18th April | 2021 | Sunday | 12:06:35 AM

नेपालको वन हेर्नमात्रै हो, अर्बौंको फर्निचर र काठ आयात हुुन्छ

  POSTED ON : भदौ २७, २०७६ (१०:०२ AM)

नेपालको वन हेर्नमात्रै हो, अर्बौंको फर्निचर र काठ आयात हुुन्छ

हरियो वन, नेपालको धन नारामात्रै सीमित हुँदै आएको छ । किनभने वन जंगलमा नेपाल धनी भए पनि अधिकांश काठ विदेशबाट आयात हुने गरेको छ । फर्निचर पनि उल्लेख्यमात्रामा आयात हुने गरेको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघका अनुसार कूलखपतको झण्डै ६० प्रतिशत आयात नै हुने गरेको छ । 

फर्निचर तथा फर्निसिङ क्षेत्रमा वार्षिक ४० अर्ब रुपैयाँबराबरको कारोबार हुने गरेकोमा झण्डै २० अर्ब रुपैयाँबराबरको सामान आयात हुने गरेको छ । वार्षिक ५ अर्बदेखि ७ अर्ब रुपैयाँबराबरको काठमात्रै आयात हुने गरेको छ । काठ तथा फर्निचर स्वदेशीभन्दा सस्तो भएकै कारण आयात हुने गरेको हो । नेपालको वन हेर्नमात्रै पाइने, प्रयोग गर्न नपाइने भएका कारण यस्तो अवस्था आएको फर्निचर व्यवसायी बताउँछन् । कच्चा पदार्थ, प्रविधि, पुँजी र दक्ष जनशक्तिको अभावबीच गुज्रिँदै आएको नेपाल काठ तथा फर्निचरमा कहिले आत्मनिर्भर हुने हो, भन्न सकिने अवस्था नरहेको संघका अध्यक्ष रूपेश प्रधानले बताएका छन् । 

मुलुकभर १० हजारभन्दा बढी व्यवसायीको सलग्नता रहेको र ५ लाखभन्दा बढीले रोजगारी पाइरहेका भए पनि आधा दक्ष कामदार भारतीय रहेका उनले बताए । प्रस्तुत छ, यिनै विविध विषयमा हिमालय टाइम्सका लेखनाथ पोखरेलले प्रधानसँग गरेको कुराकानी–ः

फर्निचर तथा फर्निसिङ व्यवसायको अवस्था कस्तो छ ?

नेपालमा पछिल्लो समय फर्निचर तथा फर्निसिङ व्यवस्थाको अवस्था राम्रो हुँदै गएको छ । यसप्रति सबैको आकर्षण बढेको छ, व्यवसाय फस्टाएको छ, जसका कारण फर्निचर तथा फर्निसिङ व्यवसाय गर्नेहरूको संख्या दिनप्रति दिन बढ्दै गएको छ । खासगरी काठमाडौं उपत्याकाभित्र सबैभन्दा ठूलो पसल फर्र्निचर तथा फर्निसिङकै देखिने गरेको छ । काठमाडौं उपत्याका व्यक्तिगत तथा व्यावसायिक भवन निर्माण हुने क्रमसँगै फर्निचर तथा फर्निसिङ सामानको माग पनि बढेको छ । वार्षिक १० देखि १५ प्रतिशतले यसको व्यापार वृद्धि भइरहेको छ ।

फर्निचर तथा फर्निसिङमा आन्तरिक उत्पादनको अवस्था कस्तो छ ?

हालसम्म यो क्षेत्र आयातमुखी नै भन्नुपर्छ, कूलखपतको झण्डै ६० प्रतिशत आयात नै हुने गरेको छ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा वार्षिक ४० अर्ब रुपैयाँबराबरको कारोबार हुने गरेको छ । झण्डै २० अर्ब बराबरको सामान आयात हुने गरेको छ । वार्षिक ५ अर्बदेखि ७ अर्ब रुपैयाँबराबरको काठमात्रै आयात हुने गरेको छ ।

नेपालको काठ चाँहि प्रयोग हुँदैन ?

नेपाललाई हरियो वन, नेपालको धन भन्ने गरिए पनि त्यो नारामा मात्रै सीमित रहँदै आएको छ । नेपाल वन उपयोगका लागि नभई हेर्नका लागिमात्रै उपयोग भइरहेको छ । नेपालमा पर्याप्त वन जंगल रहेको छ तर वन जंगलको व्यवसायीकरण भएको छैन । वनमा ढलेका बूढो रूखमात्रै बिक्री हुने गरेको छ, त्यो काठ पनि समयमै पाइँदैन, सरकारको नीतिनियम पालना गर्नुपर्नेछ, जुन निकै झन्जटिलो रहेको छ, त्यसैले व्यवसायीले धेरैजसो आयातीत काठ नै प्रयोग गर्ने गरेका छन् । काठमात्रै नभई फर्निचर तथा फर्निसिङका लागि आवश्यक कच्चा पदार्थ र दक्ष जनशक्तिसमेत बाहिरैबाट आयात हुने गरेको छ । फर्निचर क्षेत्रमा सरकारको प्रोत्साहनमुखी नीति नभएकाले धेरै समस्या छ ।

स्वदेशीभन्दा आयातीत काठ सस्तो हो ?

