17th April | 2021 | Saturday | 11:56:23 PM

नयाँ र पुरानो पुस्ताको समिश्रणले हाम्रो टिम सक्षम छ

लेखनाथ पोखरेल   POSTED ON : भदौ ४, २०७७ (९:२५ AM)

नयाँ र पुरानो पुस्ताको समिश्रणले हाम्रो टिम सक्षम छ

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ आगामी नयाँ नेतृत्वको तयारीमा जुटेको छ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्थाका कारण अध्यक्षभन्दा पनि वरिष्ठ उपाध्यक्ष चयन सर्वाधिक चासोको विषयमात्रै बनेको छैन, तीव्र प्रतिस्पर्धाको संकेतसमेत देखिएको छ । विगत वर्षजस्तै यसपटक पनि महासंघमा वरिष्ठ उपाध्यक्षका लागि आ–आफ्नो प्यानलसहित दुई उपाध्यक्षले उम्मेदवारी घोषणा गर्नुभएको छ । 

दुई प्यानलमध्येका वरिष्ठ उपाध्यक्षका एक प्रतिस्पर्धी हुनुहुन्छ, महासंघ उपाध्यक्ष किशोरकुमार प्रधान । प्रधानलाई साथ दिँदै दिनेश श्रेष्ठ, अञ्जनकुमार श्रेष्ठ र सौरभ ज्योति उपाध्यक्षको चुनावी मैदानमा हुनुहुन्छ । महासंघमा वस्तुगत, जिल्ला नगर र एसोसिएट गरी ३ उपाध्यक्ष रहने व्यवस्था रहेको छ । आफ्नो समूह पुरानो र नयाँ पुस्ताको समिश्रणयुक्त रहेका कारण निजी क्षेत्रलाई निकास दिन सक्षम रहेको दाबी गर्ने प्रधान जिल्ला तथा नगर उद्योग वाणिज्य संघ हुँदै केन्द्रसम्म आइपुग्ने पुराना पुस्ताका उद्यमी नेताका रूपमा चिनिनुहन्छ । सरल, संयमित र निरन्तर जनसम्पर्कमा रहन रुचाउने प्रधानसँग महासंघको चुनावकै विषयमा हिमालय टाइम्सका लेखनाथ पोखरेलले गरेको कुराकानी : 

अहिले महासंघको चुनावी माहौल कस्तो चल्दैछ ?

अहिले खासै चुनावी माहौल छैन किनभने अहिले सम्पूर्ण देश कोरोना भाइसरका कारण आक्रान्त अवस्थामा छ । सम्पूर्ण जिल्लामा कोरोना संक्रमण विस्तार भएकाले सबै आतंकित छन् । यस्तो आतंकित अवस्थाले चुनावी माहौललाई पनि विथोलेको छ । तर कोरोनाबीच पनि चुनाव कसरी गराउने, चुनावनको मोडालिटी कस्तो हुने भन्नेबारेमा हामीले एक कार्यदल बनाएका छौं, कार्यदलको सुझाअनुसार नै महासंघले चुनावको तिथि, मिति र मोडालिटीसमेत तय गर्नेछ । महासंघको गत कार्यसमितिको बैठकले सोही सम्बन्धमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो, कार्यदलले अहिले काम गरिरहेको छ, प्रतिवेदन तयार गरी महासंघमा प्रस्तुत गरेपछि पदाधिकारी समिति र कार्यसमितिले चुनावी रणनीति तय गर्ने छन् । त्यसैले अहिले चुनावको माहौल तात्तिएको छैन, तात्तिने अवस्था पनि छैन । जहिले सरकारले देशमा लकडाउन खोल्छ, फेरि चुनावको तिथि, मिति तय हन्छ, त्यहीबेलादेखि चुनावी वातावरण बनाउने प्रक्रियामा हामी हुन्छौैं । वास्तवमा समय र परिस्थितिअनुसारै अघि बढ्नुपर्ने हुन्छ ।

तय भइसकेको चुनावको मिति खारेजीपछि असन्तुष्टि देखिएको छ नि ?

