मोटर गुडाउन मासियो पुरानो बजारको मौलिकता

विजय नेपाल/सिन्धुपाल्चोक   POSTED ON : असार १, २०७८ (८:१६ AM)

मोटर गुडाउन मासियो पुरानो बजारको मौलिकता

मालबाहक सवारीसाधान चलाउन नपाएपछि सिन्धुपाल्चोकस्थित चौतारा पुरानो बजारको मौलिकता नै मासिने गरी पूर्वाधार निर्माण गर्न थालिएको छ । ढुंगा छापिएको सडकमा स्थानीय व्यापारी सामान तथा निर्माण सामग्री बोकेको मालबाहक गाडी चलाउन नमिलेपछि मौलिकता नै मासेर सडकको ढुंगा हटाएर ढलान गर्न थालिएको हो । 

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित चौताराको पुरानो बजारमा छापिएको स्लेट ढुंगा हटाएर ढलान गर्न लागिएको हो । भूकम्पपछिको पुनर्निर्माणको अन्तिम चरणमा पुग्दै सो बजारमा भने निर्माण सामग्री बोक्न भन्दै मौलिकता मास्न थालिएको हो । बागमती प्रदेश सरकारको ५० लाख आर्थिक सहयोगमा सो सडकको मौलिकता मास्न थालिएको छ । 

चौताराको पुरानो बजारस्थित भीमसेनथानदेखि छापको गर्चेखोलासम्म ढलान गर्नको लागि प्रदेश सरकारसँग रकम माग गरिएकोमा भीमसेनथानदेखि नारायणथान नजिकैसम्म ढलान गर्नको लागि छापिएको ढुंगा निकाल्न थालिएको हो । 

अहिले पुरानो बजारको दोचाखोलादेखि कृष्ण मन्दिरसम्मको ढुंगा निकाल्न थालिएको छ । वि.सं. २०६६÷६७ सालमा पुरानो ढुंगा झिकेर नयाँ ढुंगा छापिएको सो बजारमा केही ढुंगा बिग्रिएका थिए । कम लगानीमै बिग्रिएका ढुंगा मर्मत गर्न सकिनेमा मौलिकता नै मासेर सबै ढुंगा हटाउन थालिएको हो । ‘दोचाखोलाबाट मालबाहक सवारीसाधन छिर्न नपाउँदा स्थानीयहरूलाई समस्या भइरहेको थियो ।’ चौतारा साँगाचोकगढी–५ का वडाध्यक्ष नरमान श्रेष्ठले भन्नुभयो-‘सवारीसाधन चलाउँदा केही ढुंगा फुट्न थालेको र ढल व्यवस्थापनका लागि मंगाल ढाक्न प्रयोग गरिएको फलामे डण्डीको जालीसमेत लच्किएपछि त्यसलाई हटाउन लागिएको हो ।’

यही असार मसान्तसम्म काम सम्पन्न गर्नेगरी ठेक्का प्रक्रियाबाट काम शुरु भइसकेको छ । यसरी सीमित व्यक्तिको फाइदाको लागि बजारको मौलिकता मास्न नहुने स्थानीयहरू बताउँछन् । ‘चौताराको पुरानो बजार छुट्टै ऐतिहासिक मौलिकता बोकेको बजार हो ।’ जिल्ला रेडक्रस सोसाइटीका मन्त्री एवं स्थानीय कमलचरण कक्षपतिले यस कार्यलाई बजेटको अनावश्यक खर्चको संज्ञा दिँदै ‘हुने खानेको विकास’ भन्नुभएको छ । केही सीमित व्यक्तिको स्वार्थको लागि गरिएको यस कार्यलाई स्थानीय हेमन प्रधानले वाहियात र निकृष्ट कार्य भएको बताउनुभयो । भइरहेको मौलिक संरचना मास्ने सोचाइ राख्नु नै गलत भएको उहाँले बताउनुभयो । 

सो सडकबाट निकालिएको ढुंगा स्थानीय मठमन्दिरहरूको प्रांगणमा छाप्ने वडा कार्यालयको योजना छ । केही ढुंगा स्थानीय मन्दिरहरूमा पु¥याइएको भए पनि केही भने ठेकेदारले अन्यत्रै लगेको शंका लागेपछि अहिले सो ढुंगा निकाल्ने कामसमेत रोकिएको एक स्थानीयले बताए । सो ढुंगा निकालेर नजिकै जम्मा गर्ने गरी ठेक्का लागेको भए पनि ठेकेदारले सो ढुंगा आफ्नो हुने भन्दै अन्यत्र लगेको स्थानीयको आरोप छ । 

विकासको नाममा भइरहेको मौलिक सम्पदा मास्नु गलत कार्य हो । केही व्यापारी तथा ठेकेदारको स्वार्थको लागि मौलिक सम्पदा मास्दा पछिल्लो पुस्ताको लागि अन्याय हुन जान्छ । 


Views: 110

Top