17th April | 2021 | Saturday | 10:49:03 PM

हाम्रो टिम सक्षम र समावेशी पनि छ

हिमालय टाइम्स   POSTED ON : श्रावण १८, २०७७ (१२:१० AM)

हाम्रो टिम सक्षम र समावेशी पनि छ

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचन पेचिलो बन्दै गएको छ । विगतमा सहमतिबाटै नेतृत्व चयन हुँदै आएकोमा पछिल्ला वर्षमा नेतृत्वका लागि व्यापक विवाद हुँदै आएको छ । यस पटक पनि विगत वर्षजस्तै नेतृत्वका लागि दुई प्यानल खडा भएका छन् । खासगरी विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने भएकाले वरिष्ठ उपाध्यक्षको चयनमा व्यापक चलखेल भइरहेको व्यवसायीहरूले बताउने गरेका छन् । 

यही साउन २६ र २७ गतेका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन पर सारिनु त्यसैको परिमाण भएको उनीहरूको दाबी छ । बहुमतका नाममा साधारणसभा तथा निर्वाचन स्थगित गरिएको भन्दै उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल समूहले असन्तुष्टि व्यक्त गरेको छ । त्यसो त ढकाल समूहले तीव्र असन्तुष्टिसहित कार्यसमितिको बैठक माग गरेपछि महासंघले साउन २१ गतेका लागि बैठक बोलाएको छ । वस्तुगततर्फका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल समूहबाट फेरि पनि उपाध्यक्षका प्रत्यासी उमेशलाल श्रेष्ठले भने अर्को पक्षले आफ्नो पराजयको संभावना देखेपछि निर्वाचनको मिति सारेर धमिलो पानीमा माछा मार्न खोजेको आरोप लगाउनुभएको छ, तथापि आफ्नो टिम सक्षम र समावेशीसमेत रहेकाले जित सुनिश्चित रहेको दाबीसमेत गर्नुभएको छ । पारिवारिक राजनीतिक पृष्ठभूमि भए पनि गैरराजनीतिज्ञ व्यक्तित्व श्रेष्ठ महासंघमा निडर र स्पष्टवक्ताका रूपमा चिनिनुहुन्छ । महासंघमा लोभ लालच भएका व्यक्तिको बाहुल्यता रहेकाले महासंघ कमजोर बन्दै गएको उहाँको ठहर छ । प्रस्तुत छ, यिनै विविधि विषयमा श्रेष्ठसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गरेको कुराकानीः 

नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ, चुनावी महोल कस्तो हुँदैछ ?

चुुनावी महोल तात्तिँदै, तात्तिँदै, तात्तिँदै थियो तर पछिल्लो समय प्राविधिक कारणले चुनाव केही दिन अथवा केही महिना सर्ने हो कि जस्तो अवस्थामा छ ।

तय भइसकेको चुनावको मिति सार्नुपर्ने कारण चाहिँ के रहेछ ?

मिति तय भइसकेको हो, सरकारलाई हामीले अनुमतिका लागि पत्र पनि लेख्यौं, त्यतिसम्म ठिकै थियो तर पछिल्लोपटक बहुमत र अल्पमतका आधारमा पत्रको उत्तरको प्रतिक्षा नगरी निर्णय गरियो, त्यसमा हाम्रो विरोध हो । जहाँसम्म जनस्वास्थ्यको कुरा छ, त्यसमा हाम्रो चिन्ता र सरोकार कोही व्यक्तिको भन्दा कम छैन । यदि हामीले विगतको निर्णयानुसार साउन २६ र २७ गते साधारणसभा गर्न सकेको भए सबै प्रकारका स्वास्थ्य सुरक्षा अपनाएर गर्न सकिन्थ्यो, स्वास्थ्य मन्त्रालयमात्रै नभई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सुरक्षा मापदण्ड अपनाएरै गर्न सकिन्थ्यो तर केही साथीहरूले स्वास्थ्यको ख्याल, बाढीपहिरोको ख्याल, यहाँ ख्याल, त्यहाँ ख्याल भनेर कुरा गर्दै हुनुहुन्छ ।

भनेपछि उहाँहरूले स्वास्थ्यकै ख्याल गर्नुभएको हो कि अरू केही छ ?

