17th April | 2021 | Saturday | 10:10:21 PM

रावाबेंशी गाउँपालिकाको प्रमुख प्राथमिकता कृषि - अध्यक्ष निरौला

चिसाङ शेर्पा   POSTED ON : भदौ १३, २०७७ (९:३७ AM)

रावाबेंशी गाउँपालिकाको प्रमुख प्राथमिकता कृषि - अध्यक्ष निरौला

खोटाङ । जनताको घरदैलोमै सिंहदरबार भनेर तीन तहको सरकार निर्माण भएपछि, स्थानीय तह कार्यान्वयनमा आएपछि जनताले साँच्चै नै सुख पाए ? विकासको गति ग्रामीणस्तरसम्म पुग्यो ? स्थानीयले साँच्चिकै स्थानीय सरकारको महसुश गरे/गरेनन् । अनि, स्थानीय सरकारको पदमा बसेकाले जनताको माग पूरा गरे त ? यसैको सेरोफेरोमा रहेर खोटाङको रावाबेंशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलासँग हिमालय टाइम्स संवाददाता चिसाङ शेर्पाले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

नयाँ भवनमा सरेपछि कार्यालयले प्रवाह गर्ने काम कारबाही कस्तो छ ?

नयाँ भवनमा सर्नुअघि ब्यक्तिको घर भाडामा लिएर एउटै कोठाबाट सम्पूर्ण कामकाज गर्नुपर्दा धेरै असहजता थियो । किन कि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा र सेवाग्राहीहरु एकै ठाउँमा हुँदा एकले अर्कालाई ठूलो डिस्र्टभ पुगेको र सेवाग्राहीहरुलाई पनि काम गर्न असहज परिस्थिती थियो । अहिले एउटै भवनमा फरक–फरक ठाउँमा सबै कार्यालयहरु हुँदा जनप्रतिनिधि र कर्मचारीलाई काम गर्न धेरै सहज भएको छ । सेवाग्राहीले पनि अलगअलग कोठामा काम गर्न पाउँदा धेरै सहज भएको छ ।

हालसम्म आईपुग्दा गाउँपालिकाले विकासमा कति फड्को मा¥र्यो ? 

हामी निर्वाचित हुँदाका बखत धेरै योजनाका चाङ र मागका चाङहरु थिए । जनताका मागहरु अनगिन्ती भइरहँदा हामीले गाउँपालिकाको ६ वटै वडामा केन्द्रीय विद्युत पुर्याउन सफल भयौ । हिउँदमा मात्रै गाडी चल्ने सडक थिए । नुनथला–कुभिण्डे–हरमटार हुँदै ऐसेलुखर्क जाने सडक र विजुले–लेकखर्क, दुबेकोल–ऐसेलुखर्क मुख्य सडकलाई सधैँ चल्ने बनाएका छौ, कुनै कुनै वडामा काठेपोल प्रयोग गरेर बत्ती बालेका थियौ । त्यसलाई काठेपोलमुक्त वडा घोषणा गरेका छौं ।

विद्यालयहरुमा धेरै सुधार भएको छ । सबै प्रावि तहमा कम्प्युटर, फोटोकपी मेशिन, हिलटेक दिएकाछौं , ईन्टरनेट जडान गरिदिएका छौं । विषयगत शाखाका शिक्षकहरुलाई तालिमको व्यवस्था गरेका छौं  । कक्षा १ देखि ९ सम्म पालिकामा प्रश्नपत्र निर्माण गरेर परीक्षा प्रणालीलाई मर्यादित बनाउने काम गरेका छौं  । निमावि र माविको कक्षा ८ देखि १० सम्मका विधार्थीलाई निःशुल्क कोचिङ कक्षाको व्यवस्था गरेका छौं । विद्यार्थीहरुलाई विद्यालय आउनका लागि प्रेरित गर्न दिवा खाजाको व्यवस्था गरेका छौं ।

बालविकास, प्रस्तावित मावि, निमावि, माविमा अनुदान शिक्षकहरु व्यवस्थापन गरेका छौं । प्रअहरुलाई विद्यालय भ्रमण गरायौ, एउटा विद्यालयमा भएका राम्रो काम अर्को विद्यालयले अनुशरण गर्ने र नराम्रालाई परिवर्तन गरेर लैजाने गरी विद्यालयको अवलोकन ग¥र्यौ । स्वास्थ्यमा पनि धेरै उल्लेखनीय काम भएको छ । समायोजनका कारण कर्मचारी नहँुदा हामी आफैले विज्ञापन गरेर त्यसको अभाव हुन दिएछौं  । वडा कार्यालयहरु व्यवस्थित बनाएका छौं । हामी निर्वाचित भएपछि धेरैभन्दा धेरै उल्लेखनीय काम गरेकै छौं ।

स्थानीय तहमा भ्रष्टाचार, अनियमितता, पार्टी निकटलाई योजना वितरणजस्ता विषयहरु व्यापक चर्चामा छन् , यहाँ कस्तो छ ?

