बाँकेका किसानहरू चैते धान उत्पादन गर्न सफल

हिमालय टाइम्स   POSTED ON : असार १, २०७८ (७:२३ AM)

बाँकेका किसानहरू चैते धान उत्पादन गर्न सफल

बाँकेका किसानहरू पहिलो पटक चैते धान उत्पादन गर्न सफल भएका छन् । बर्खे धानभन्दा चैते धान उत्पादनमा दोब्बर वृद्धि भएको किसानहरूले अनुमान गरेका छन् । उत्पादन देखेर गाउँका अन्य किसानहरू पनि आकर्षित भएका छन् । 

पश्चिम तराईको बाँके र बर्दिया जिल्लालाई अन्नको भण्डार भनेर आम मानिसहरूले चिनिने गरेका छन् । बर्दियाका किसानहरू एक दशक अघिदेखि चैते धानतर्फ अकार्षित भए पनि उत्पादन लिन सकिरहेका थिएनन् । यो वर्ष भने बाँकेका किसानहरूले चैते धान फलाउन सफल भएका हुन् । 

राष्ट्रिय गौरवको आयोजनाले नहरमा पानी आउन थालेपछि चैते धान लगाउन किसान उत्साही भएका थिए । नहरमा १२ महिना पानी आउन थालेपछि किसानहरूलाई कृषि ज्ञान केन्द्र बाँकेले मल र धानको बिउ उपलब्ध गराएको थियोे । चैते धान फलाउन सफल बैजानाथ गाउँपालिका–८ झिंगौराका किसान अजित कुमार सुनारले यो वर्षको परीक्षण सफल भएकाले अर्को वर्षदेखि थप जमिनमा धान रोप्ने सोच बनाएको बताउनुभयो ।

यस्तै, कोहलपुर नगरपालिका–१५ चौधरिया गाउँका किसान ज्ञानबहादुर नेपालले पनि ११ कठ्ठा जमिनमा चैते धान फलाउन सफल हुनुभएको छ । किसान नेपालले असार पहिलो सातासम्म चैते धान थन्काएर वर्षे धान लगाउने तयारी गरेको बताउनुभयो । परीक्षणको रूपमा उहाँले हल्दीनाथ–३ र चैते धान–५ नामक धानको खेती गर्नुभएको छ । लामो समयदेखि कृषि पेशामा आबद्ध नेपालले सिक्टा सिञ्चाइको नहर घरनजिकै पुगेपछि अन्य किसानलाई पनि सिकाइ हुने भन्दै चैते धानको खेती गर्नुभएको बताउनुभयो । 

कृषि ज्ञान केन्द्र बाँकेले किसान अजित सुनारलाई प्रोत्साहन गर्न यो वर्ष चैते १ जातको धान उपलब्ध गराएको थियो । धान लगाउनका लागि ज्ञान केन्द्रले किसानलाई निःशुल्क परामर्श र मल बिउसमेत उपलब्ध गराएको कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत दिनेश भट्टराईले बताउनुभयो । अर्को वर्ष थप किसानहरूलाई चैते धान रोपाइँको कार्यक्रम ल्याउने बताउनुभयो ।

किसानहरूले गर्मी हुने ठाउँमा चैते धान फलाएर अन्य किसानहरूलाई उत्पादनमा जोडिन हौसला दिएका छन् । बाँकेमा चैते धान फल्ने खेतमा गहँु, मकै र तरकारीको खेती गर्ने चलन छ । सिक्टा सिञ्चाइ आयोजनाको सिञ्चित हुने क्षेत्रमा धान उत्पादन गरेर किसानहरूलाई वैकल्पिक उत्पादनको बाटो देखाएको छ । आगामी वर्षमा किसानहरूलाई ज्ञान केन्द्रले चैते धान खेती गर्न चाहने किसानहरूलाई निःशुल्क मल र धानको बिउ उपलब्ध गराए चैते धान लगाउने किसानहरूलाई थप हौसला पुग्नेछ ।


Views: 103

Top