वास्तवमा, कोरोनाको जोखिमपूर्ण अवस्थामा चुनाव हुनसक्ने अवस्था थिएन । सोही सम्बन्धमा महासंघ अध्यक्ष ज्यूले पूर्वअध्यक्ष ज्यूहरूलाई बोलाएर सुझाव लिनुभएको थियो । पूर्वअध्यक्ष ज्यूहरूकै सुझावका आधारमा मिति सारिएको हो । अनुभव भनेको कति महŒवपूर्ण हुन्छ भन्ने कुरा प्रमाणित भएको छ । अनुभवबाटै सबै समस्याको समाधान गर्न सकिन्छ । सरकारले जबसम्म लकडाउन खुल्दैन, तब गर्नु हुँदैन, भयावह अवस्था आउनसक्छ भनेको थियो, पूर्वअध्यक्ष ज्यूहरूले पनि जबसम्म लकडाउन खुल्दैन, तबसम्म चुनाव गर्नु हुँदैन भन्ने सुझाव दिनुभयोे । केही साथीहरू चुनाव सार्ने निर्णयबाट रुष्ट हुनुभएको थियो तर अहिले महसुस गर्नुभए जस्तो छ । किनभने उहाँहरूको असन्तुष्टिको जवाफ अहिलेको वस्तुस्थितिले दिइसकेको छ ।

हार मानसिकता कारण चुनाव सारिएको आरोप छ त ?

देशकाल परिस्थिति र समयलाई हेरेर निर्णयमा पुगेका हौंं, सबै साथीहरूले यसमा महसुस गर्नुभएको होला । उद्योग व्यवसायीको स्वास्थ्य ठीक भयो भन्नेमात्रै हाम्रो स्वास्थ्य ठीक हुन्छ, स्वास्थ्य नै ठीक भएन भने उद्योग कसरी ठीक हुन्छ । त्यसैले चुनावी प्रक्रियामा जान हामी सबैमा हतारो छ । मलाई पनि छ । हतारो छ भन्दै समुद्रमा कुद्न त सकिँदैन, सात तलबाट हाम फाल्न पनि सकिँदैन, त्यसरी हाम फाल्दा तपाइँहरूको ज्यान जान्छ, साथीहरूलाई यसरी जीवन समाप्त पार्ने काम नगर्नुस् भन्न चाहन्छु । चुनाव हुन्छ, ठुक्क हुनुस् भन्न चाहन्छु । 

कोरानाकै कारण चुनावको माहौल अवरुद्ध हुने त होइन, लकडाउन खुला भएपनि भौतिक दूर कायम गरेरै चुवानी प्रचारप्रसारमा जाने हो, भित्रभित्रै माहौल बनाउने काम त भइरहेकै होला नि ?

सम्पर्क गर्नुपर्ने साथीहरूसँग सम्पर्क भइरहेकै हुन्छ, चुनाव भएपनि सम्पर्क हुन्छ, नभए पनि हुन्छ । कोरोना हुँदा पनि हुन्छ, नहुँदा पनि हुन्छ, त्यो हाम्रो प्रेमभाव हो, हामी उद्योगी व्यवसायीबीचको एकअर्काप्रति लगाव हो । उहाँहरूको अवस्था बुझने, उहाँहरूप्रतिको स्वास्थप्रति चासो राख्ने क्रम चलिरहन्छ । हाम्रै एकजना केन्द्रीय सदस्य ज्यूलाई कोरोना पोजेटिभ देखिएको छ, अन्य साथीलाई पनि समस्या होला, हामीलाई जानकारी नभएको हुनसक्छ । 

अर्को टिमभन्दा तपाइँको टिम राम्रो भन्ने आधार के हो ?

हाम्रो टिम राम्रोमात्र छैन, अति राम्रो छ, उहाँहरूकोमा अनुभव नभएका व्यक्तिको टिम छ, हाम्रो अनुभवी व्यक्ति भएको टिम हो, उहाँहरूकोमा हतार गर्ने र तुरुन्त प्रतिक्रिया खोज्ने टिम छ, हामीकहाँ संयमित र व्यवस्थित गर्नसक्ने टिम छ, हामीसँग पूर्वअध्यक्षहरूसँग मेलमिलापको वातावरण बनाएर र सुझाव लिएर अघि बढ्ने टिम छ । हामीलाई हुनेवाला अध्यक्षको र पूर्वअध्यक्षहरूको सम्पूर्ण आशिर्वाद रहेको छ । हामी आगामी अध्यक्ष शेखर गोल्छाको टिममा छौं, हाम्रोमा संस्थाको मर्यादाअनुसार काम गर्ने टिम छ, उहाँहरूमा संस्थाको मर्यादाभन्दा व्यक्तिगत फाइदामा दौडिने टिम छ । उहाँहरूको एकजनाको निर्णयमा चल्ने टिम छ तर हाम्रोमा सामूहिक नेतृत्वमा अघि बढ्ने टिम छ । 

दलहरूमा नयाँ पुस्ताको बहस छ, महासंघमा चाहिँ नयाँ पुस्ता कहिले ?

