21st June | 2021 | Monday | 12:51:48 PM

ज्यानै जोखिममा परेपछि बल्ल अस्पताल ! समयमै अस्पताल आउन चिकित्सकको सुझाव

ध्रुबसागर शर्मा   POSTED ON : जेठ ३, २०७८ (७:३५ PM)

ज्यानै जोखिममा परेपछि बल्ल अस्पताल ! समयमै अस्पताल आउन चिकित्सकको सुझाव

म्याग्दी । होम आइसोलेसनमा रहेका म्याग्दीका कोरोना संक्रमितले समयमै जाँच तथा उपचार नगरी ज्यानै जोखिममा पर्न थालेपछि बल्ल धमाधम अस्पतालमा भर्ना हुन थालेका छन् । 

कोरोनाको लक्षण  र श्वासप्रश्वासमा समस्या आएपनि सामान्य सम्झिएर घरमै बस्ने गरेका संक्रमितहरु ढिलो गरी अस्पतालमा पुग्दा समयमा नै उपचार नपाएकाले ज्यानै समेत गुमाएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्दै गएपछि  बेनी अस्पतालमा भर्ना हुने कोरोना संक्रमतिको संख्या पनि बढेको छ । आइतबार साँझसम्म अस्पतालमा २२ जना कोरोना संक्रमति भर्ना भएकोमा हाइ फ्लो अक्सिजन आवश्यक पर्ने ४ जना र अन्य शरीरमा अक्सिजनको कमी भएका र निमोनियाका बिरामी रहेको बेनी अस्पतालले जनाएको छ। सोमबार अस्पतालमा भर्ना भएर उपचार गराउने कोरोना संक्रमितको संख्या ३२ पुगेको अस्प्ताल प्रशासनले जनाएको छ ।

म्याग्दीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउने अधिकांस विरामीको शरीरमा अक्सिजनको मात्रा निकै कम र निमोनियाका कारण देखिएको बेनी अस्पतालको मेडिकल कोअर्डिनेटर डा.नवराज बस्ताकोटीले बताए ।

डा. वस्ताकोटीका अनुसार अधिकाँश संक्रमितहरुमा निमोनिया देखिएको छ । सास फेर्न समस्या भएका बिरामी अस्पतालमा भर्ना हुन थालेको डा.बस्ताकोटीको भनाइ छ । ‘निको हुन्छ भन्दै घरमा बसेका संक्रमित सुधार नभएपछि अस्पतालमा आउने गर्नुभएको छ’ डा. बस्ताकोटीले भने । उनले कोरोना संक्रमतिले घरमै जोखिम मोल्न नहुने बताए ।

लक्षणविहीन, हल्का रुघाखोकी र सामान्य लक्षण भएका व्यक्ति होम आइसोलेसनमा बस्दा फरक नपर्ने तर शरीरमा असज महसुस हुदाँ हुदै पनि घरमा बस्न नहुने डा. बस्ताकोटीको भनाई छ । अक्सिजन दिएर स्वास्थ्य अवस्था सुधार हुन्छ भनेर घरमै बस्दा निमोनियाको समस्या बढेपछि अस्पतालमा आउने गरेका छन् । ‘उपचारका लागि हामी तयारी अवस्थामै छौ,‘खोकी र ज्वरो बढिरहेको छ भने तुरुन्त अस्पताल आउनुहोला’ डा. बस्ताकोटीले भने । सास फेर्न समस्या र निमोनिया भएर पनि घरमै निको हुन्छ भनेर अन्तिममा अस्पतालमा आउने बिरामीलाई निको भएर घर फर्काउने सम्भावना कम हुने चिकित्सकहरुको भनाइ रहेको छ ।

कोरोनाको दोस्रो लहरपछि बेनी अस्पतालमै कोरोनाको स्बाब दिएका ९ जना र जिल्ला बाहिर गरी कुल २० जनाले ज्यान गुमाएको तथ्याङ्कमा देखिएको छ । 

अक्सिजन कमी भएको समयमै थाहा नपाउँदा..

बेनी नगरपालिकाका एक कोरोना संक्रमित पुरुषलाई एक्कासी सास फेर्न गाह्रो भयो । घरमै सिकिस्त भएपछि बेनी अस्पतालमा उपचारका लागि आएका पुरुषको मृत्यु भयो । श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका बेनपा–८ का एक निर्माण ब्यवसायीको पनि अस्पतालमै ज्यान गयो ।

 दुवैको अक्सिजनको स्तर क्रमशः ४० देखि ५० प्रतिशतभन्दा तल झरेको थियो। पछिल्लो एकसाता यता म्याग्दीका कोरोनाको लक्षण देखिएर ज्यान गुमाएकामध्ये धेरैमा श्वासप्रश्वासको समस्या देखिएको छ। 

