बाढीले उब्जाएको समस्या- सयौं बिघा खेत डुबानसँगै धानबालीमा क्षति, पीडितहरू भन्छन्-हाम्रो पीडा राज्यले देखेन

संजीव कुमार मिश्रा   POSTED ON : श्रावण ७, २०७८ (६:०७ AM)

बाढीले उब्जाएको समस्या- सयौं बिघा खेत डुबानसँगै धानबालीमा क्षति, पीडितहरू भन्छन्-हाम्रो पीडा राज्यले देखेन

बारा । कलैया उपमहानगरपालिका-२७ विजुलपुरका किसान मेथुरा पासवान धानबाली बिग्रेपछि चिन्तित बन्नुभएको छ । उहाँले एक बिघा क्षेत्रफलमा लगाएको धानबाली वर्षा र बाढीको पानीले भिजेर खेतमै कुहिएको छ । बाली भित्र्याउने बेलामा ढलेर पाकेको धान पानीमा भिजेर कुहिएको पीडित किसान मेथुराले बताउनुभयो ।

धानको बेर्ना लगाउनेदेखि धान पाक्दासम्म गरिएको खर्च वर्षा र बाढीको पानीले डुबाई दिएको उहाँले बताउनुभयो । ‘बाली भित्र्याउने बेलामा प्राकृतिक विपत्तिको बज्रपात सहनु परेको छ,’ उहाँले भन्नुभयो, ‘घरमा भएको सम्पत्ति खर्च गरेर धान फलाइयो ।’ तर बाली भित्र्याउने बेलामा ठूलो नोक्सानी व्यहोर्नु पर्‍यो । पाकेको धान खेतमै कुहिएपछि परिवारको लालनपालन कसरी गर्ने भने चिन्ताले पिरोलिएका मेथुरा सरकारसँग राहत उपलब्ध गराउन माग गर्नुहुन्छ ।

खेतीमा गरिएको लगानी नै डुबेपछि उहा“का परिवारलाई अर्को बाली लगाउन आर्थिक संकट परेको छ । कोरोना माहामारीका कारण लामो समयसम्म भएको लकडाउनले आर्थिक अवस्था जर्जर बनाएका मेथुराका परिवारलाई वर्षा र बाढीले भएको नोक्सानीले थप चुनौती थपिदिएको छ । कुहिएको धानलाई निकाल्न मजदुरसहित अहिले उहाँ खेतमा खटिनुभएको छ । धान खेती गर्दा गरिएको लगानी खर्च निकाल्न उहा“ कुहिएको धान दाइ“ गर्न जुट्नुभएको हो । थोरै भए पनि यसले राहत मिल्ने विश्वास उहाँको छ ।

उहाँ जस्तै बिजुलपुरकै दर्जनौं किसानको अवस्था अहिले उस्तै छ । पाक्न लागेको धान खेतमै लडेको छ । ‘एक त लकडाउनले मार्‍यो, अर्कोतिर बर्खा र बाढीले,’ किसान सकुन्तला देवी पासवानले भन्नुभयो, ‘किसान जति पीडित भए पनि त्यसलाई हेर्ने कुनै निकाय भएन ।’ वर्षभरि खान पुग्ने धानबाली नै बिग्रेपछि के खाने भने चिन्ताले पिरोलेको छ, उहाँ भन्नुहुन्छ । ‘घरमा राखेको अन्नपात र पैसा खेती गर्नमै सकियो,’ उहाँले पीडा पोख्दै भन्नुभयो,‘अब कसरी परिवार चलाउने ?’ सरकारले पनि हामी किसानलाई हेर्दैन । सरकारले पीडित किसानलाई राहत उपलब्ध गराउनुपर्‍यो । क्षतिको मूल्यांकन गरी उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्‍यो । 

बालीको क्षति हेर्न नगरपालिकाका प्रतिनिधि अहिलेसम्म आफूहरू कहाँ नआएको उहा“ले गुनासो गर्नुभयो । विपदको बेलामा कम्तीमा सरकारका प्रतिनिधि आम किसानको खेत घरमा नआइदिँदा पीडित किसान थप निरुत्साहित बनेको उहाँले बताउनुभयोे ।

जिल्ला विपद व्यवस्थापन समितिले पनि क्षतिको मूल्यांकन तथा अनुगमन नगरेको पीडित किसानहरूको गुनासो छ । जिल्लाको १६ वटै पालिकामध्ये दक्षिणी क्षेत्रका किसान सबैभन्दा बढी वर्षा र बाढीले प्रभावित बनेका छन् । सदरमुकाम कलैया आसपासका गाउँमा लगाइएको सयौं विघा क्षेत्रफलको धानको बोट ढलेर पाकेको धान नोक्सान भएको किसानले बताएका छन् । 

जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका, महागढीमाई नगरपालिका, कोल्हवी नगरपालिका, पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, करैयामाई गाउँपालिका, बारागढी गाउँपालिका, आदर्शकोतवाल गाउँपालिका, देवताल गाउँपालिका, फेटा गाउँपालिका लगायतका पालिकामा गरी हजारौं बिघामा लगाइएको धानबाली, तरकारी बालीमा वर्षा र बाढीको पानीले लाखौंको नोक्सान गरे पनि सम्बन्धित पालिकाले पीडित किसानलाई राहत दिन र क्षतिको मुल्यांकन गर्न चासो नदेखाएको किसानहरूले गुनासो गरेका छन् । यता, कृषि ज्ञान केन्द्र कलैयाले पनि वर्षा र बाढीले पुर्‍याएको बालीको क्षतिको विवरण अहिलेसम्म सम्बन्धित पालिकाले संकलन नगरेकोे जनाएको छ ।


Views: 53

Top