नयाँ पुस्तलाई अवसर दिने कुरामा दुईमत छैन, नयाँ पुस्तालाई नै दिने हो तर विस्तारै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हो, पुरानो र नयाँ पुस्ताको समिश्रण गरेरमात्रै नेतृत्व हस्तान्तरण गर्नुपर्छ । मैले आफ्नो अनुभवलाई हृयाण्डओभर गर्र्न समय त चाहियो नि ! नयाँ पुस्तामा अनुभवको कमी हुन्छ । अहिले पनि देख्नुभएको छ नि मेरो टिममा मबाहेक सबै तीनजना पुरानो पुस्ताका हुनुहुन्छ । आफ्नो प्रतिस्पर्धी टिमको नयाँ पुस्तामा केही नबुझेका साथीहरू हुनुहुन्छ, जुन अनुभव नभएकाले हो । वास्तवमा समयानुसार नयाँ पुस्तालाई हयाण्डओभर गर्नैपर्छ, हामी नयाँ पुस्तालाई हृयाण्डओभर गर्ने प्रक्रियामै छौं, म पछि सबै नयाँ पुस्ता नै आउने हो ।

महासंघ पुख्र्यौली उद्योगीको संस्था बन्यो, नयाँ उद्यमी उत्पादन गर्न सकेन भन्छन् नि ?

पुख्र्यौलीको संस्था कसरी भयो, म त पुख्र्यौली पृष्ठभूमिबाट आएको उद्यमी होइन, मेरो बुबा उद्योगी होइन, आमा पनि होइन भने कसरी पुख्र्यौली भयो ? म त नयाँ छु, आफ्नै मिहिनेत र साथीहरूको सहयोगले म यहाँसम्म आइपुगेको हुँ । त्यसैले तपाइँहरू सर्पोट गर्नुस्, देशको अर्थतन्त्रलाई नयाँ दिशा दिन केही योगदान गर्न सकिन्छ कि भनेर हामी यहाँ आएका हौं, हाम्रो आफ्नो व्यक्तिगत स्वार्थ केही छैन । विश्वास गर्नुस्, शेखर गोल्छा र मेरोसमेत कुल ६ वर्षको नेतृत्वकालमा अवश्य पनि महासंघको इतिहास परिवर्तन अवश्य हुनेछ, हाम्रो कार्यकाल महासंघको स्वर्णीम कार्यक्रमका रूपमा स्थापित हुनेछ । किनभने मैले जहाँजहाँ आँटेको छु, त्यहाँ–त्यहाँ सफलता हासिल गरेको छु ।

महासंघ झन्झन् कमजोर हुँदै जानुको कारण के होला ?

महासंघलाई बलियो बनाउनकै लागि हाम्रो उम्मेदवारी हो, महासंघलाई यथास्थितिबाट माथि उठाउन, सक्षम र सवल महासंघ बनाउन शेखर गोल्छा जीको टिमलाई साथ दिन हामी अगाडि आएका हौं । सुद्धीकरण र सुदृढीकरणको नाराका साथ हामी आएकाले गोल्छा जीको आगामी ३ वर्षे कार्यकाल र मेरो ३ वर्षे कार्यकाल परिणाममुखी हुनेछ । विगत १२, १३ वर्ष महासंघ नेतृत्वको एकल अधिकारबाट अघि बढेकोमा अव सुद्धीकरण र सुदृढीकरणका लागि महासंघ सामूहिक नेतृत्वका साथ अघि बढ्ने छ । हामी विगतमा महासंघबाट खोजिएका अधिकारहरू पुनः स्थापित गर्दैै महासंघसँग नसोधी सरकारले कुनै पनि काम गर्न नसक्ने अवस्था तयार गर्नेछौं । त्यो भनेको विश्वासको वातावरण बनाउने हो, सरकारलाई हामी विश्वास दिलाउँछौं, सरकारले पनि हामीलाई विश्वासमा लिन्छ र हामी सहकार्यका साथ अघि बढ्छांै, जसबाट देशको अर्थतन्त्रमा पनि हाम्रो ठूलो योगदान पुग्नेछ । महासंघमा अहिले जुन विवादजस्तो देखिएको छ, चुनावपछि विवाद रहँदै, जित्ने टिमलाई समेटेर लैजान्छौं, जित्ने टिमले पराजित टिम सम्मानपूर्ण व्यवहार गर्नेछ ।

