‘सबैको प्रिय कलाकार बन्ने इच्छा छ’

गोपिकृष्ण चापागाईं   POSTED ON : आश्विन २२, २०७७ (१०:०२ AM)

‘सबैको प्रिय कलाकार बन्ने इच्छा छ’

‘मिसेस नेपाल टुरिजम–२०१९’ की शीर्ष उपाधि विजेता हुनुहुन्छ छिरिङ डोल्मा शेर्पा । थुप्रै प्रतियोगीलाई पछि पार्दै उपाधि चुम्न सफल उहाँ पर्यटन, शिक्षा, मोडलिङ, अभिनय, व्यापार व्यवसाय, समाजसेवा जस्ता विभिन्न क्षेत्रमा क्रियाशील रहँदै आउनु भएको छ । पर्यटन क्षेत्रमा लामो समयदेखि आफूले काम गर्दै आएकाले पनि प्रतियोगिताको उपाधि जित्न सजिलो भएको बताउने उहाँ माया कुञ्ज मन्टेश्वरी किन्डरगार्टेनको अध्यक्ष, शेर्पा महिला महासंघको केन्द्रीय सदस्य, आदिवासी जनजाति महिला महासंघ प्रदेश–३ को उपाध्यक्षसमेत रहनु भएको छ । 

भूकम्प, पाढीपहिरो होस् पछिल्लो कोरोनाको कहर । नामबाट छिरिङ डोल्मा शेर्पा फाउण्डेशन खोलेर समाजसेवा गर्दै आउनु भएकी उहाँले कोरोना महामारीमा १३ सय बढीलाई राहतलगायत विभिन्न सहयोग प्रदान गर्नुभएको छ । ‘शिक्षाविनाको मानव जीवन अन्धकारमय छ’ भन्ने धारणाकी शेर्पा बालबालिकाको शिक्षामासमेत सहयोग गर्दै आउनु भएको छ । सानैदेखि नाचगान र गीतसंगीत भनेपछि हुरुक्कै हुने उहाँ मोडलिङ र अभिनयमा पनि सक्रिय हुनुहुन्छ । केही म्युजिक भिडियोमा अभिनय गर्नु भएकी शेर्पासँग र्याम्पशो, थुप्रै सौन्दर्य, बालबालिकाको प्रतियोगितालगायतमा निर्णायक बनेको अनुभव छ । दशँैलगतै छायांकनमा जाने तयारी गरेको चलचित्र ‘मुसी’ मुख्य अभिनेत्रीको रूपमा अनुबन्धित हुनुभएकी शेर्पासँग हिमालय टाइम्सका गोपिकृष्ण चापागाईंले गरेको छोटो कुराकानी–ः

‘मिसेस नेपाल टुरिजम–२०१९’ को शीर्ष उपाधि जित्दाको अनुभव कस्तो रहृयो ? 

‘मिसेस नेपाल टुरिजम २०१९’ को उपाधिले आफूमा एउटा जिम्बेवारी बढेको भानभयो । सामाजका लागि गरिरहेको भन्दा अझै योगदान दिनुपर्छ भन्ने लागेको छ । उपाधि जितेपछि विभिन्न अभियानमा सक्रिय हुनसमेत सजिलो भएको छ । आफूलाई चिनाउन सजिलो त भएको छ नै । सबैलाई विश्वास दिलाउन सजिलो भएको छ । सँगसँगै चुनौती र जिम्मेवारी बढेको छ ।

किन भाग लिनुभयो प्रतियोगितामा ?

म पर्यटन व्यवसायी पनि हुँ । यही क्षेत्रमा काम गर्ने सिलसिलामा मैले साथीहरूबाट ‘मिसेस नेपाल टुरिजम २०१९’ हुन लागेको थाहा पाए । प्रतियोगिताको टाइटल नै ‘मिसेस नेपाल टुरिजम’ भएकाले प्रतियोगिताले मेरो ध्यान खिच्यो । सहभागीका लागि अडिशनसमेत दिए । अडिशनबाट छानिए पनि उपाधिका लागि भिडे । सफलता पनि हात प¥यो । 

प्रतिस्पर्धा कतिको सहज थियो ?

उपाधि चुम्न सोचेजस्तो सजिलो भने रहेनछ । प्रतियोगितामा थुप्रै प्रतियोगीहरू थिए । सबैको आआफ्नै अनुभव र तयारी थियो । तर पर्यटन क्षेत्रमा लामो समयदेखि आफूले काम गर्दै आएकाले उक्त अनुभवसमेत मेरो लागि काम लाग्यो । म पहिलेदेखि नै आफ्नो समुदायमा सजिलै घुलमिल हुन्थे, कार्यक्रममा भाग लिन्थे । त्यो क्रममा म मानिसहरू कसरी बोल्छन्, बस्छन्, हिँड्छलगायत धेरै कुराको निगरानी गर्थे । सिक्थे । त्यो अनुभव प्रतियोगितामा सहयोगी बन्यो ।

सौन्दर्य प्रतियोगीतापछि आफूमा के परिवर्तन पाउनुभयो ?

