17th April | 2021 | Saturday | 11:30:39 PM

छानेर गाउने गरेको छु

शिव परियार/गायक

  POSTED ON : भदौ १, २०७४ (५:१६ AM)

छानेर गाउने गरेको छु

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रका चर्चित गायक शिव परियारले गायनक्षेत्रलाई व्यावसायिक बनाएर अगाडि बढिरहेका छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने गायन क्षेत्रलाई नै व्यावसायिक रूपमा अगाडि बढाइरहेका कलाकारहरू निकै कम छन् जसमध्ये शिव परियार पनि वर्षौंदेखि व्यावसायिकरूपमा यही क्षेत्रमा अँगालिरहेका छन् । उनका विशेषतः गजल गीतहरू दर्शकले बढी रुचाएको पाइन्छ । शिव पछिल्लो समय देश तथा विदेशका कार्यक्रममा खुवै व्यस्त हुने गर्छन् । अहिले पनि उनी अमेरिकामा भइरहेको ‘फेस्टिबल अफ ग्लोबल’ कार्यक्रममा पुगेका छन् । यसैबीच गायक शिव परियारले कार्यक्रम जानुपूर्व एक अवार्ड कार्यक्रममा भेट हुने क्रममा हिमालय टाइम्सका गीतसंगीत र उनका केही व्यक्तिगत प्रश्नमा आफ्ना कुरा साटेका छन् । 

तपाईं त अवार्डहरू धेरै पाउनु हुन्छ । नोमिनेसनमा पर्नु नौलो लाग्दैन होला ?  

हैन त्यस्तो त लाग्दैन । तर हामीले नेपालमा पाउने अवार्ड अवमूल्य नै हुने गरी त पाएका छैनौं तर पनि दर्शकले मन पराउनुभएका गीतबाट अवार्ड पाउँदा खुसी लाग्छ । आफूले गरेको कामलाई एउटा सही तरिकाले मूल्यांकन गर्दा खुसी लाग्छ । मान्छेको मन कहिल्यै सन्तुष्ट हुन सक्दैन, अब अवार्ड नै पाउनुपर्छ भन्ने उद्देश्यले त हामीले काम गर्दैनांै तर आफूले गरेको राम्रो कामलाई अवार्डमै नोमिनिज हुँदा त्यसबाट काम गर्न हौसला मिलेको जस्तो हुन्छ । 

अहिले गीत गाउन कम गर्नुभएको हो ? 

गीत गउनका लागि पछिल्लो समय धेरै अफर आउँछन् तर जस्तोपायो त्यस्तै गीत गाउँदा आफैंलाई समस्या पर्छ भनेर हो । किनकि गीत कस्तो छ थाहै नपाई गाइहाल्नु पनि राम्रो होइन जस्तो लाग्छ । त्यसैले गीत छान्न थालेको हुँ । म चाहिँ जनरालाई अलि फरक हिसाबले देखाउन चाहन्छु । नयाँ प्रयोग गर्ने प्लानमा छु । सुरुमा गाउँदा पनि फरक तरिकाले नै गाएको थिएँ । अबको जनरालाई १० वर्षअघिकै शैली नदिएर आधुनिक गीत, नवीनतम गीत दिने सोचमा छु र अहिलेका श्रोतालाई आजकै अत्याधुनिक शैलीमा अभ्यस्त गराएर नेपाली गीत गाउने सोचमा छु र निकट भविष्यमै तपाईंले त्यो काम देख्न सक्नुहुनेछ । 

पछिल्लो यो वर्षको कुरा गर्दा पनि खासै धेरै गीत गाइन । सन् २०१५ मा गाएको गीत ‘पिलायो साथीले’ ले अझै पनि चर्चा पाइरहेको छ र २०१६ मा रेकर्ड गरेको गीत हो ‘नभेटी नभेटी’ । मैले शब्दले मन नछोएसम्म गीत नगाउने निर्णय गरेको छु त्यसैले यो वर्ष पनि धेरै गीत गाएको छैन  

गीत गाएरै धेरै आम्दानी गर्नुभएको छ रे नि । नेपालमा गायकलाई आम्दानी गर्न कत्तिको गाह्रो छ ?  

आम्दानी हरेक क्षेत्रमा हुन्छ । गायनक्षेत्रको कुरा गर्दा राम्रो छ । तर राम्रो गर्न सक्नुपर्छ । गायक हुँ भनेर जस्तो पायो त्यस्तै गीत गएर संख्या मात्र बढाएर पनि हुँदैन । जे होस गीत गाएर जनताको मन जित्न सक्नुपर्छ । यदि राम्रो गीत बजारमा पु¥याएर विश्वास जित्न सक्नुभयो भने तपाईं राजा नै बन्न सक्नुहुन्छ । मेरो हकमा कुरा गर्ने हो भने अहिले पनि आम्दानी राम्रो छ । अहिले आम्दानी धेरै छ खर्च पनि धेरै नै छ । पहिले आम्दानी कम हुन्थ्यो खर्च पनि कम हुन्थ्यो । जे होस् समग्रमा पुगेकै छ । 

सेलिब्रेटी भइसकेपछि त्यही खालको सेलिब्रटीको स्टाटस मेन्टेन गर्नुपर्छ । संगीतमा लगानी गर्छु । सबै कमाइ गोजीमा राख्दैनांै । व्यक्तिगत रूपमा लगानी गरेर गीत भिडियो बनाउँछु । कुनै समय राम्रै कमाएको पनि छु । मेरो घरायसी खर्च पनि अलि बढी नै हुन्छ, ठगेर खाएको छैन । जिम्मेवार नागरिकको रूपमा कमाएर खाएको छु ।


पछिल्लो समय गायन प्रतिभाका लागि रियालिटी शो ‘नेपाल आइडल’ चलिरहेको छ । कत्तिको हेर्नुहुन्छ अनि कस्तो लाग्छ ?  

राम्रो लाग्छ, म हेर्ने गर्छु । धेरैले मलाई जजको आधारमा प्रश्न पनि गर्नुहुन्छ । मलाई पनि जजका लागि धेरैले प्रस्ताव गर्नुहुन्छ तर जजको प्रस्ताव स्वीकार्ने गरेको छैन । नयाँ जेनेरेशनमा कस्ता–कस्ता प्रतिभाहरू आउँदैछन् भन्ने नेपाल आइडलले आँकलन दिन्छ । नेपाल आइलडमा यसले जित्ने यो खतरा यो मात्रै राम्रोभन्दा पनि टप १५ सम्म पर्न सकेका प्रतिभालाई मेरो शुभकामना छ । यो नेपाली संगीतमा उहाँहरू आउनुपर्छ भन्न चाहन्छु । ठिकै गर्नुभएका प्रतिभालाई पनि सुध्रिएर आउनुहोस् भन्न चाहन्छु । पछिल्लो समय आइडल निकै नै कन्ट्रोभर्सी भइराछ तर पनि म चाहिँ यसलाई विवादको नजरले हेर्दिन । तपार्इंलाई जो मन पर्छ उसलाई भोट गर्नुस् । भोट पाएर जित्दैमा सबै हुने होइन त्यसपछि फेरि ठूलो संघर्ष सुरु हुन्छ । अतः उहाँहरूलाई नेपालमा अवसर एकदम कम छ र तपार्इंले एउटा प्लाटफर्म पाउनुभएको छ । र नेपालको गीत संगीत क्षेत्रका लागि लामो यात्रा बनाउन मेहनत गर्नुस् मेरो सपोर्ट तपाईंलाई छ भन्छु । 

प्रस्तुति : गोपिकृष्ण चापागाईं ।



Views: 304