोटरसाइकल तथा स्कुटर खोजतलास गरी सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको छ । 

 महाशाखाले विभिन्न ठाउँबाट खोजतलास गरी बजरामद गरिएको १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर बिहीबार (आज) सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बरामद गरिएका मोटरसाइकलहरु सम्बन्धित धनीलाई बुझाउनु भएको हो । ती मोटरसाइकलहरु काठमाडौं उपत्यकाका विभिन्न स्थानहरु तथा धादिङ्, चितवन, मकवानपुर र बारा जिल्लाबाट चोरी भएका थिए । एसएसपी भट्टराईले महाशाखाले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीब्रता दिइरहेको बताउनुभयो । चोरी भएका मोटरसाईकलहरू नम्बर प्लेट र स्वरुप परिवर्तन गरी नक्कली कागजपत्र बनाई वेचबिखन गर्ने गरेको पाइएको समेत एसएसपी भट्टराईले बताउनुभयो । महाशाखाले काठमाडौँ उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई नियन्त्रण तथा त्यसमा संलग्न हुनेलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढेको पनि बताउनुभयो । यस्तै सवारीसाधन हराउन नदिन निगरानी बढाउने र सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको एसएसपी भट्टराईले बताउनुभयो ।

ट्राफिक प्रहरीले यस आर्थिक वर्षमा मात्रै हराएका ३ सय ५७ वटा मोटरसाइकल खोजतलास गरी सवारी धनीलाई जिम्मा लगाएको छ । यस्तै चोरीमा संलग्न ४७ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरु मार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ ।


Views: 73