महासंघमा ‘लोभीपापी’हरूको बाहुल्यता रहेसम्म महासंघ यथास्थितिबाट माथि उठ्न सक्दैन भन्ने आरोप पनि छ नि ?

हेर्नुस्, हेर्ने मानिसको अनेक दृष्टिकोण हुनसक्छ, लोभीपापी भन्ने शब्द चयन पनि त्यसैको उपज होला तर वास्तविता यस्तो होइन, लोभीपापीमा केही स्वार्थ होला, हामी व्यक्तिगत स्वार्थका लागि नभई राष्ट्रिय स्वार्थमा काम गर्छौं । देशको अर्थतन्त्र जोगाउने स्वार्थ लिएर अघि बढाउने हाम्रो टिम हो ।

कोरोनाबीच नेपाल अर्थतन्त्रको अवस्था चाहिँ कस्तो छ ?

अर्थतन्त्रको अवस्था बेहाल छ । कोरोनाबीच देशको अर्थतन्त्र समस्या र चुनौतीबीच गुज्रिरहेको छ । सुरुमा सरकारले लकढाउनु ग¥यो, पछि लकडाउन खुकुलो बनायो, उद्योग व्यवसाय पुनः सुचारु गर्न प्रोत्साहित ग¥यो तर अहिले उद्योग व्यवसाय खोल्नुको दूरगामी परिणाम देखिँदैछ । ठीक छ, हामीले उद्योग सञ्चालन ग¥यौं, हामीलाई उद्योग चलाउनुछ, सरकारलाई ट्याक्स उठाउनुछ । सरकारको अर्को दायित्व जनताको जीवन रक्षा पनि हो तर सरकार जीवन रक्षाको दायित्वबाट भने चुकेको हामीले महसुस गरेका छौं । किनभने कोरोनाको पीसीआर टेष्टको अधिकार सुरुमै निजी क्षेत्रलाई दिनुपथ्र्यो, सुरुमै दिएको भए अहिलेजस्तो खोजिमपूर्ण अवस्था आउने थिएन । पछिल्लो समयमा आएर निजी स्वास्थ्य संस्थालाई पनि पीसीआर टेष्टको अधिकार दिएको छ तर ढिला भयो । यो सम्पूर्ण कुराले के देखाउँछ भने सरकार उद्योगी व्यवसायीप्रति सम्वेदनशील छैन ।

अर्को कुरा, सरकारले उद्योगमा काम गर्ने मजदुरको पीसीआर टेष्ट सम्बन्धित उद्योगले गराउनुपर्छ भनेको छ, जुन सरकारको अदूरदर्र्शी निर्णय भन्ने लाग्छ । किनभने कोरोनाका कारण उद्योग नै धराशायी भएको अवस्थामा कसरी हजारौं मजदुरको पीसीआर टेष्ट गर्न सक्छन् ? सरकारले हामीसँग ट्याक्स लिन्छ, जनताको स्वास्थ्यको रक्षा गर्ने काम पनि सरकारकै हो । 

निजी क्षेत्र एकताबद्ध नभएकाले विश्वास घटेको भनिन्छ नि ?

