भब्यताको साथ ऐतिहासिक निशान नचाइयो

जितेन्द्र भण्डारी   POSTED ON : आश्विन २९, २०७८ (६:०२ PM)

 भब्यताको साथ ऐतिहासिक निशान नचाइयो

पाँचथर । पृथ्वीनारायण शाहको नेपाल राज्य एकीकरण सम्पन्न भएपछि पाँचथरको उत्तरी याङवरक गाउँपालिका वडा न. ४ थर्पुमा प्रत्येक वर्ष दशैको महानवमीको दिन नचाईने ऐतिहासिक निशान यस वर्ष पनि भब्यताका साथ नचाइएको छ ।

गत वर्ष कोभिड १९ को कारण इतिहासमै पहिलो पटक रोकिएको निशान नाच यस वर्ष भने ठूलो भिडभाडका साथ प्रर्दशन गरिएको हो । 

राज्य एकीकरण क्रममा पुर्वमा राज्य गरेर वसेका लिम्वुवानका सेनासँग भएको लडाँइमा चौथो पटक सम्म जितहार नभएपछि सम्झौता गरेको ताम्रपत्र सँगै उपहारका रुपमा उपलब्ध गराएका २ वटा निशान नचाउने उत्सब भब्यताका साथ प्रर्दशन गरिएको हो । निशान मौलोलाई ब्यवस्थित गर्न गाउँपालिकाले पूर्वाधार विकाशको लागि आर्थिक सहयोग गर्दे आएको गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरले बताउनुहुन्छ । 

आगामी दिनमा पनि आवश्यकता अनुरुप पूर्वाधार विकाश तथा प्रचार प्रसार प्रर्वद्धनमा पालिका लाग्ने गाउँपालिका उपाध्यक्ष कमल कुमारी योङहाङ बताउनुहुन्छ । कालिकाधाम मन्दिर,तथा निशान मौलो परिषरमा घेराबारा निर्माण,कम्पाउण्ड वाल लगायतको काम स्थानिय सरकारले गरी निशान मौलो क्षेत्रलाई ब्यवस्थित गरिएको पालिका अध्यक्ष घिमिरेको भनाई छ । आवश्यकता अनुसार अझै निशान मौलो क्षेत्रलाई ब्यवस्थित गर्दे लगिने गाउँपालिका उपाध्यक्ष योङहाङले बताउनुभयो ।

नेपाल राज्य एकीकरणका क्रममा साह पक्षीय सेनाले प्रयोग गरेका हात हात हतियार सहितका २ वटा निशान नवरात्रको महानवमीमा प्रदर्शन गर्ने गरिन्थ्यो ।

युद्धकै शैलीमा पुराना शस्त्र अस्त्र सहित जंगे र श्रीकम्फु निशान बोकेर नाच्दै देखाइने यो निशान नाच देखाइन्छ ।

याङवरक ४ काली मन्दिर क्षेत्रमा लगाइदै आएको यो उत्सवलाई १ नम्वर प्रदेशकै सबैभन्दा ठुलो र ऐतिहासिक रुपमा लिने गरिन्छ । जसको अवलोकन गर्न नेपालको पुर्वी भागका अधिकांश जिल्लासँगै भारतको सिक्किम दार्जिलिङ र भुटानसम्मबाट दर्शनार्थी आउने गर्दछन् ।

नवरात्र शुरुभएसँगै घटस्थापनाकै दिनबाट विधिवत रुपमा पुजा आरधना शुरु गर्दै महानवमीमा प्रदर्शन गरिने खुँडा र खुकुरी सहितका युद्धकालिन हतियार १८३१ केहि समय पाँचथरको याङवरकमै राखिएकोमा १८८० मा श्रीकम्फु र १९१२ मा श्रीजंग निशान सहितका हतियार तत्कालिन लिम्बु लडाकुका प्रतिनिधिलाई उपहार स्वरुप उपलव्ध गराए पश्चात नियमित रुपमा प्रदर्शन गरिएको याङवरक ४ का वडा अध्यक्ष तथा निशान मेला बजार ब्यवस्थापन समितीका अध्यक्ष शहरनन्द योङहाङ बताउनुहुन्छ । 