होइन, वास्तवमा यो हारको मानसिकता हो । जति मैले पानी धमिलो बनाउन सकेँ, त्यति मलाई सजिलो हुन्छ माछा मार्न भन्ने कुरामात्रै हो । त्यसभन्दा बढी अरू केही होइन । स्वास्थ्यको ख्याल तपाइँलाई हुँदैन ? मलाई हुँदैन ? स्वास्थ्यको ख्याल नभए हामी किन मास्क लगाउँछौं ? किन दूरी कायम गर्छौं ? गाडीमा किन तीनजनामात्रै जान्छौं, अझ म त सकेसम्म एक्लै जान्छु । वास्तवमा यो स्वास्थ्यको नाममा अल्पमत र बहुमतको खेलमात्रै हो । त्यो कमिटीमा हामी अलि अल्पमतमा प¥यौं, खासमा त्यो कमिटीलाई अधिकार छैन, दैनिक कामकाजी गर्ने कमिटीमात्रै हो, यत्रो महत्वपूर्ण निर्णय गर्ने कमिटी होइन । जब पहिलेको निर्णयमा साथीहरूले असार ८ गते भयो भनिएको बैठक, जुम मिटिङ भयो भएन, त्यो मेरो जानकारीमा छैन । अधिकांश सदस्यले अधिकार या त स्थायी समितिलाई या त केन्द्रीय समितिलाई दिनुपर्ने माग गरेका थिए तर लेखिएर अर्कै आयो ।

कोनोनाको जोखिममा भन्दा खुला भएपछि चुनाव गर्नु राम्रो होइन र ?

कोरोना कहिले सकिन्छ कहिले ? एक वर्र्ष पर सारौं, के फरक पर्छ र ? म त स्वास्थ्यप्रति चिन्तित मान्छे हुँ नि, स्वास्थ्यको विषयमा बुझेको मान्छे हुँ किनभने म स्वास्थ्य क्षेत्रमै छु । सिधा, सिधा लगेर चैतको २९ गते गर्यांै, सक्किगो नि ? के बेकारमा लडाइँ झगडा गर्नु, के पाउने हो र, त्यो पद पाएर हामीले ? त्यो पदमा म अहिले पनि छु, भोलि पनि हुनेछु । यस्तो कुरालाई साथीहरूले चुनावी रणनीतिकरूपमा लिनुभयो, ठिकै छ, चुनावमा अलिअलि घोचपेच हुन्छ तर चुनावपछि त्यो रहँदैन, चुनावपछि सबै एक हो । जस्तोसुकै भए पनि म चाहिँ मनमा कुरा राखेर हिँड्दिन, मैले यसरी नै लिएको छु ।

विगतमा महासंघमा सहमतिमा नेतृत्व चयन हुने गरेको थियो, अब त्यस्तो संभावना रहेन ?

पक्ष र विपक्षको खेल भएपछि त यस्तै हुन्छ तर म अझै भन्छु, भोलिका दिनमा नयाँ अध्यक्ष आउनुहुन्छ, उहाँ हामी सबैको अध्यक्ष हुनुपर्छ । दुःखको कुरा, अहिले भावी अध्यक्ष पनि पक्ष–विपक्ष गरिरहनुभएको छ, यो एकदमै गलत परिपाटी हो । उहाँले महासंघको विधानको मर्म नबुझेर त्यस्तो गर्नुभएको हो । उहाँले भोलि होष्टाइ साथीहरू फेस गर्नुप¥यो भने के गर्ने ? तर मेरोतर्फबाट के गर्छु भने म त एकदमै सिम्पल मान्छे हुँ, बोलीमात्रै अलि तगडा छ, तित्राजस्तो बोल्छु । मेरो साधारण मान्यता के हो भने राम्रो कामलाई समर्थन गर, नराम्रो कामको विरोध गर । भोलिका दिनमा म त्यही नै गर्छु, नयाँ अध्यक्षको कार्यकालमा पनि म त्यही नै गर्छु । उहाँले राम्रो काम गर्र्नुभयो भने जहिले पनि ताली पिटेर समर्थन गर्छु तर नराम्रो काम गर्न लाग्नुभयो भने उहाँलाई चेतावनी दिएर सावधान गराउँछु ।

तपाइँहरूको टिम चाहिँ के अर्थमा राम्रो भन्ने दाबी गर्नुहुन्छ ?