त्यो ठीक हो, नेपालमा एकजुटको परिपाटी नै छैन तर सरकारले एकताबद्ध हुन प्रोत्साहित गर्न सक्छ नि ? सरकारले व्यवसायीलाई भन्न सक्नुप¥यो कि तपाइँहरू कुनै पनि निजी क्षेत्रको विषयमा आफैं छलफल गरेरमात्रै आउनु । झगडा भएपनि व्यवसायीको ग्रुपमै झगडा हुन्थ्यो नि ! म प्रधानमन्त्री भएको भएको भए के भन्ने थिए भने प्राइभेट क्षेत्रका विषय पहिले तपाइँहरू आफैंसँग छलफल गरेर निष्कर्ष लिएरमात्रै म कहा आउनु होला । सरकारले तपाइँहरू मिलेर नआएसम्म तपाइँहरूको कुनै कुरा सुन्दिन भन्नसक्ने क्षमता राख्नु प¥यो नि । एउटा ग्रुपलाई बोलाएर छलफल गर्ने, अर्को ग्रुपलाई बोलाएर छलफल गर्ने, यस्तो संभव छैन यहाँ त व्यक्तिगत र पार्टीगत स्वार्थमा काम भइरहेको छ । सरकारले खुसुखुसु बोलाएर व्यवसायीलाइ आफूतिर तान्ने होइन नि ! यहाँ व्यावसायिक टिम नै धेरै भयो, एउटा वामपन्थी व्यावसासियक टिम, अर्को प्रजातान्त्रिक व्यावसायिक टिम, अर्को मधेसी व्यावसायिक टिम । यस्तो पनि कही हुन्छ ? यसले त देशको अर्थतन्त्रलाई सखापमात्रै बनाउछ । प्राइभेट क्षेत्रलाई तोडेर होइन, जोडेर आउनुपर्छ । कोरोनका कारण २८, ३० लाख वेरोजगार थपिने अवस्था आएको छ, कोरोनाका कारण विदेशमा काम गर्ने नेपालीहरू फर्किँदै छन् । उनीहरूका लागि रोजगारी सिर्जना काम त निजी क्षेत्रकै हो, यसका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नु पर्दैन ?

तपाइँहरू किन सधैं सरकारलाई गाली गरिरहनुहन्छ ?

गाली होइन, हाम्रो आग्रह हो, गुनासो हो, सरकार निजी क्षेत्रको सहयात्री हुन सकेन । हामीप्रति सरकारको विश्वास नै भएन भने हामीले चाहिँ सरकारलाई विश्वास किन गर्ने ? निजी क्षेत्रले पनि सरकारले स्थापना गरेको कोरोना कोषमा सहयोग गरिरहेको छ भने मजदुर कर्मचारीको पीसीआर टेष्टमा पनि सहकार्य गर्नुप-यो भन्ने हो, सरकारलाई हामी मजदुर कर्मचारीको पीसीआर टेष्टको पूरै खर्च गर्न लगाउँदैनौं, यस्तो अवस्थामा आधामात्रै पनि सरकारले खर्च ग¥यो भने निजी क्षेत्रले राहत गर्ने थियो भन्ने नै हो । त्यस्तै, कोरोनाका लागि सरकारले जुन स्वास्थ्य सामग्री खरिद गरेको छ, अधिकांश सामग्री गोदाममै थन्क्याएर राखेको छ, त्यो सामान मानिस मरिसकेपछि प्रयोग गर्ने ? सुरुमा प्राइभेट अस्पतालले पीसीआर टेष्टमा सहकार्य गर्छौं भन्दा सरकारले पर्दैन भनेर फिर्ता पठायो, अहिले प्राइभेट अस्पतालालई नै सरकारले गुहार्दैछ । सरकारको दूरदर्शितामा कमीकमजोरी रहेको त प्रष्टै भइसक्यो नि ! सुरु मै सहकार्य गरेको भए अहिले भयावह अवस्था आउने थिएन । अहिले सर्वसाधारणले सरकारी अस्पतालमा लाइनमा बसेर पीसीआर टेष्ट गर्नसक्ने अवस्था छैन, मैले पनि लाइन लागेर प्राइभेट अस्पताललमा पीसीआर टेष्ट गर्नुप¥यो । त्यसैले देशको विकासका लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्नुको विकल्प नै छैन । म ग्यारेन्टीसाथ भन्छु कि सरकारले निजी क्षेत्रलाई आफ्नो विश्वासमा लिएर अघि नबढेसम्म सरकार एक्लैैले केही गर्न सक्दैन । ठूलोठूलो क्षेत्रमात्र नभई सानोसानो क्षेत्रमा निजी क्षेत्रको साथ चाहिन्छ भन्ने देखियो नि त अहिले । निजी क्षेत्र भन्दैमा गलत प्रवृत्तिलाई नै स्वीकार गरेर अघि बढ्नुपर्छ भन्ने छैन, त्यसैले हामी पनि भ्रष्ट र घुसिया सरकारी अधिकारी, मन्त्रीको विश्वास गर्दैनौं, उनीहरूले भनेको टेर्दैनौं तर निजी क्षेत्रमा पनि सबै गलत छैनन्, सरकारमा पनि सबै गलत छैनन्, त्यसैले सरकारले राम्रालाई साथमा लिएर अघि बढ्नुपर्छ । राम्रालाई पहिचान गर्न सक्नुप¥यो । तपाइँका कारण म नराम्रो भए भन्दैमा सबैका लागि म नराम्रो हुन्न नि ! अर्को मान्छेले मेरो टेष्ट नै नगरी नराम्रो भन्न मिल्छ र ? उदाहरणका लागि कुनै एउटा मन्त्रीको स्वार्थका कारण ती मन्त्रीको नजरमा म नराम्रो भए हुँला तर प्रधानमन्त्रीले ती मन्त्रीकोमात्रै कुरा सुनेर निर्णयमा पुग्न मिल्छ ! मेरो टेष्ट गर्नुपर्दैन ? ठीक छ, निजी क्षेत्रका व्यक्ति स्वार्थी होलान्, छन् पनि, निस्वार्थी पनि छ नि ! जसले देशको हितमा काम गर्न चाहिँरहेका छन् । त्यसको मूल्यांकन कसले गर्ने ? सबैलाई एउटै डालोमा राखेर हेर्नु भएन नि ! धेरै वर्षपछि बहुमतको सरकार आएको छ, धेरै वर्षपछि वलियो सरकार गठन भएको छ, विगतमा एकपटक गिरीजाबावुको पालामा थियो तर त्यो सफल हुन सकेन । यो बलियो सरकारले ठूलाठूला विकास निर्माणको काम गर्नुपर्ने हो तर आफैंमा झगडा गरेर बसेको छ, सोही कारण कोरोनासँग पनि लड्न नसकेको हो । कोरोनाको कहरबीच छिटो अर्थतन्त्रको विकास गर्ने हो भने कृषिमा जोड दिनुपर्छ, कृषिले कोरोनाले थलिएको अर्थतन्त्रलाई छिटै माथि उकास्न सक्छ ।