निशान विशेष ध्वजा पतकाले सुसज्जित झण्डा जस्तै हुन्छ । हरेक वर्षको दशैंका बेला नौरथा सुरु भए देखि विषेश पुजा आज गरी महानवमीका दिन निशान निकाल्ने र प्रदर्शन गर्ने गरिन्छ । 

याङवरकको निशान भने सबै भन्दा पुरानो ईतिहास बोकेको निशान मानिन्छ । याङवरकमा श्रीकम्पु र श्रीजंगी गरी दुईवटा निशान छन् । २ ओटै निशानलाई हरेक वर्ष बडादशैंको नवमीका दिन प्रदर्शन गरिनुका साथै नचाउने पनि गरिन्छ । नचाउदै छुट्टाछुट्टै मौलोमा मार हानेर भोगचलन दिईन्छ । निशान नचाइसके पश्चात सुब्बाहरुले पहिल्यै आ आफ्नै घरमा निशान लगेर राख्ने गर्दथे भने अहिले कुटी बनाएर त्यसलाई ब्यवस्थित गरिएको समितीका सहसचिव अशोक खेबाङ बताउनुहुन्छ । 

उक्त निशान ती सुब्बाहरुलाई मालपोत तिरो बुझ्ने अधिकार सहित शाह राजाहरुले प्रदान गरेको जानकारहरु बताउछन् । बाजागाजा, बन्दुक, विभिन्न हातहतियारहरु पनि निशानकै साथमा बुझिलिएका हुन् । बुझिलिनेमा श्रीकम्पु तर्फ १३ थरीका २२ सुब्बा र श्रीजङ्गी तर्फ १६ थरीका ५२ सुब्बा रहेको पाइन्छ । याङवरकमा रहेका दुई वटा निशानलाई एकीकृत गरी अहिले एउटै समिती बनाई काम गरिरहेको श्रीकम्पु श्रीजङ्गी समितीका सचिव महेन्द्र सेलिङ बताउनुहुन्छ । 

निशान खास सैन्य सुरक्षा गुल्म जस्तै सिमा सुरक्षाको लागि दिइएको जानकारहरु बताउछन् । 

विगत लामो समयदेखि पुजारीको जिम्मेवारी सम्हाल्दै आएका बल बहादुर माबोका अनुसार निसान पुजा गर्नलाई दिईएको नभएपनि विभिन्न मनोकाक्षाका साथ यो आएकै वर्षदेखिनै पुजाआजा गर्न थालिएको हो । निसान थानमा विभिन्न देवी–देवताहरुको पुजाआजा गरिदै आएको छ । 

अझैपनि निसान पूज्नाले तथा निसान ढोग्नाले मनले इच्छाएको कुरा पुराहुने विश्वास रहिआएको छ । यहि विश्वासका साथ वर्षेनी हजारौं भक्तजन तथा मेला भर्न आउने सर्वसाधारणको भीड लाग्ने गर्दछ । 

राजधानीमा मचिन्द्रनाथ नचाउँदा राज्यले जसरी लगानी गर्दछ,त्यसरी नै ३ सय वर्ष पुरानो निशान नचाउँदा पनि राज्यको सरसहयोग उत्तिकै हुनुपर्ने समितीका अध्यक्ष रण बहादुर तावा बताउनुहुन्छ । 

विगत वर्षहरु भन्दा निशान मौलो लाई अहिले धेरै ब्यवस्थित गरिएको र अझै पनि ब्यवस्थित गर्दे लैजानुपर्ने स्थानिय अर्जुनदेव स्याङबो बताउनुहुन्छ । 

सर्वसाधारणको उपस्थितिलाई हेर्ने हो भने यस्लाई जिल्लाकै ठूलो मेला मान्न सकिने स्थानीय पर्यटन व्यवसायीहरुको दाबी छ । यातायातको सहजता बढेसंगै निकट भविष्यमा पहाडी क्षेत्रमा प्रदेशकै ठूलो मेला बन्न सक्ने सम्भावना बोकेको  छ । त्यसका लागि भक्तजन तथा दर्शालुहरुलाई मध्यनजर गर्दे पूर्वाधार विकाश,प्रचार प्रसार र प्रर्वद्धन गर्न आवश्यक देखिन्छ । 


Top