हेर्नुस्, अहिले हाम्रो टिमको नेतृत्व चन्द्र (चन्द्रप्रसाद ढकाल)जीले गर्नुभएको छ । मभन्दा धेरै सानो भए पनि उसलाई म चन्द्र नै भन्छु । चन्द्रले विगत २०–२२ वर्षमा छलाङ मा¥यो नि ! त्यसमा उहाँको लिडरसीपको क्वालिटी झल्किन्छ । उहाँको लिडरसीपको क्वालिटी त्यहाँबाट देख्या छ । अर्का, हाम्रा गुणनिधि (गुणनिधि तिवारी)जी हुनुहुन्छ, जो जिल्लाको राजनीतिमा एकदमै चलाख र एकदम असल व्यक्तित्व । साथ साथै उद्योग व्यापारमा पनि उहाँको दख्खल छ । उहाँ करिब २० वर्षको उमेरमा आफ्नो पालिकाको अध्यक्ष बन्नुभएको व्यक्तित्वसमेत हुनुहुन्छ, यस अर्थमा उहाँ कुसल संगठकरूपमा चिनिनुहुन्छ । त्यस्तै रामचन्द्र संघाईजीको परिवार भनेको नेपालको उद्योग व्यवसायको क्षेत्रको हस्ति मानिन्छ । रहृयौ मेरो कुरा, मेरो परिवारमा भने व्यवसाय गर्ने कोही पनि छैनन्, म एक्लो व्यवसायी हुँ । मेरो परिवारमा काका, भाइ भतिजाहरूमध्ये कसैले व्यवसाय गरेका छैनन् तर म भने विविध कारणले व्यवसायतिर छिरेँ । त्यसैले मलाई पनि आफ्नो क्षेत्रको एउटा अनुकरणीय व्यक्ति हुँ जस्तो लाग्छ, पछिल्लो समय म पनि व्यवसाय विविधीकरणतर्फ लागेको छु । तर मुख्य व्यवसाय भनेको औषधि उद्योग नै हो । औषधि उत्पादक संघमा तीनपटक अध्यक्ष भएँ । त्यसैले हाम्रो टिम सक्षम छ, सक्षममात्रै होइन, सामावेशी पनि छ । म नेवार, दुईजना ब्राहृमण हुनुहुन्छ, एकजना चाहिँ हाम्रो मारवाडी समुदायबाट हुनुहुन्छ । अरूको टिम कस्तो छ, तपाइँ नै हेर्नुुस्, म यस विषयमा केही भन्दिनँ । त्यस्तै हामीसँग सदस्यमा लड्ने महिलाहरू थुप्रै छन्, विगतमा खोजेर हिँड्नुपथ्र्यो । संभवतः आधा दर्जन महिलाहरू सदस्यमा भिड्दै हुनुहुन्छ, उहाँहरूले चुनाव अवश्य जित्नुहुन्छ । त्यसैले समावेशीताको कुरा र हाम्रो ट्याक रेकर्ड हेर्ने हो भने हामी आफ्नो क्षेत्रका सफलतम व्यक्तिहरू हौं । महासंघमा अहिले जुनखालको रडाको मच्चिएको छ, भाँडभैलो मच्चिएको छ । यसको समाधानमा हामीजस्तो टिम चाहिन्छ । म तपाइँहरूलाई के विश्वास दिलाउन चाहन्छु भने जित्ने हामीले नै हो । वरिष्ठलगायत हामी चारैजना उपाध्यक्ष जित्छौं । हाम्रा अधिकांश सदस्य साथीहरूले पनि जित्नुहुनेछ । 

तपाइँ पारिवारिक राजनीतिक पृष्ठभूमिबाट आउनुभएको व्यावसायिक व्यक्तित्व, राजनीतिक चुनावको अनुभव छ, महासंघ र राजनीति चुनाव उस्तै त लागेको छैन ? 

