१२औँ राष्ट्रिय जनगणना आजबाट सुरु हुँदै

राष्ट्रपतिको गणनाबाट शुभारम्भ गरिने

हिमालय टाइम्स   POSTED ON : कार्तिक २५, २०७८ (४:५० AM)

१२औँ राष्ट्रिय जनगणना आजबाट सुरु हुँदै

काठमाडौं । प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना आजदेखि सुरु हुँदैछ । यसका लागि सम्पूर्ण तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय तथ्यांक विभागले जनाएको हो । यसपटकको जनगणनाको मूलनारा ‘मेरो गणना, मेरो सहभागिता’ रहेको छ ।

बिहीबार बिहान ९ बजे राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी जनगणनाको सुरुवात गरिने भएको छ । त्यसपछि गणकहरू बिहान ११ बजे प्रधानमन्त्री शेरबहादुर देउवा र दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा पुग्ने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताउनुभयो ।

जनगणना कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १५ दिनको अवधिमा गरिँदै छ । जनगणना सञ्चालन गर्नका लागि देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको श्रेष्ठले जानकारी दिनुभयो । काठमाडौं जिल्लामा पाँचवटा जनगणना कार्यालय स्थापना गरिएको र धेरै जनसंख्या भएका जिल्लाहरू मोरङ, झापा, सुनसरी, ललितपुर, रुपन्देही र कैलालीलगायत जिल्लामा दुई÷दुईवटा जिल्ला जनगणना कार्यालय रहेको महानिर्देशक श्रेष्ठले बताउनुभयो । जनगणनाका लागि देशभर ४० हजार गणक र आठ हजार ५०० सुपरिवेक्षकहरू परिचालन हुने उहाँले बताउनुभयो ।

महानिर्देशक श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रूपमा आवतजावत गर्न दिएमा भौतिक रूपमा उपस्थित भएर जनगणना गरिने र त्यसरी आवतजावत गर्न नदिएमा अन्य स्रोतहरूको प्रयोग गरेर जनगणना गरी सो क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले संघीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना भएकाले यो जनगणनाको निकै महत्व रहेको बताउनुभयो । सबै तहमा चाहिने खण्डीकृत विवरणहरू जनगणनाबाट आउने बताउनुभयो । आगामी दिनमा विकासका योजना तर्जुमा गर्न र बजेट बनाउनका लागि यो जनगणना माउग्रन्थको रूपमा रहने उहाँले बताउनुभयो । 

काठमाडौं महानगरपालिकासहित काठमाडौंका ६ वटा नगरपालिकामा डिजिटल पद्धतिमा आधारित क्यापिविधि प्रयोग गरी ट्याबलेटबाट विवरण संकलन गरिने तथ्यांक विभागले जनाएको छ । साथै विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा ई-सेन्सस विधि अपनाई वेबसाइट एप्लिकेसनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिहरूको जनगणना संकलन गरिने भएको छ । १२औँ जनगणनाका लागि ८० वटा प्रश्न तयार पारिएको छ । यी प्रश्नको जवाफ लिन गणकलाई एउटै घरमा करिब-करिब ३० मिनेट लाग्नेछ ।

Top