बिओपी निर्माणका लागि कानुनविपरीत सशस्त्रद्वारा बोलपत्र आहृवान

हिमालय टाइम्स   POSTED ON : कार्तिक २५, २०७८ (९:०२ AM)

बिओपी निर्माणका लागि कानुनविपरीत सशस्त्रद्वारा बोलपत्र आहृवान

काठमाडौं । सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बिओपी) निर्माणका लागि कानुनविपरीत बोलपत्र आहृवान गरेको निर्माण व्यवसायीले आरोप लगाएका छन् । सशस्त्र प्रहरीले सार्वजनिक खरिद (पाँचौँ संशोधन) नियमावली, २०७३ का प्रावधानविपरीत बोलपत्र आहृवान गरेको उनीहरूको आरोप छ । कानुनविपरीत बोलपत्र आहृवान गरेर ठूला कम्पनी र आसेपासेलाई ठेक्का पार्ने चलखेल गरिएको उनीहरूको दाबी छ । दुई करोडमुनिको बोलपत्र आहृवान गर्दा सशस्त्रले कानुनविपरीत पूर्व-शर्त राखेर बोलपत्र आहृवान गरेको एक व्यवसायीले हिमालय टाइम्सलाई बताउनुभयो । उहाँका अनुसार बोलपत्रमा जिल्ला दररेटसमेत उल्लेख गरिएको छैन । 

सार्वजनिक खरिद नियमावली, २०७३ को मा निर्माण व्यवसायीको योग्यताका आधार तोकिएको छ । नियम २६ (१) मा दुई करोडभन्दा माथिको निर्माण कार्यसम्बन्धी खरिद कारबाहीमा भाग लिने बोलपत्रदाताको वा पूर्व–योग्यताको प्रस्तावदाताको योग्यताको आधार निर्धारण गर्नुपर्ने उल्लेख छ । तर, कात्तिक ४ गते सशस्त्र प्रहरी बल नेपालले आहृवान गरेको बोलपत्रमा कुनै पनि बिओपी निर्माण गर्नका लागि दुई करोड रकम तोकिएको छैन । तर, पूर्व–शर्त भने राखिएको छ । सशस्त्रले ६ जिल्लाका २१ वटा स्थानमा बिओपी निर्माणका लागि गत कात्तिक ४ गते बोलपत्र आहृवान गरेको थियो । 

पूर्व–योग्यता संशोधन गर्न माग गर्दै निर्माण व्यवसायीले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पत्राचारसमेत गरेका थिए । तर, पत्राचार गरेको दुई साता बढी भइसक्दासमेत कुनै जवाफ नआएको व्यवसायीले बताएका छन् । बोलपत्र आह्वान भएको तीन दिनपछि नै महासंघको तर्फबाट पत्राचार गरिएको हो,’ एक व्यवसायीले हिमालय टाइम्ससँग भन्नुभयो, ‘पत्रको बोधार्थ गृहसचिव टेकनारायण पोण्डेलाईसमेत बोधार्थ पठाएका थियौँ । तर, हालसम्म कुनै जवाफ आएको छैन ।’ 

‘सार्वजनिक खरिद ऐन २०६३ को दफा १० को उपदफा ५ मा व्यवस्था भएअनुसार दुई करोडभन्दा कम लागतको निर्माण कार्यको हकमा कुनै पनि योग्यता नचाहिने भएकाले उक्त ठेक्का प्रणालीमा सीमित व्यवसायीलाई मात्र हुने गरी योग्यता तोकिएको र उक्त सूचनामा प्रकाशित विभिन्न कार्यको योग्यता सार्वजनिक खरिद ऐन २०६३ विपरीत भएको र उक्त कार्यमा प्रयोग हुने निर्माण सामग्री कुनै पनि जिल्लामा दररेट समितिबाट पास नभएकाले अहिलेसम्म उक्त निर्माण कार्य पनि नभएको हुँदा उक्त योग्यता संशोधन गरेर पुनः बोलपत्र आहृवान गर्न अनुरोध गरिन्छ,’ सशस्त्र प्रहरी महानिरीक्षकलाई प्रेषित पत्रमा भनिएको छ ।

Top