बैैंकर्स र व्यवसायीबीच पनि झगडा हुने गर्छ नि ?

यो एउटा महवपूर्ण सवाल हो, हामीले झगडा गरेको होइन, बंैकर्स पनि व्यवसायी हुन््, हामी पनि व्यवसायी हौैं, यहाँ एक अर्कालाई दोषारोपण गर्ने होइन, हामीले के भनेको हौं भने सिस्टममा बैंकर आउनुपर्छ र उद्योगीहरू पनि आउनुपर्छ, व्यवस्थित हुनुपर्छ भन्नेमात्रै हाम्रो आग्रह हो । बैंकका प्रमोटर्सले कुन कुन काम गर्न पाउने हो, तोकिनुप¥यो । कुन कुन परिधिभित्र रहेर गर्ने हो । मैले आफ्नो बैंकबाट कर्जा लिन पाउँदिन भने अर्को साथीको बैंकबाट कर्जा लिन्छु । अर्को साथीले पनि आफ्नो बैंकमा लिन नपाएपछि अर्को साथीबाट लिन्छ । यसरी बैंकर्सहरू चाहिँ टे«डिङमा आए, इण्डष्ट्रिजमा आए । सिस्टमले यसलाई गाइड गर्छ भने हामीलाई आपत्ति छैन तर सिष्टमले गाइड गरेन जस्तो हामीले फिल ग¥यौं, त्यसमा मात्रै हाम्रो विरोध हो । व्याजदरको जुन सवाल छ, व्याजदर व्यवस्थित गर्ने काम नेपाल राष्ट्र बैंकको हो । बैंकहरूले ग्राहकबाट विभिन्न अदृश्य शुुल्क असुल्ने प्रवृत्ति पनि रोक्नुपर्छ । बैंकहरूले सिएसआर फण्डको रकम छ भन्दै दुरुपयोग गर्न पाउँदैनन् तर राष्ट्र बैंकका कर्मचारीसँग मिलेर बैंकहरूले उक्त रकमको दुरुपयोग गरिरहेका छन् भन्ने सुन्नमा आएको छ, यसमा हाम्रो विरोध हो । वास्तवमा अहिलेका बैंकहरू विगतका जमिन्दार जस्ता बन्न खोजेका छन् । तर पनि उद्यमी नभई बैंक चल्दैन, बैंक नभई उद्यमी चल्दैन ।



Views: 602