विरामी तथा घाइतेलाई समयमै उपचार कक्षमा पुर्याउने सुमन आज आफैँ अपाङ्ग भएपछि ........

दीपककुमार शर्मा   POSTED ON : भदौ २९, २०७८ (६:५६ PM)

 विरामी तथा घाइतेलाई समयमै उपचार कक्षमा पुर्याउने सुमन आज आफैँ अपाङ्ग भएपछि ........

बर्दिया । गोजीमा केहि रकम, सायद भर्खर तलव बुझेको हुनु पर्दछ घरमा रहेकी श्रीमती र ६ महिनाको छोरीलाई भेट्न हतारमा थिए सुमन, एक्कासी मोवाइलको घन्टी बज्न सुरुभयो , ‘हलो भाइ, यहाँ एकजना मानिसले पोइजन खाएका रहेका छन् तत्कालै कोहलपुर लैजानु पर्ने भयो छिटो आउ त’ । मानिसले पोइजन खाएको भनेपछि घरमै नपुगी बाटोबाटै फर्किएका ३२ बर्षिय एम्वुलेन्स चालक सुमन चौधरीले पोइजन खाएका मानिसलाई समयमै कोहलपुर पुर्याएर ज्यान जोगाइदिए तर फर्कदा भएको दुर्घटनामा परी आफु भने अपांग हुँदै जीवन जिउन बाध्य भएका छन् । 

बर्दियाको बारबर्दिया नगरपालिका वार्ड न ८ औरी निवासी ३२ वर्षिय सुमन चौधरी २०६८ साल चैत्र बाट  नेपाल रेडक्रस सोसाइटी उपशाखा मगरागाडीले संचालन गरेको एम्वुलेन्सका चालक नियुक्त भएका थिए । अन्य प्रतिस्पर्धिलाई उछिन्दै नाम निकाल्न सफल भएका चौधरीलाई २०६९ साल मंसीर ३ गतेको घटनाले गर्दा आज  भोलि विना बैसाखी हिड्डुल गर्न सक्दैनन् । कुनै समय एम्वुलेन्समा राखेर विरामी तथा घाइतेलाई गुलरिया, कोहलपुर, नेपालगञ्ज, चितवन तथा काठमाडौंसम्म पुर्याएर उपचार गराउने उनी आज घरबाट बाहिर निस्कन बैसाखीको साहरा लिनुपर्ने बाध्यता छ । 

पोइजन खाएर सिकिस्त भएका विरामीलाई मेडिकल कलेज कोहलपुरमा छोडेर बर्दिया फर्कदै गरेको अवस्थामा कोहलपुर शसस्त्र प्रहरीको चेकपोष्ट नजिकै २०६९ साल मंसीर ३ गते बेलुकी करिब ७ वजेर १५ मिनेट गएको बेला पिकनिक खाएर फर्कदै गरेको ना ३ ख ५२५८ नम्वरको माइक्रो बसले रोकिराखेको सुमन चौधरीले चलाएको एम्वुलेन्सलाई ठक्कर दिएको थियो । माइक्रो बस एम्वुलेन्सको माथि चढेको थियो । माइक्रो बसका सवार सवैको अवस्था सामान्य भएपनि एम्वुलेन्स चालक चौधरीको अवस्था गम्भिर बन्यो । तत्कालै उपचारका लागी कोहलपुर मेडिकल कलेजमा लगियो खुट्टा भाँचिएको , कम्मरमा गम्भिर चोट लागेको तथा आँखाको माथिल्लो भागमा चोट लागेका कारण लामो समयसम्म उनको उपचार चल्दै गयो । बस समितिले उनको उपचार खर्च गरिदियो । तरपनि अहिले उनको खुट्टामा रड रहेको छ । रड निकाल्ने रकम छैन । समितिमा जाँदा पछिल्लो पटक कुनै वास्ता नगरेका कारण आफु समस्यामा परेको सुमनको भनाइ छ । आँखा पनि कमजोर हुँदै गएको र दृष्टि पनि कम हुँदै गएको छ ।  

अहिले घरमा एक श्रीमति १० वर्षिय छोरी सुजाता  र सम्पतिको नाममा १० धुर जमिन त्यसमा टायलले छाएको सानो घरमा बैशाखीको साहाराले बाहिर र भित्र गर्न बाहेक अरु उपाय छैन सुमनको । श्रीमती कल्पना चौधरीले दैनिक मजदुरी गरेर ३ जनाको परिवार पाल्दै आएकी छिन । सुमन कुनै काम गर्न सक्ने अवस्थामा छैननर । घर परिवारको जिम्मा कल्पनाको काँधमा आइपरेको छ । दैनिक मजदुरी नगरेको दिनमा घरमा खान नपाइने भएपछि सन्चो विसन्चो जे भएपनि खानका लागि मजदुरी पहिलो आवश्यकता परेको छ । 

स्थानीय तहका जनप्रतिनिधिलाई उनको अवस्थाको बारेमा सवै जानकार छन् तर आश्वासन बाहेक अहिले सम्म केहि पाउन सकेका छैनन् सुमनले । सामान्य लेखपढ गर्न जानेका सुमनले आफनी श्रीमति पनि सामान्य लेखपढ गर्न जानेको हुँदा वडा वा नगरपालिकामा केहि सामान्य काम दिए आफुहरुको दैनिकी केहि सहज हुने आशाका साथ दौडधुप गर्दा पनि सफलता हात पार्न सकिरहेका छैनन् । 

नेपाल रेडक्रस सोसाइटी उपशाखा मगरागाडिले उनको उपचारका लागि वस व्यवसायी संग समन्वय गरी उपचार गरेको तत्कालिन नेपाल रेडक्रस सोसाइटी उपशाखा मगरागाडिका सभापति ओम शर्मा काफ्लेले बताउनु भयो । उपचार गरियो तर पछिल्लो पटक उनको खुटटामा रहेको रड निकाल्नु पर्ने वा खुटटा नै काटनु पर्ने अवस्था रहेको हुदा अझै पनि वस समिति संग समन्वय गरी त्यो काम गर्न सकिने बताउनु भयो । उपचारको लागी समस्या नभएपनि दुर्घटना पछि फेरि पनि पुरानै काममा फर्कन नसक्ने अवस्था भएको हुँदा सुमनको दैनिक जिवन यापन गर्न समस्या परेको काफ्लेको भनाइ छ । 


Top