बेमौसमी वर्षाको बबण्डरमा १९ जिल्ला प्रभावित, देशभर आठ दर्जन बढीको ज्यान गयो, दर्जनौँ बेपत्ता

बाढीपीडितलाई राहतको घोषणा : मृतकका परिवारलाई दुई लाख, घर बनाउन पाँच लाख सहयोग

डिबी शर्मा   POSTED ON : कार्तिक ४, २०७८ (५:१६ AM)

बेमौसमी वर्षाको बबण्डरमा १९ जिल्ला प्रभावित, देशभर आठ दर्जन बढीको ज्यान गयो, दर्जनौँ बेपत्ता

काठमाडौं । केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परेर देशभर करिब आठ दर्जन व्यक्तिको ज्यान गएको छ । गृह मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन महाशाखाका अनुसार बुधबार अबेरसम्म बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८२ पुगेको हो । महाशाखाले बुधबार अबेर दिएको जानकारीअनुसार तीन दर्जन बढी संख्यामा मानिसहरू अझैं बेपत्ता छन् । महाशाखाले बुधबार अपरान्ह दिएको जानकारीअनुसार विपद्मा परेर दुई दर्जन बढी घाइते भएका छन् । सम्पर्कविहीन व्यक्तिको संख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको महाशाखा प्रमुख हुमकला दाहालले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयसम्म विभिन्न जिल्लाबाट ७०० जनाको उद्धार गरिएको छ । बाढीपहिरो र डुबानबाट देशभर १९ जिल्ला प्रभावित भएका छन् । 

बाढीपहिरो र डुबानबाट सुदूरपश्चिममा सबैभन्दा धेरै असर गरेको छ । जहाँ बाढीपहिरोमा परी २५ जनाले ज्यान गुमाएका छन् । २२ जना अझै बेपत्ता छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले बुधबार अबेर दिएको जानकारीअनुसार डोटीका ११, डडेल्धुराका दुई, बझाङका आठ, बैतडीका चारजनाको मृत्यु भएको हो ।

प्रदेश प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दका अनुसार बझाङको थलारा गाउँपालिका-४ डिख्लामा पहिरोमा परी अझै २० जना बेपत्ता छन् । मंगलबार बिहान गएको पहिरोमा परी सातवटा घर बगेका र २३ जना बेपत्ता भएका उहाँले बताउनुभयो । यसैगरी कैलालीमा एकजना बेपत्ता छन् । 

बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लाको यातायात सेवा ठप्प बनेको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार डोटीको जोरायल गाउँपालिकास्थित बुडरनजिकै भीमदत्त राजमार्गमा पहिरो खस्दा सातैवटै जिल्ला जोड्ने सडक अवरुद्ध बनेको हो । भीमदत्त राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिकास्थित भासु भीरनजिक पनि पहिरो गएको प्रहरीको भनाइ छ । केही ठाउँमा पहिरो पन्छाएर बाटो खोलिएपछि पुनः पहिरो जाने क्रम नरोकिएकोले समस्या भएको प्रहरीले जनाएको छ । सडक मात्रै होइन अधिकांश ठाउँमा विद्युत् र सञ्चार सेवासमेत अवरुद्ध हुँदा क्षतिको यकिन विवरण आउन सकेको छैन ।

 कर्णालीमा एकै परिवारका ६ सहित आठको मृत्यु

कर्णाली प्रदेशमा बाढीपहिरोका कारणले आठजनाको मृत्यु भएको छ कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार बाढीपहिरोका कारणले हुम्लामा एकै परिवारका ६ सहित कालीकोट र सुर्खेतमा एक÷एक गरी सातजनाको ज्यान गएको हो । एकजना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पशु चौपाया र धानबालीमा समेत क्षति पुगेको छ भने कर्णाली राजमार्ग ६ ठाउँमा अवरुद्ध भएको छ । प्रदेशभर बाढी–पहिरोका कारण जोखिममा रहेका ३०० बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रदेश प्रहरीले जनाएको छ । 

प्रदेश १ मा ४९ जनाको मृत्यु, विराटनगर विमानस्थल बन्द

प्रदेश १ मा बाढी र पहिरोका कारण ४९ जनाको ज्यान गएको छ । प्रदेश १ प्रहरी कार्यालयका अनुसार बुधबार अबेरसम्म मृत्यु हुनेको संख्या ४९ पुगेको हो । यो संख्या थप बढ्न सक्ने प्रहरीको भनाइ छ । प्रदेश १ मा अझै १६ जना बेपत्ता छन् । सबैभन्दा बढी पाँचथरमा २१ जनाको मृत्यु भएको छ । इलाममा पहिरोमा परी १३ जनाको मृत्यु भएको भने धनकुटामा पहिरोबाट सातजनाको मृत्यु भएको छ । बाढीपहिरोका कारण सुनसरीमा चार, उदयपुरमा दुई, भोजपुर र मोरङमा एक/एकजनाको मृत्यु भएको छ । सञ्चार सम्पर्कविच्छेद हुँदा पहाडी जिल्लाहरूबाट पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

