गलैंचा–कार्पेट उद्योगमा बालश्रमको प्रयोग सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

हिमालय टाइम्स   POSTED ON : मंसिर १३, २०७८ (२:१२ PM)

गलैंचा–कार्पेट उद्योगमा बालश्रमको प्रयोग सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौं । तयारी पोशाक तथा गलैंचा उद्योगमा बालश्रमको प्रयोग सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । बाल विकास समाजका अध्यक्ष सुवास गौतमको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरिएको हो । 

कार्यक्रममा प्रमुख अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव सुमन घिमिरे र अतिथि वल्र्ड भिजन ईन्टरनेशनल नेपालको प्रतिनिधि दिलिपराज गिरि हुुनुहुन्थ्यो ।

 कार्यक्रमको सुरुवातमा बाल विकास समाजका प्रवन्ध निर्देशक कृष्णप्रसाद सुवेदीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरेले नेपालमा श्रमको अवस्था हेर्दा कृषिमा धेरै बाल श्रमीकहरु रहेको बताउँदै न्यूनिकरणका लागि यससँग सम्बन्धित संस्थाहरुले एकअर्का प्रति हातेमालो गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले वर्तमान शिक्षा प्रणालीमा पनि सुधार आवस्यक रहेको बताउँदै भन्नुभयो, ‘हामीले शिक्षा मात्र भनेर पुग्दैन जीवन उपयोगी शिक्षा अहिलेको आवश्यकता हो ।’

उहाँले तथ्यांकमा बाल श्रमको दर घट्दै गइरहेको देखिए पनि जीवनोपयोगी शिक्षा नै बाल श्रम उन्मुलनको प्रमुख काइदा हुने बताउनु भयो । यसको जिम्मेवारी स्कुल, कलेजको मात्र नभएर बालबालिकाका अभिभावक पनि त्यसका लागि तयार हुनु पर्ने उहाँको भनाइ थियो । 


तयारी पोशाक तथा गलैंचा उद्योगमा गरिएको अध्ययनको सारांश प्रतिवेदन श्रम तथा रोजगार कार्यालय प्रमुख सुजन जोजिजुले प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा नेपालमा हाल बालश्रमको अवस्था र बालश्रम मुक्त पालिका घोषणा कार्यविधि सम्बन्धमा भोजराज घिमिरेले प्रस्तुतीकरण  गर्नुभएको थियो ।

गलैचा श्रमिकहरुको अवस्था हेर्दा लैङ्गिक रुपमा ज्यालादर निर्धारण, ज्याला न्यून रहेको र समयमा नहुने बारेमा सहभागिहरुले जिज्ञासा राख्नु भएको थियो ।

अनुसन्धानका लागि केन्द्रीय तथ्याङ्क विभाग र त्रिभुवन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले मुख्य भुमिका निभाउनु भएको थियो ।

अनुसन्धान प्रतिवेदनबाट निस्केका तथ्याङ्कहरु आगामी दिनका साझेदार संस्थाहरु र सम्बन्धित सरोकारवाला निकायहरुलाई समेत कार्ययोजना तयार पार्न सहयोग पुग्ने बारेमा छलफल भएको थियो ।

बालश्रम अन्त्यको लागि स्थानीय तह र जनप्रतिनिधिहरुको प्रभावकारी भुमिका रहने भएकोले स्थानीय तहको सकृयता बढाउन आवश्यक रहेको बारेमा प्रमुख अतिथि घिमिरेले सुझाव दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, किर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, वडा कार्यालय २२ बुङ्गमति, अन्तर्राष्ट्रिय श्रम संगठन प्रतिनिधि, तयारी पोशाक संघको प्रतिनिधि, कन्सोर्टियम नेपाल, बाल संरक्षण समिति, विभिन्न संजालको प्रतिनिधिहरु, वल्र्ड भिजन ईन्टरनेशनल नेपालका प्रतिनिधि र बाल विकास समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


Top