‘दीप–गोविन्द स्मृति सम्मान कोष’ द्वारा सम्मान अर्पण

हिमालय टाइम्स   POSTED ON : कार्तिक २९, २०७८ (५:२४ PM)

‘दीप–गोविन्द स्मृति सम्मान कोष’ द्वारा सम्मान अर्पण

काठमाडौं । साहित्य र पत्रकारिताका क्षेत्रमा योगदान दिने तीन व्यक्तित्वलाई राजधानीमा एक समारोहका बीच ‘दीप–गोविन्द स्मृति सम्मान कोष’ले वि.सं. २०७८ सालका सम्मान अर्पण गरेको छ । साहित्यतर्फ दीप–गोविन्द स्मृति सम्मानबाट डा. ज्ञानु पाण्डे र ध.च. गोतामे स्मृति सम्मानबाट अनुपमा रेग्मी सम्मानित हुनु भएको छ भने पत्रकारितातर्फ गोपाल गोतामे स्मृति सम्मानबाट अनिता बिन्दु सम्मानित हुनुभएको छ ।

साहित्यकार रोशन थापा ‘नीरव’का अनुसार छ दशक साहित्य साधनामा व्यतीत गर्नुभएकी ज्ञानु पाण्डेलाई नेपाली समालोचना लेखनका क्षेत्रमा आफ्नो विशिष्ट परिचय स्थापित गरी नेपाली समालोचना साहित्यको उन्नतिमा महत्त्वपूर्ण योगदान पु¥याएबापत  दीप–गोविन्द स्मृति सम्मानबाट सम्मानित गरिएको हो भने नेपाली साहित्यको समालोचना क्षेत्रमा सशक्त नारी लेखकका रूपमा आफ्नो स्मरणीय उपस्थितिलाई प्रस्तुत गर्न सक्षम भएकाले अनुपमा रेग्मीलाई ध.च. गोतामे स्मृति सम्मानबाट सम्मानित गरिएको हो । त्यस्तै नेपाली सञ्चार जगत्मा निरन्तर योगदान पु¥याउनु हुँदै नेपाली पत्रकारिता क्षेत्रमा सबल रूपमा आफ्नो रचनात्मक भूमिका निर्वाह गर्नुभएकाले अनिता बिन्दुलाई गोपाल गोतामे स्मृति सम्मानबाट सम्मानित गरिएको हो । 

सम्मानित स्रष्टाको तर्फबाट डा. ज्ञानु पाण्डेले भन्नुभयो, ‘ध्रुवचन्द्र गौतमजस्तो श्रद्धेय स्रष्टाको बुवाआमाको नाममा स्थापित सम्मानबाट सम्मानित हुन पाउनु गर्वको कुरा हो । हामी सम्मानित सबै गौरवान्वित भएका छौँ ।’ डा. पाण्डेले सम्मान अर्पणलाई सहज बनाउने संस्था उपलब्धि सहकारी बारेमा भन्नुभयो, ‘आफ्ना शेयर सदस्यको सामाजिक र सांस्कृतिक पक्षसँग जोडिएर यस सहकारीले गरेका कार्यहरू देख्दा निकै खुसी लाग्यो । साहित्यिक मर्मलाई पनि बुझेर यसले गरेका कार्यहरूको म प्रशंसा गर्दछु र आगामी दिनमा अझ उत्तरोत्तर प्रगति गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु । 

‘दीप–गोविन्द स्मृति सम्मान कोष’ले प्रत्येक वर्ष अर्पण गर्दै आएको ध.च. गोतामे–गोपाल गोतामे शिक्षा पुरस्कार भने यस वर्ष उनान्सय वर्षीय जनकप्रसाद राजभण्डारीलाई उहाँको जन्मदिनको पूर्व सन्ध्यामा नखिपोटस्थित उहाँकै निवासमा अर्पण गरिएको थियो । उहाँलाई यो सम्मान लामो समयसम्म तराईमा बसेर शिक्षा क्षेत्रमा पु¥याएको योगदानका लागि दिइएको थियो ।  

वरिष्ठ आख्यानकार डा. ध्रुवचन्द्र गौतमद्वारा स्थापित/संरक्षित यी सम्मानहरू उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मार्फत प्रत्येक वर्ष प्रदान गरिन्छ ।  



Top