नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपालसहितका देशलाई उच्च सतर्कता अपनाउन सुझाव

हिमालय टाइम्स   POSTED ON : मंसिर १२, २०७८ (८:४३ PM)

नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपालसहितका देशलाई  उच्च सतर्कता अपनाउन सुझाव

काठमाडौ । विश्व स्वास्थ्य सङ्गठन (डब्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९)  नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेसँगै नेपालसहित दक्षिण पूर्वी एसियाका देशहरूलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।

शुक्रवार एउटा विज्ञप्ति प्रकाशित गर्दै उसले उक्त भेरियन्टमा धेरै उत्परिवर्तनहरू र तीमध्ये केही चिन्ताकारक भएको जनाएको थियो ।

यो भेरियन्ट नोभेम्बर ९ मा सङ्कलित नमुनामा पहिलो पटक फेला परेको हो।विभिन्न राष्ट्रहरूले दक्षिण अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएपछि त्यहाँको विदेश मन्त्रालयले यस्तो प्रतिक्रिया व्यक्त गरेको हो।

प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोनबाट सङ्क्रमण फैलिन सक्ने सम्भावना उच्च छ।

विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार यो नयाँ भेरियन्टलाई "भेरियन्ट अफ कन्सर्न" का रूपमा वर्गीकरण गरेको थियो।

कोभिड-१९ को यो नयाँ भेरियन्ट यूके, जर्मनी, बेल्जियम र इटलीमा पनि फेला परेको छ भने चेक रिपब्लिकमा पनि यो भेरिअन्ट पुगेको आशङ्का गरिएको छ।

ओमिक्रोन भेरियन्ट पुष्टि भएको इजरेलले आइतवार मध्यरातबाट विदेशीहरूलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ।

ओमिक्रोन भेरिअन्ट बोत्स्वाना र हङ्‌कङ पनि पाइएको छ।

दक्षिण अफ्रिकाबाट नेदरल्यान्ड्स आइपुगेका सयौँ यात्रुहरूको परीक्षण गरिराखिएको छ।

वायुसेवा कम्पनी केएलएमका दुईवटा उडानमा झन्डै ६१ जना यात्रुहरूमा कोभिड पुष्टि भएको छ र उनीहरूलाई आम्स्टर्डामको शिपल विमानस्थलनजिकै एउटा होटलमा क्वारन्टीनमा राखिएको छ।
नोभेम्बर २४ तारिखमा पहिलो पटक दक्षिण अफ्रिकाले यो भेरिअन्टबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराएको थियो।डब्ल्यूएचओका दक्षिण पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले ओमिक्रोन भेरियन्ट जोखिमपूर्ण रहेको भन्दै सामाजिक दुरी, मास्क अनिवार्य, खोप अभियान प्रभावकारी रूपमा सञ्चालनका कार्यलाई उच्च प्राथमिकता दिन आग्रह गर्नु भएको छ ।
यसैबीच  नेपालले दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाईयात्रुलाई अनिवार्य क्वारन्टीन राख्ने निर्णय गरेको छ।नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सीधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने यात्रुलाई एक साताको क्वारन्टीन अनिवार्य गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले जानकारी दिनु भएको छ ।


Top