हो, आयातीत काठ धेरै सस्तो रहेको छ, सस्तो भएकै कारण आयातीत काठको बढी प्रयोग हुने गरेको हो । एकातिर सस्तो, अर्कोतिर खोजेजस्तो काठ पाइन्छ । कुन प्रयोजनका लागि हो, सोहीअनुसारको काठ पाइन्छ, फर्निचर बनाउने या दलिन बनाउने हो, सोहीअनुसारको काठ पाइन्छ । खासगरी भूकम्पपछि भौतिक संचरना निर्माणसँगै काठको मागसमेत बढेको छ । कम्बोडिया, भियतनाम, रसिया, मलेसिया, भारतलगायतका मुलुकबाट काठ आयात हुने गरेको छ । उल्लिखित मुलुकहरूमा वन जंगलको व्यवसायीकरण भएकाले सस्तो पर्न गएको हो ।

स्वदेशी काठ नै उपयोग गर्ने वातावरण बनाउन के गर्नुपर्छ ?

कि वन जंगलको व्यवसायीकरण हुनुप¥यो कि आवश्यक काठ सहुलितमा उपलब्ध गराउन सक्नुप¥यो, अहिले यो दुवै सम्भावना देखिएको छैन । सरकारले हाइटेक प्रविधिमार्फत रूख उत्पादनको वातावरण बनाउन सकेमा भविष्यमा काठमा आत्मनिर्भर हुन सकिन्छ । 

फर्निसिङमा नेपाल कहिलेसम्म आत्मनिर्भर होला ?

तत्काल फर्निचरमा आत्मनिर्भर हुनसक्ने सम्भावना नरहे पनि फर्निसिङ क्षेत्रमा भने नेपाल आत्मनिर्भरोन्मुख अवस्थामा छ । पछिल्लो समय नेपालमा कार्पेट उद्योगमा विविधकरण सुरु भएको छ । विगतमा नेपालका कार्पेट उद्योगले एउटै किसिमको कार्पेट उत्पादन गर्ने गरेकोमा अहिले विभिन्न किसिमका गुणस्तरीय कार्पेट उत्पादन गर्न थालेका छन् । हाल झण्डै आधा दर्जन कार्पेट उद्योग सञ्चालनमा रहेका छन् भने अझै थपिने क्रम रहेको छ । पिभिसी कार्पेटका पनि २÷३ वटा उद्योग आइसकेका छन् भने म्याटे«स, डोरम्याट, फोमलगायत उद्योग पर्याप्त मात्रामा नेपालमै स्थापना भइसकेका छन् । 

फर्निचर क्षेत्रमा हाइटेक प्रविधि भित्रिएको छैन ? 

१÷२ वटा उद्योगले हाइटेक प्रविधि प्रयोग गरेका छन् तर ९० प्रतिशत उद्योग परम्परागत प्रविधिबाटै सञ्चालन हुँदै आएका छन् । नेपालका हाइटेक प्रविधिका लागि ठूलो लगानी आवश्यक पर्छ तर नेपालमा लगानी अनुसारको प्रतिफल गाह्रो छ । सरकारले उपकरण आयातमा भन्सार छुट दियो भने र उत्पादित सामानको बजारीकरणमा सहयोग गरयो भने हाइटेक प्रविधिको प्रयोग बढ्न सक्छ । 

फर्निचर तथा फर्निसिङ क्षेत्रका प्रवद्र्धनका लागि के गर्नुपर्ला ?

सबैभन्दा पहिले औद्योगिक क्षेत्रको व्यवस्था, सस्तो व्याजदरमा ऋण, १० वर्षसम्म कर छुट, कच्चा पदार्थमा आयातमा भन्सार छुट, हाइटेक प्रविधि आयातमा सहुलियत, दक्ष जनशक्ति उत्पादन, उद्योगमैत्री श्रम नीतिको व्यवस्था हुनुप¥यो । सरकारले आश्वासन दिन्छ तर कार्यान्वयन हुँदैन । श्रम नीतिअनुसार कुनै पनि उद्योगले कामदारलाई हटाउन सक्दैन तर कामदारले काम छोड्न चाहृयो भने उद्योगले रोक्न सक्दैन, यस्तो अवस्थामा कसरी लगानीकर्ता आकर्षित हुनसक्छन् ? वातावरण नभएकै कारण हालसम्म फर्निचर क्षेत्रमा ठूलो वैदेशिक लगानी आउन सकेको छैन । सानो लगानीका केही चिनियाँ कम्पनीमात्रै आएका छन् । 

फर्निचर तथा फर्निसिङ एक्स्पोको उपलब्धि कस्तो छ ?

फर्निचर तथा फर्निसिङ एक्स्पोले स्वदेशी उत्पादनको प्रवद्र्धनमा महŒवपूर्ण भूमिका खेल्दै आएको छ । एक्स्पोकै कारण नेपालका के कस्ता फर्निचर तथा फर्निसिङका सामान उत्पादन भइरहेका छन् भन्ने जानकारी पाउने गरेका छन् । मेलामा स्वदेशी तथा विदेशी ब्राण्डेड सामान राखिने भएकाले ग्राहकले छनौटको अवसर पाउने गरेका छन् भने व्यवसायी पनि लाभान्वित हुने गरेका छन् । हरेक वर्ष बढ्दो अवलोकनकर्ता र प्रदर्शकको संख्याले पनि मेलाप्रति आकर्षण रहेको स्पष्ट हुन्छ । त्यसैले आगामी दिनमा मेलालाई अन्तर्राष्ट्रियस्तरको बनाउन पहल भइरहेको छ ।

काठमाडौं बाहिर मेला किन गर्नहुन्न ?

हालसम्म काठमाडौं बाहिर फर्निचर तथा फर्निसिङ मेला आयोजना गर्न सकिएको छैन, मुलुक संघीय प्रणालीमा गएसँगै काठमाडौं बाहिर पनि मेला आयोजना गर्नुपर्ने आवश्यकता देखिएको छ । खासगरी उपत्या बाहिरका प्रमुख शहरमा मेला आयोजना गर्न संघले पहल गर्नेछ । 

  




 

 

 


Views: 651