पत्रकार मञ्चको ‘कोविड विरुद्ध खुशी रणनीति’ कार्यक्रम सम्पन्न

हिमालय टाइम्स   POSTED ON : श्रावण ७, २०७८ (६:३९ AM)

पत्रकार मञ्चको ‘कोविड विरुद्ध खुशी रणनीति’ कार्यक्रम सम्पन्न

काठमाडौं । कोरियाको नामसोल विश्वविद्यालयसँगको सहकार्यमा नेपाल पत्रकार मञ्चले बुधबार आयोजना गरेको ‘कोविड विरुद्ध खुशी रणनीति’ विषयक शैक्षिक भर्चुअल कार्यक्रमका वक्ताहरूले यो अवस्थालाई सामान्य ठान्नु नहुने बताएका छन् । कार्यक्रममा नामसोल विश्वविद्यालयकी सह–प्राध्यापक डा.युउन सिल किमले ‘कोभिड–१९ एण्ड मेन्टल हेल्थ’ शीर्षकमा प्रस्तुति गर्दै भन्नुभयो– हरेक नराम्रा घटनाहरूको सूचना, तस्बिर वा दृश्य लिने पत्रकारहरूमा तुरुन्त मनमा खिन्नता, अपशोच जस्ता भावहरू आउन सक्छन् । कहिलेकाहीँ त पेशामा किन आउँछु भन्ने पनि लाग्न सक्छ । यो घटनाले ल्याएको संवेग र उनीहरूका लागि जोखिम पनि हो । त्यसैले पत्रकारहरू तनाब, डर, चिन्ता र डिप्रेसनदेखि चाँडै नै मानसिक स्वास्थ्यको गहिरो समस्यामा पर्न सक्छन् । 

अन्तरक्रियामा ‘साइकोलोजिकल इम्प्याक्ट अफ फ्रन्टलाइनर ड्यूरिङ अ प्यान्डामिक’ शीर्षकमा अध्ययनपत्र प्रस्तुत उप–प्राध्यापक डा. सिर्जना थापाले, यसबाट जटिल खालको मानसिक समस्या आउनेतर्फ आजै सोच्नु पर्ने सुझाव दिनुभयो । 

महामारीले पत्रकारमाथिको दबाबका विषयमा कुरा गर्दै नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले, महामारीकै कारण प्रिन्टबाट डिजिटल पत्रकारितामा गएको र यसले धेरै पत्रकारको रोजीरोटीका सवालमा समस्या भएको उल्लेख गर्नुभयो । यो पत्रकारहरूका लागि तनाबको विषय हो । विष्टले, पत्रकारको पेशागत सुरक्षाका लागि नीति पैरवी र नेतृत्व गरिरहने बताउनुभयो । 

कार्यक्रममा नेपाल टेलिभिजनकी नायव महाप्रबन्धक एवं सञ्चालक समितिकी सदस्य आरती चटौतले सामान्य अवस्थामा मानिसहरूको ध्यान मनोरञ्जनमा र विपदमा सूचनातिर हुने तथ्यलाई विर्सन नमिल्ने उल्लेख गर्नुभयो । कोभिड महामारीका समयमा कतिपय पत्रकारहरू जागिर गयो । कति पत्रकारहरूले आंशिक रुपमा काम गरे । कतिले आंशिक तलव लिएर पूरा काम गरे । पत्रकारहरूको यो योगदानका कारण कोविडका विषयमा जनताले सूचित हुने मौका पाएको वक्ताहरूको भनाइ थियो । 

प्रेस काउन्सिलले गरेको अध्ययनअनुसार ८३ प्रतिशत पत्रकारले कोविडकासमयमा आफूलाई पेशामा असुरक्षित भएको महसुस गरेको बताएका छन् । ३५ प्रतिशतले तनाब छ । ३८ प्रतिशतको तलब घटाइएको छ । सञ्चारगृहमा काम गर्ने ५० प्रतिशत महिलाले आफूलाई लैगिंक असमानता महसुस भएको बताएका छन् । ६२ प्रतिशत महिलाले घर र कार्यालयको तारतम्य मिलाउन कठिन भएको बताएका छन् । ६४ प्रतिशतले जिम्मेवारी बहन गर्न कठिन भएको बताएका छन् भने ७५ प्रतिशत महिलाले तनाब बढेको बताएका छन् । 

यो अध्ययनपछि देखिएको जटिलता सम्बोधन गर्न कुनै पक्षबाट कुनै खालका कार्यक्रम आएनन् । पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोहीले कोविड–१९बाट प्रभावित पत्रकारहरूलाई राज्यले वेवास्ता गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘यस्तो जटिल परिस्थितिमा अग्रभागमा क्रियाशील रहेर समाजलाई सुसूचित गर्ने कार्यमा लाग्ने पत्रकारहरूलाई खोप लगाउनसमेत अदालतमा मुद्दा हाल्नुपर्ने अवस्था सिर्जना भयो । यो अत्यन्त लाजमर्दाे अवस्था हो ।’

मञ्चका विश्वविद्यालय सम्बन्ध संयोजक चन्द्रमणि भट्टराई भन्नुहुन्छ, आजको शैक्षिक कार्यक्रममा सहभागी कोभिडको संक्रमण भइसकेका पत्रकार र तिनको परिवारको लगत बनाएर उनीहरूका लागि एकल वा समूहगत परामर्शको तयारी गरेको छौँ ।

भर्चुअल कार्यक्रममा उपत्यकासहित वीरगञ्ज, सिराहा, मोरङ, कास्कीसहित विभिन्न ठाउँबाट एक सय पत्रकारले भाग लिएका थिए ।


Views: 151

Top