हरेक दिन मानिसले आफूमा केही न केही परिवर्तन पाएकै हुन्छ । प्रतियोगिता जित्नु अगाडि म आफ्नो टोलमा, समुदायमा मात्र चिनिन्थे । उपाधिले देशभर चिनायो । जुनै काम गर्न पनि धेरैको साथ र विश्वास पाउन थाले । यो नै ठूलो उपलब्धि हो ।

सौन्दर्य प्रतियोगितामा अबको लक्ष्य के छ ?

राष्ट्रियस्तरको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल टुरिजम–२०१९’को उपाधि त जित्न सफल भए । अब यस्तै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यसमेत छ । 

कलाकारिता तिर पनि पक्कै रुचि होला ?

रुचि छ । सानैदेखि स्कुलमा आयोजना हुने गायन, नृत्यलगायत प्रतियोगितमा सहभागी हुन्थे । केही म्युजिक भिडियो अभिनय गरिसकेको छु । धेरै पहिले कोरियोग्राफर प्रभा अमात्यद्वारा सोल्टी होटेलमा आयोजित फेसन शोहरूमा मोडलिङ गरेको थिए । फिल्म अभिनयको तयारीसमेत गर्दैछु ।

कहिले र कस्तो फिल्म अभिनय ?

अभिनय गर्न लागेको फिल्मको नाम ‘मुसी’ हो । दशैँपछि सुटिङका लागि फ्लोरमा जाँदैछ । यो ऐतिहासिक दस्तावेजमा बन्न लागेकाले फिल्म हो । 

कस्तो भूमिकामा देखिँदै हुनुहुन्छ ?

यो फिल्मको म मुख्य नायिका हुँ । फिल्मको कथा मेरो वरिपरि नै घुम्नेछ । अन्य जानकारी अहिले नै सार्वजनिक नगर्ने निर्माण युनिटको योजना छ ।

अभिनयमा कुनै सपना छ कि ?

दर्शकका लागि राम्रो फिल्म दिने र सबैले चिन्ने, मनपराउने कलाकार बन्ने सपना छ ।

गीतसंगीतमा रुचि नि ?

सानैदेखि म नाचगान र गीतसंगीत भनेपछि हुरुक्कै हुन्थे । १९७४ एडीका गितारिष्ट फिरोज स्याङ्तान र गायिका कुन्ती मोक्तानको संगीतको विद्यार्थी पनि हूँ । भविष्यमा गीतसंगीतमा पनि केही गर्ने सोच त छ ।

अन्य रुचिको विषय ?

अभिनय, गीतसंगीतबाहेक रुचिको विषय समाजसेवा हो । म आफ्नै नाममा छिरिङ डोल्मा शेर्पा फाउण्डेशन खोलेर समाजसेवासमेत गर्दै आइरहेकी छु । हिमाल आरोहणका क्रममा ज्यान गुमाउने नेपालीको शिक्षादिक्षा र स्वास्थ्यका लागि फाउण्डेशनले काम गरिरहेको छ । कोरोना संक्रमणको महामारीका कारण सडकमा अलपत्र परिरहेकाको समेत सहयोग गरिरेहको छु । यसअगाडि बाढी पीडित, भूकम्पको समयमा पनि आफूले सक्दो सहयोग सर्वसाधारणलाई गरेको थिए ।

समाजसेवा, व्यवसाय, सौन्दर्य प्रतियोगिता धेरै क्षेत्रमा सक्रिय हुनुहुन्छ । समय मिलाउन गाह्रो पर्दैन ?

कहिले काही समय मिलाउन हब्बेहब्बे पर्छ । जहाँ इच्छा त्यहाँ उपाया भने झै अहिलेसम्म म्यानेज गरिरहेको छु । समाजसेवा, व्यवसाय, सौन्दर्य प्रतियोगितालगायत जति पनि क्षेत्रमा म क्रियाशील छु । त्योमध्ये कुनै क्षेत्र छोड्न पनि सक्दिनँ । व्यवसाय बाच्न गर्नैपर्छ । समाजसेवा र सौन्दर्य प्रतियोगिता मेरो रुचिको क्षेत्र हो ।

सौन्दर्य प्रतियोगिताको विजेता, मोडल, अभिनेत्री फेसनमा विशेष रुचि होला होइन ?

फेसनमा रुचि छ । के चलेका छन् । के आउँदैछ भनेर जानकारी राख्छु । मानिसहरू फेसनलाई ग्ल्यामरको रूपमा हेर्छन् । कसलाई कुन पहिरन राम्रो देखिन्छ भन्नु नजरमा भरपर्ने कुरो हो । मलाई आफ्नो कल्चर झल्कने पहिरन बढी मनपर्छ । त्यही पहिरनमा म राम्री देखिन्छुजस्तो लाग्छ ।


Top