यहाँले गाउँपालिकाका सम्पूर्ण जनतामाझ गएर सोध्न सक्नु हुनेछ । म एउटा दलबाट निर्वाचित भएता पनि मेरा वडाध्यक्षहरु बेग्लाबेग्लै दलबाट निर्वाचित छन् । दल फरक छ तर हाम्रो भिजन र मिसन जनतालाई सुखानुभूत गराउनेछ । एकै शब्दमा भन्नुपर्दा कुनै भेदभाव र पक्षपात छैन । यो त्यो नभनि समान ढंगले यस गाउँपालिकामा योजनाहरु अघि बढाइएका छन् ।

विद्युत, सडक, खानेपानी, कृषि, स्वास्थ्यमा के-कस्ता प्रगति भए ?

गाउँपालिकासँग सडक सञ्जालले नजोडिएका सबै वडामा ग्रामीण सडक पु¥र्याएका छौ । विजुले–लेकखर्क, दुबेकोल–ऐसेलुखर्क सडकको विचमा पर्ने रावाखोलामा पक्की पुल नहँुदा ज्यादै समस्या थियो । ठेक्का टेण्डर भएर पनि काम नगर्ने निर्माण कम्पनीलाई खोजेर ल्याएर समयमा पुल बनाएका छौं । गौरवको योजना अन्तर्गत सवै वडामा सडक पुगेको छ । विधुत, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायतमा उल्लेखनीय काम गरेका छौं ।

गाउँपालिकाको सबैभन्दा बढी प्राथमिकता केमा रहेको छ ?

गाउँपालिकाले कृषिलाई नै प्राथमिकता दिएको छ । हाम्रो पालिकामा लेक र बेंशीको भूभाग भएकाले माथिल्लो भेगमा कफि पकेट क्षेत्र बनाएका छौ । अलैची पनि राम्रो उत्पादन हुन्छ । कुभिण्डेमा लिचि पकेट क्षेत्र बनाएका छौं । बेमौसमी तरकारी उत्पादनमा विशेष जोड दिएका छौ । र, हामीले पशुक्षेत्रमा नश्ल सुधार गर्न उन्नत जातका बोका ल्याएर गाउँगाउँमा वितरण गरेका छौ । उन्नत जातका सुँगुरका पाठापाठीहरु वितरण गरेका छौ ।

कृषि क्षेत्रमा धेरै उल्लेखनीय काम भएको छ । हामीले ८४ वटा कृषि समुह निर्माण गरेर समुहमार्फत प्लाष्टिक पोखरी, महुरीका घार, बोयर जातका बोका, कुखुराका चल्लाहरु वितरण गरेका छौ । पकेट क्षेत्र निर्माण गरेर कृषिलाई बढुवा दिएका छौ । प्रमुख प्राथमिकता नै कृषि नै हो ।

काम गर्नलाई अप्ठ्यारा र चुनौतीहरु के–के छन् ?

काम गर्नलाई धेरै असजहता महशुष त हुने नै भैगो । हामी निर्वाचित भइसकेपछि समूहगत हिसाबमा समूहको काम कतव्र्य सम्बन्धी धेरै कुरा कृषकलाई थाहा नहुनु, प्रक्रियागत कुराहरु थाहा नभएर ब्यक्तिगत रुपमा योजना माग गर्नु, कर्मचारी कहिले को आउने, कर्मचारी निरन्तरता नहुने । यो हरेक हिसाबले पनि असहजता महशुष भएको छ । कार्यालय व्यवस्थापन नहुँदा पनि करीव २ वर्ष हामीले जसोतसो काम ग¥र्यौ । करीव १ वर्षजति भयो नयाँ भवनबाट सहज रुपमा काम गरीरहेका छौ । पछिल्लो समयमा हामीले हरेक कुरालाई प्रक्रियामा छिराएका छौ । अहिले काममा सहजता नै छ ।

जनप्रतिनिधीले स्थानीयलाई पूर्ण सन्तुष्टि दिनु भएको होला त ?

पक्कै पनि उहाँहरुलाई हामीले गरेको जुन सुशासन, पारदर्शितालाई हेर्दा उहाँहरु पक्कै पनि खुशी हुनुभएको होला । अधिकांशलाई खुशी पार्न सकिएको छैन । केही मान्छेका लक्ष्य, इच्छा, आकांक्षा, योजनाहरु अनगिन्ति छन् । त्यसलाई पनि सिमित स्रोतसाधनले गर्दा हामी साँघुरिनु परेको छ । सबैलाई माग भए अनुसार योजनाहरु वितरण गर्न नसकिएको कुराले उहाँहरु असन्तुष्टि हुनुहुन्छ होला । तर, अधिकांश रुपमा हामीले गाउँपालिकालाई आएको योजना, बजेटहरु सही किसिमले विनियोजन गरेको हुनाले उहाँहरुको गुनासाहरु यो गाउँपालिकामा छैनन् भन्ने नै लाग्छ ।

सहजतापूर्वक नै योजनाहरु सञ्चालन भएका छन् र कृषकहरु लगायत उपभोक्ताहरुको समस्या क्रमिक रुपमा गतवर्ष नभएका योजनाहरु यो वर्ष, यो वर्ष नभएका योजनाहरु अर्कोवर्ष क्रमिकरुपमा हामीले सम्बोधन गर्दै आएका छौ । उहाँहरुमा पक्कै पनि असन्तुष्टि गुनासा छैनन् भन्ने दाविका साथ भन्न सक्छु । 

फोटो -रावाबेंशी गाउँपालिका अध्यक्ष लिलानाथ निरौला । 


Views: 243