त्यस्तो लागेको छैन, त्यत्ति सारो यहाँ छैन । त्यो चुनावमा मेरो भूमिका निम्ति धेरै लागेँ, करिब चारवटा चुनावमा लागेँ । यो महासंघको मेरो पाँचौं चुनाव हो । राजनीतिक चुनावको परिदृश्य अर्कै हुन्छ, महासंघको अर्कै हुन्छ, यसको दायरा सानो हुन्छ । हुन त नेपाल उद्योग वाणिज्य महासंघ भनेको देशभर फैलिएको संस्था हो । राजनीतिमा २०औं, ३०औं, ५०औं हजार भोटर हुन्छन्, उहाँहलाई सम्हाल्नुपर्ने, उहाँहरूको समस्या समाधान गर्नुपर्ने हुन्छ । महासंघमा कति छन् र भोटर ? ४–५ सय भोटर न हो, अझ क्षेत्रगत हिसाबमा त अझ १००, ५०, १५० भोटरमात्रै हो । मेरा करिब १०३ जना भोटर हुनुहुन्छ, सब आ–आफ्नो संघमा खारिएका नेताहरू । सिधा, साधा जनतालाई त उल्लु बनाउन सकिएला तर नेतालाई त उल्लु बनाउन सकिँदैन नि । जिल्लाको हेर्ने हो भने जम्मा करिब १०६ जना भोटर हुनुहुन्छ तर कस्ता हुनुहुन्छ भने जिल्लामा लडेर, लडाइँ झगडा गरेर एकदमै स्थापित मानिसहरू हुनुहुन्छ । उहाँहरूलाई तपाइँ लर्तरोरूपमा लिनै सक्नुहुन्न । त्यसैले यहाँको चुनावी प्रक्रिया, प्रकृति र राजनीतिक चुनावी प्रक्रिया र प्रकृति एकदमै फरक छ । त्यहाँ चाहिँ विचारको आधारमा मान्छेहरू चुनाव लड्छन्, यहाँ त हाम्रो विचार भनेकै छैन, एउटै विचार छ किन निजी क्षेत्रले अर्थतन्त्रको बागडोर सम्हाल्नुप¥यो, निजी क्षेत्रलाई सरकारले उचित स्थान दिनुप¥यो । हाम्रो विचार यत्तिमात्रै हो, त्यसभन्दा बढी केही छैन । यसअर्र्थमा हाम्रो टिमको एजेण्डा त्यही हो, उहाँहरूको एजेण्डा पनि त्यही हो । मलाई पुल बनाउनु छैन, बाटो बनाउनु छैन, घर बनाउनु छैन, स्कुल बनाउनु छैन । हाम्रो एउटै एजेण्डा छ, निजी क्षेत्रको इज्जत बढाउने । 

विगतका प्रत्यक्षरूपमा भोटरलाई भेटेरै चुनाव प्रचारप्रसार गरिन्थ्यो, अहिले कोरोनाले नदिएकाले समस्या परेको छैन ?

मलाई त्यो समस्या छैन, मेरा करिब १०१ जना मतदातामा ८ जनामात्रै काठमाडौंबाहिरको हुनुहुन्छ, अरू सबै काठमाडौंकै हुनुहुन्छ, हाम्रो दैनिकजसो भेटघाट भइरहन्छ, जिल्लाका साथीहरू पनि केही दिनअघिसम्म यतै हुनुहुन्थ्यो ।

महासंघ चाहिँ विगत केही वर्षयता कमजोर बन्दै गएको छ, यथास्थितिमै चल्न दिने कि नयाँ केही गर्नुहुन्छ ?

मेरो यस सम्बन्धमा सिम्पल मान्यता छ किनभने लोभलालच भएकाहरू महासंघमा रहेसम्म यस्तै हुन्छ । सिधा अर्थमा भन्दा कमाउनमात्रै महासंघमा आउने अवस्था रहेसम्म यस्तै हुन्छ । तर हाम्रो टिमले महासंघलाई यथास्थितिमा राख्ने छैन, हामी महासंघलाई दरिलो बनाउँछौं, बलियो बनाउँछौं, त्यसका लागि यो टिम लड्छ । यो टर्मपछि चन्द्रजी अध्यक्ष हुन्छ, कोही वरिष्ठ उपाध्यक्ष होला । हामीले कुनै उत्तराधिकारी नियुक्त गरेका छैनांै, जो हुन्छ, हुन्छ, देखा जायगा, तीनवर्ष अवधि सकिन्छ, अनि हेरौंला ।

तपाइँ वस्तुगतर्फबाट उपाध्यक्ष हुनुहुन्छ, वस्तुगततर्फ चाहिँ कस्ता समस्या छन् ?

