कोभिडले कोटेश्वर-जडीबुटी सडक निर्माणको काम प्रभावित

हिमालय टाइम्स   POSTED ON : असार १, २०७८ (७:१७ AM)

कोभिडले कोटेश्वर-जडीबुटी सडक निर्माणको काम प्रभावित

कोटेश्वर-जडीबुटी सडकखण्ड विस्तारको काम यसै आर्थिक वर्षको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिए पनि सम्पन्न हुन नसक्ने भएको छ । सरकारले कोटेश्वर–जडीबुटी सडकखण्डको जामलाई व्यवस्थित गर्नका लागि कोटेश्वर–जडीबुटी सडकखण्डको विस्तारको काम अघि बढाएको थियो । 

यसै आर्थिक वर्षको असार मसान्तसम्म सक्ने गरी काम थाले पनि कोभिड-१९ को कारणले निर्धारित समयमा काम सम्पन्न नहुने भएको हो । टुन्डी सुसन जेभी निर्माण कम्पनीले सात करोड रुपैयाँमा २०७८ सालको असारसम्ममा निर्माण कार्य सम्पन्न गर्नेगरी जिम्मा लिएको थियो । हालसम्म निर्माणको ६० प्रतिशत मात्रै काम सकिएको सडक डिभिजन काठमाडौंका प्रमुख ई. कुवेर नेपालीले बताउनुभयो । निषेधाज्ञाका कारण समयमै काम सम्पन्न गर्न अवरोध आएको उहाँले बताउनुभयो ।

मौसम राम्रो भएमा यसै आर्थिक वर्षभित्रमा कोटेश्वरबाट जडीबुटीतर्फ जाँदाको दाहिनेतर्फको विस्तारित तीन लेनबराबर कालोपत्रे गर्ने साथै हरियाली क्षेत्र र फुटपाथ बनाइसक्ने र देब्रेतर्फ एउटा निजी घरको मुआब्जासम्बन्धी कानुनी समस्याका कारण अल्झिएका काम भने सम्पन्न गर्ने प्रमुख नेपालीले बताउनुभयो ।


Views: 122

Top