रातिदेखि नै वर्षा हुने प्रणाली नेपालको पूर्वी भेगतिर सरेसँगै कर्णाली र सुदूरपश्चिममा केही सुधार भएको छ भने पूर्वी नेपालमा क्षति पुर्‍याउन थालेको हो । नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै छ । 

बाढी पसेर प्रभावित बनेको विराटनगर विमानस्थल बिहीबार साँझ ५ बजेसम्म बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा प्रदायकहरूलाई विमानस्थल बन्द रहने समय जानकारी गराएको हो । सोहीअनुसार वायुसेवा कम्पनीले बिहीबारका लागि निर्धारित उडानहरू समेत रद्द गरेका छन् । यता, विमानस्थलमा बाढी पस्दा सोही विमानस्थलमा रोकिएका दुई जहाजसमेत विराटनगरमै अड्किएका छन् । बुद्ध एयरको एक जहाज र श्री एयरलाइन्सको एक जहाज विराटनगरमा रोकिएका हुन् ।

सरकारले राहत दिने

सरकारले बाढी-पहिरोमा परी मृत्यु भएका परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बाढी-पहिरोमा परी निधन भएका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको हो । सरकारले मृतक परिवारमा एक वा त्योभन्दा बढी व्यक्तिको निधन भएमा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले विपद्बाट घर, बहाल नष्ट भएका वा खाद्यान्न बाली तथा जग्गा जमिन तथा व्यवसाय गुमाएका गुजारा चलाउन समस्यामा परेका पाँच जनासम्मको परिवारलाई प्रतिव्यक्ति १५ हजार रुपैयाँ र पाँचजना भन्दामाथि परिवार सदस्य भएको परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बाढी-पहिरोमा परी घाइते हुनेहरूको उपचारको सबै व्यवस्था सरकारले गर्ने र उपचारमा कमी हुन नदिने निर्णय भएको पनि प्रवक्ता कार्कीले बताउनुभयो । यस्तै, घर निर्माणका लागि पाँच लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्न सकिने निर्णय पनि भएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

उहाँले सम्बन्धित मन्त्रालयले विपद्बाट भएको क्षतिको आँकलन गरी यथशीघ्र प्रतिवेदन पेश गर्न पनि निर्णय गरेको छ । त्यस्तै, सडक सञ्जाल, पुल, विमानस्थलमा क्षति भएको भए तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउने व्यवस्था गर्ने, विपद् व्यवस्थापन कोषमा आवश्यक रकम उपलब्ध गराई सञ्चालनमा ल्याउने प्रबन्ध मिलाउने, विपद् प्रभावित क्षेत्रमा रोग फैलिन नदिन रोकथामका आवश्यक उपायहरू अपनाउने, विपद् प्रभावितहरूको उद्धार तथा राहत कार्यमा सहयोग र समन्वय गर्न प्रदेश, स्थानीय तहलाई अनुरोध गर्ने पनि निर्णय भएको छ । त्यस्तै, बैठकले जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमानसम्बन्धी सूचनालाई ध्यान दिई सतर्कता अपनाउन अनुरोध गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । बैठकले विपद्को घटनालगत्तै उद्धार र हेरविचार गर्ने, राहत उपलब्ध गराउने, उपचार गर्ने, सुरक्षा दिने समाचार सम्प्रेषण गर्ने कार्यमा लाग्न सुरक्षा निकाय, तथा प्रशासनिक संयन्त्र र जनप्रतिनिधिहरूलाई अनुरोध गरेको छ ।

प्रवक्ता कार्कीले बाढी-पहिरोबाट भएको क्षतिको पूर्ण आँकलन गरेर पहिला उद्धार, राहत र पुनःस्थापनाको काममा लाग्ने बताउनुभयो । उहाँले सरकारले गरेका निर्णयहरूलाई तत्काल कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग निधिको आग्रह



अविरल वर्षासँगै आएको बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुःख व्यक्त गर्नुभएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै उपसभापति निधिले यो विपद्को घडीमा उद्धार र राहतको कार्यलाई शीघ्रातीशीघ्र अघि बढाउन तीन तहकै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ, ‘बाढीका कारण जोखिममा परेका व्यक्तिहरूलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्दै राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । साथै, यो विपतको घडीमा प्रदेश र स्थानीय सरकारहरूलाई आ-आफ्नो ठाउँबाट उद्धार र राहतमा जुट्न आग्रह गर्दछु । देशभरका पार्टीका साथीहरूलाई पनि बाढीपहिरो पीडितको उद्धारमा जुट्न आह्वान गर्दछु ।’

यसैगरी बाढीपहिरो र वर्षाका कारण अवरुद्ध सडक, विद्युत् र सञ्चार सेवा तत्काल सञ्चालनको व्यवस्था मिलाउन पनि उहाँले सरकारलाई आग्रह गर्नुभएको छ । वर्षाले अन्नबाली नष्ट गरेको भन्दै निधिले क्षतिको अध्ययन गरी पीडित किसानलाई राहतको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 


Top