वस्तुगत भनेको सारा संसार हो क्या, वस्तुगतमा के छैन, माछादेखि लिएर औषधि, सिमेन्ट, छड, हृयाचरीदेखि लिएर सबै छन् । हरेक संघमा पृथक खालका समस्या हुन्छन् तर आधारभूत समस्या एउटै हुन्छ । जस्तो बैंकको समस्या सबैको समस्या भयो । करका समस्या, सरकारी ढिलासुस्तीका समस्या सबैको समस्या भयो तर हृयाचरी, औषधि, सिमेन्ट उद्योगका पृथक समस्या हुन्छन् । सिमेन्टले जहिले पनि विद्युत् महसुल घटाउन माग गरेको हुन्छ किनभने सिमेन्टको सबैभन्दा महत्वपूर्ण आधारशिला विद्युत् नै हो । त्यस्तै इँटा उद्योगको समस्या वातावरणसँग, कोइलासँग सम्बन्धित छ । व्यवसायको प्रकृतिअनुसार अलगअलग समस्या लिएर हामीले महासंघमार्र्फत कुन–कुन निकायमा लविङ गर्नुपर्छ, हामी त्यो गर्छौ, अहिले पनि मैले गरिरहेकै छु । हामी कार्यान्वयन गर्ने निकाय होइनौ, प्रेसर ग्रुप हौं, सोहीअनुसार काम गर्छौं । तपाइँले अहिले मेरो दिनचर्या हेर्नुभयो भने मेरो आधा समय सिंहदरबारमा वितेको हुन्छ । त्यस्तै सरकारको बजेटअघि, बजेटपछि, मौद्रिक नीतिअघि, मौद्रिक नीतिपछि बढी दौडधूप हुन्छ ।

यसवर्षको बजेटलाई अधिकांशले राम्रो भनेनन्, मेरो धारणा पनि त्यस्तै रहृयो । मैले यो बजेटले देश डुबाउँछ भनेको थिए । सरकारले साँच्चै महसुस गरेर हो कि के हो मौद्रिक नीति राम्रो आयो तर नेपाल जस्तो मुलुकमा नीतिमात्रै राम्रो भएर हुँदैन, हामी कहाँ सबै नीति छन्, कामै गर्दैनन्, कार्यान्वयन नै हुँदैन, हामीले घचघच्याउने नै यहीनिर हो । नीति कार्यान्वयन गर्न सकियो भनेमात्रै सफलता हात लाग्न सक्छ । मौद्रिक नीति राम्रो आएको छ, सरकारले चुस्त दुरुस्त काम गर्ने हो भने आगामी ५ वर्षमा नेपालको मुहार फेरिन्छ । विगतमा कृषि, जलविद्युत् र पर्यटन गरी १५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था रहेकोमा अहिले कृषिमामात्रै १५ प्रतिशत, ५ प्रतिशत व्याजदरमा लगानीको व्यवस्था गरिएको छ । पर्यटन व्यवसायले भूकम्पको वेला अर्र्थतन्त्रलाई राहत दिएको थियो तर अहिले कोरोनाका कारण आगामी एक वर्षसम्म पर्यटन क्षेत्र समस्यामै रहने देखिएको छ, सोही कारण मौद्रिक नीतिमार्फत विशेष प्याकेजको व्यवस्था गरिएको छ । राम्रो कुरालाई हामीले राम्रो भन्नुपर्छ, बजेटलाई नराम्रो भनेका थियौं, मौद्रिक नीतिलाई राम्रो भनेका छौं ।

महासंघले ठूला व्यवसायीको हितमात्रै काम गर्छ, सानालाई हेर्दैन भन्ने गुनासो छ ?

त्यस्तो होइन, महासंघले सबैलाई हेर्छ, समस्या समाधानका लागि लविङ गर्छ । हाम्रो जिल्ला नगरमा ११३ सदस्य छन् । प्रायः जिल्ला नेतृत्वमा आउने साना तथा मझौला व्यवसायी नै हुनुहुन्छ । मौद्रिक नीतिले साना तथा मझौला व्यवसायलाई उच्च प्राथमिकतामा राखेको छ । महासंघ भनेको महासागर हो, यहाँ जो पनि अटाउँछ । यहाँ नुन व्यापारी पनि छन्, सुन व्यापारी पनि छन् । खर्बपति व्यापारी पनि छन्, लखपति व्यापारी पनि छन् । पृथक–पृथक क्षेत्रका व्यवसायी एकै ठाउँमा रहेकाले कहिले काँही कसै कसैको कुरा कम प्राथमिकतामा परेको हुनसक्छ तर सानासाना व्यवसायीको समस्या सुनिँदैन भन्ने होइन । म पनि विगतमा मझौला व्यवसायी नै थिए, मेरो कुराको सुनुवाइ हुन्थ्यो त । त्यसैले म चाहिँ सकेसम्म विभेद हुन दिन्न ।

