कोरोनाले चिनायो म्याग्दीको कोप्रे झरना (फोटोहरुसहित)

ध्रुबसागर शर्मा   POSTED ON : श्रावण ११, २०७८ (२:२९ PM)

कोरोनाले चिनायो म्याग्दीको कोप्रे झरना (फोटोहरुसहित)

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारबाट नजिकै रहेर पनि दुई वर्षअघिसम्म गुमनाम रहेको कोप्रे झरना कोरोनाको महामारी शुरु भएपछि एकाएक चर्चामा आएको छ ।

कोरोना प्रकोप सुरु भएपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण घुमफिर र रमाइलोका लागि टाढाटाढा जान सक्ने वातावरण नहुँदा  नजिकका सम्भावित स्थलको खोजी हुनेक्रममा कोप्रे झरनाको पहिचान भएको हो ।

कोरोनाको संक्रमण र निषेधाज्ञाको कहरबाट मुक्त हुन नसकिरहेको अवस्थामा युवायुवतीहरुको तनाबग्रस्त मनलाई रिफ्रेस गराउने स्थानको रुपमा कोप्रे झरना उत्कृष्ट स्थान बन्दै गएको छ ।


म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटको दुधेखोला नजिक रहेको ‘कोप्रे झरना’ पछिल्लो समय पर्यटकहरुको गन्तव्य बन्दै जान थालेको छ । नयाँ पर्यटकीय गन्तव्यका रुपमा चिनिएको यस झरना विशेषगरी युवायुवतीहरुको आकर्षक स्थल बन्दै गएको हो । 

बेनी–बगरफाँट–भकिम्ली सडकको नजिकै अवस्थित कोप्रे झरनामा स–साना बालबालिकादेखि अधबैंसे उमेर समूहका मानिसहरु समेत पुग्छन् । यस झरनाको भ्रमण गर्न जाने पर्यटकले यसलाई लकडाउनको समयमा भेटिएको झरना पनि भनेर चिन्ने गरेका छन् । लकडाउनको समयमा घरभित्रै बस्न बाध्य भएका सर्वसाधारण तथा व्यस्त दैनिकीबाट ग्रसित मानिसहरु एकैछिन भए पनि कोप्रे झरनामा रमाएर फर्कन्छन् । यहाँ दैनिक करिब २ सय जना युवायुवतीहरु दैनिकरुपमा पुग्ने गरेका स्थानीय गेमबहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार शनिवार वा अन्य विदाको दिन कर्मचारी,व्यापारी लगाएतका व्यक्तिहरु पनि यहाँ रमाउन आउने गर्दछन् ।


खासगरी यहाँ भकिम्ली, ज्यामरुककोट, दुधेखोला, बगरफाँट र बेनीबजार आसपासका क्षेत्रबाट मानिसहरु पुगेर घुम्ने, फोटो खिच्ने र रमाउने गर्दछन् । यस झरनामा पछिल्लोपटक कोरोना भाइरसका कारण जारी निषेधाज्ञाको बीचमा घुम्नेहरुको संख्या बढेको छ । बेनीबजारबाट कोप्रे झरनामा पुगेर रमाउन पाउँदा आफूले आनन्दको महसुस गर्न पाएको बेनीकी सलिना रोकाले बताउनुभयो ।

‘झरनाको पानीले पानी पानी बनायो,खुब मज्जा आयो’ उहाँले भन्नुभयो । रोका मात्रै होइन दैनिक १ सय भन्दा बढी युवायुवतीहर यस झरनामा आएर फोटो खिच्ने,टिकटक बनाउने, रमाउने गर्ने गर्दछन् ।

कोप्रे झरना हिउँदमा केही सानो भए पनि वर्षात्को समयमा निकै ठूलो हुने गर्दछ । कोप्रे झरनालाई त्यहाँ भ्रमण गर्न जाने कतिपय पर्यटकहरुले ‘वर्षे झरना’ भनेर नामाकरण गरेका छन् । भीर तथा पहराको सहारा लिएर लडीबुडी खेल्दै खस्ने झरना हेर्दा निकै मनमोहक, आकर्षक र सुन्दर देखिन्छ । घाम लागेको समयमा इन्द्रेणी पर्ने झरनाले पर्यटकलाई खुब लोभ्याइरहन्छ । पहाडको टुप्पोबाट जमिनतिर एकनासले खसिरहने झरनाको चिसो पानीमा भिज्न पाउँदा निकै आनन्द आउने पर्यटकसँग अनुभव छ । कोपे्र झरनामा कतिपय युवायुवतीहरु  टिकटक बनाउनकै लागि भए पनि पुग्ने गरेका छन् ।


कोप्रे झरनालाई पर्यटकीय गन्तव्यको स्थलका रुपमा विकास गर्नका लागि चालु आर्थिक वर्षमा वडा कार्यालयको सिफारिसमा बेनी नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको ज्यामरुककोटका वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

उत्तरतर्फ म्याग्दी नदी,पूर्व र पश्चिमतर्फ धानको हरियाली फाँट, दक्षिणतर्फ घना जंगल रहेको यो ठाउँ प्राकृतिक सुन्दरताले पनि अत्यन्त आकर्षक रहेकाले यसलाई आन्तरिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेका छन् ।



Top