कोरोनाको जोखिमसँगै आवश्यक जानकारीको अभावमा समयमै स्वास्थ्य संस्थामा नपुग्दा उपचार सम्भव भएका बिरामीले समेत ज्यान गुमाउनु परेको छ । कोरानोको दोस्रो लहरसँगै बेनी अस्पतालमा पुगेका कोरोना संक्रमित र दीर्घरोगीमा श्वासप्रश्वासको समस्या भएकामध्ये अधिकांंस चिन्ताजनक अवस्थामा भर्ना हुन आएको अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले बताए । 

‘सास फेर्न कठिन भएपछि अन्तिममा बिरामी अस्पतालमा आउनुहुन्छ, आफ्नो शरीरको अक्सिजनको अवस्थाका बारेमा घरमै चेकजाँच गर्न सकिने भएपनि धेरैलाई जानकारी छैन’ प्रमुख डा. कँडेलले भने ।

अस्पतालमा समयमै उपचारका लागि आउने बिरामीलाई कुनै समस्या नभएको बताउँदै अक्सिजनको मात्रा ६५ प्रतिशतसम्म भएका बिरामीलाई समेत उपचारपछि डिस्र्चाज गरिएबो डा. कँडेलको भनाई छ । शरीरमा अक्सिजनको मात्रा ९० देखि १०० प्रतिशतसम्म राम्रो मानिने डा. कँडेलको भनाई छ । 

कोरानौक कारण बेनी अस्पताल र यहाँबाट रिफर गरी पोखरा पठाइएका बिरामीहरुमा अक्सिजनको स्तर ३० देखि ५० प्रतिशतमा झरेका रहेको अवस्थाका बिरामी भएकाले यो समयमा घरमै अक्सिमिटर’ उपकरणमार्फत नियमित अक्सिजन स्तर जाँच्नुपर्ने डा. कँडेलको भनाई छ ।

कस्ता समस्या देखिए पछि अस्पताल आइहाल्नु पर्छ ?

 होम आइसोलेसनमा बसिरहेका बिरामीहरुको नियमित अक्सिमिटर’ ले चेकजाँच गर्नुपर्ने डा. कँडेलको सुझाव छ । घाँटी चिलाउने, खस्खसाउने, खोकी लाग्ने, एक्कासी श्वासप्रश्वासको समस्या देखिएपछि तत्कालै स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्छ । 

लगातार खोकी लाग्ने, चाँडो–चाँडो श्वास फेर्ने,श्वास फेर्दा छाती र करङको भाग धस्सिने, श्वास फेर्न गाह्रो हुने समस्या समाधान नभएपछि मात्रै अस्पतालमा जाने बिरामीकै कारण समस्या हुने गरेको चिकित्सकको भनाई छ ।

 म्याग्दीमा कोरोनाको दोस्रो लहरपछि बेनी अस्पताल र पोखरामा ज्यान गुमाएका संक्रमित मध्ये अधिकाँशमा शरीरमा अक्सिजनको अभाव भएकै कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

बेनी अस्पतालमा संक्रमितको चाप बढ्यो : अक्सिजन र बेडको अभाव हुन थाल्यो

 सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा कोरोना संक्रमित विरामीको चाप बढ्न थालेको छ । स्वासप्रस्वासमा समस्या भएर अस्पताल आउनेको संख्या सोमबार बढेको छ । नियमित १८ देखि २० जना सम्म संक्रमितको उपचार गरिरहेको अस्पतालमा सोमबार भने ३२ जना विरामी उपचाररत छन् ।

सोमबार ग्रामिण भेगबाट धेरैको संख्यामा विरामीहरु अस्पतालमा आएका कारण अक्सिजन र बेडको अभाव हुनथालेको छ । अक्सिजन सहितको बेड अभाव भएपछि एम्बुलेन्समै राखेर उपचार गरिएको थियो ।

अक्सिजनको अभाव हु्न नदिन अस्पतालले पूर्व तयारी गरेपनि विरामीको चाप एक्कासी बढेका कारण केही घण्टा व्वस्थापन गर्न समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

आइतबार सञ्चालन गरिएको २० बेड क्षमताको आइसोलेसन कक्षमा अक्सिजनको व्यवस्थापन गर्न केही समय लाग्ने भएकाले समस्या भएको उनको भनाइ छ ।

बेलुका सम्म अक्सिजनको व्यवस्थापन हुन्छ उनले भने ‘थप अक्सिजन शिलिण्डर लिन पोखरा पनि पठाएका छौं । साँझ सम्म अक्सिजन आइपुग्छ ।’ विरामीको चाप यसरी नै बढ्ने हो भने थप बेड र अक्सिजनको आवश्यकता पर्नसक्ने अध्यक्ष कटुवालले बताए ।



Views: 127