बैंक र महासंघबीच बैंकको व्याजदरलाई लिएर आरोप प्रत्यारोप भइरहन्छ, नेपालमा उद्योगी नै बैंकर रहेको अवस्थामा किन यस्तो हुन्छ ?

उल्लु कुरा गरेर हुँदैन क्या, बैंकको व्याजदर बैंक आफैंले घटाउने हो कि नेपाल राष्ट्र बैंकले घटाउने हो ? हामीले हृवाट्स एपको भित्तोमा लेखेर, फेसबुकको भित्तोमा लेखेर बैंकको व्याजदर घट्दैन । हामीले छुट माग्नुहुन्छ र ? सहुलियत पो माग्ने हो । नेपाली जनताको ३६ खर्ब रुपैयाँ बैंकमा छ । बैंकरको आफ्नो लगानी करिब ४ खर्ब छ तर ३६ खर्ब रुपैयाँ नहुने हो भने हामीले कहाँबाट लोन पाउँछौं, नेपालको औद्योगिक विकास कसरी हुन्छ ? नेपालको व्यापार कसरी हुन्छ, बैंकहरूले त्यो ३६ खर्बको व्याज पनि निक्षेपकर्तालाई दिनुपर्ने हुन्छ । बैंकलाई गाली गर्न पा¥यो भन्दैमा (मेरो बैंक छैन, मैले चन्द्र ढकालको डिफेन्स गर्न खोजेको होइन) जे पनि भन्ने प्रवृत्ति ठीक होइन । 

त्यसो त कतिपय बैंकर्स साथीहरूले पनि नचाहिँदो गर्नु भएकै छ । हामी विद्यार्थी संगठनमा नेता हौं र ? हामी त व्यवसायीका अगुवा हौं, हामीले सही कुरा बोल्नुपर्छ । के भयो त ! बैंकलाई हानेपछि चन्द्रलाई पर्ने भयो । दुनियाँ यसरी चल्दैन, तपाइँले एकचोटी दिग्भ्रमित पार्न सक्नुहोला तर बारम्बार पार्न सक्नुहुन्न । बैंकसँग छुट माग्ने साथीहरूले आफ्नो व्यापार व्यवसायमा कति छुट दिए त ! १ प्रतिशत छुट दिए ? बैंक व्याजदर छुट माग्नेले गरिबलाई २ पैसा कम गरेको छ कसैले ? यो विवादको अर्थ छैन । सबै बैंकहरू नेपाल राष्ट्र बैंकबाट अनुगमित हुन्छन्् । बैंकले आफैंले निर्णय लिन सक्दैनन् । मेरो औषधि उद्योग छ, मैले औषधि व्यवस्था विभागसँग नसोधी केही काम गर्न सक्दिन ।

त्यसो त बैंकहरूमा समस्या छँदै भन्ने चाहिँ होइन, बैंकहरूले अदृश्य पैसा बढी असुल्छन् । २८ वटै वाणिज्य बैंकको हरेक कागज एउटै प्रकृतिको हुनुपर्छ । यहाँ सेवा शुल्क ३ प्रतिशत लिने बैंक छन्, ०.२५ प्रतिशतमात्रै लिने छन् । यो आफूले बैंकसँग गर्ने नेगोसिएसन पावरको कुरा हो । ग्राहकले म यो दिन्न भन्न सक्नुप¥यो नि ! हामी सबै उद्योगी व्यवसायीले बैकलाई पिजी (पर्सल ग्यारेक्टी) दिन्छौं तर नेपालको कुन कानुनले पिजी दिनुपर्ने भनेको छ ? मसँग पनि हालैै एउटा बैंकले पिजी माग्यो तर मैले दिन्न भनेँ । नेपालको कम्पनी ऐनमा पिजीको व्यवस्था गरेको छ र भनेर प्रश्न गरेँ, त्यसपछि बैंकले पिजी लिएन । 


Views: 850