31st October | 2020 | Saturday | 9:10:24 PM

भद्दा प्रस्तुति अशोभनीय हुन्छ, बिम्बको रूपमा सुन्दर हुन्छ : सर्जक अमर बान्तु

  POSTED ON : कार्तिक १, २०७७ (१०:०३ AM)

भद्दा प्रस्तुति अशोभनीय हुन्छ, बिम्बको रूपमा सुन्दर हुन्छ : सर्जक अमर बान्तु

कवि एवं गीतकार अमर बान्तुले ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्र्रह कृति र ‘अमर भावना’ र ‘अमर भावना–२’ एल्बम पाठकमाझ ल्याउनु भएको छ  । थुप्रै फुटकर गीत र कविता पाठकमाझ ल्याउनुभएका उहाँको ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो । गीत लेखन तथा सामाजिक कार्यहरूमा पनि आफूलाई सक्रिय बनाउँदै आउनु भएका अमरले गीतकार संघको अक्षयकोष स्थापना गर्न १५ लाख रुपैयाँ प्रदान गरेर एक उदाहरणीय कार्य गर्नुभएको छ । बुबा लक्ष्मीप्रसाद राई र आमा वृन्दालक्ष्मी राईका सात सन्तानमध्येका काइँला छोरा अमर भोजपुरको दिल्पा नागिङमा जन्म भई हाल ललितपुरको मानभवनमा बस्दै आउनुभएको छ । अमरका कार्यहरूलाई श्रीमती भावना राई र एक छोरी अनि एक छोराले साथ दिइरहनुभएको छ । कवि, गीतकार, साहित्यकार तथा सामाजिक व्यक्तित्व अमरसँग हिमालय टाइम्सका लागि हिँड्दा हिँड्दै कृष्ण भुसालले गर्नुभएको कुराकानीः–

अमर बान्तु को हो ?

मैले भोगेको जीवनलाई हेर्दा मलजल, स्याहार, पाएर ढकमक्क फुलेको गमलाको फूलको बोट त अवश्य पनि होइन म । चट्टानमाथि उम्रिएको पीपलको बोट हुँ जस्तो लाग्दछ, जसमा धेरै संघर्षका कथा विद्यमान छन् ।

साहित्यमा बढी रुचिको विषय के हो ?

गीत–कविता लेखिरहेको हुनाले सायद मेरो रुचि यसैमा होला । पछि गीत–कविताबाट पूर्ण अभिव्यक्त हुन सकिएन भने अन्य लामो विधामा रुचि होला ।

जीवन के हो ? गीत–कवितालाई कसरी परिभाषित गर्नुहुन्छ ?

जीवन एउटा अनन्त, अपुरो, अधुरो यात्रा हो भने कर्म उसको परिभाषा । गीत–कविता जीवनका रंगहरू हुन् भने जीवन स्वयं एउटा क्यानभास हो । कसले, कसरी रंगहरूको संयोजन गर्दछ, ऊ त्यसरी नै खुल्दछ ।

कसका लागि लेख्नु हुन्छ गीत–कविता ?

म पहिला आफ्नै लागि लेख्छु । कारण, विषयवस्तु र आफूमा भएको भिन्नतालाई खुट्ट्याउन जब भिन्नता थाहा पाउँछु, समाजोपयोगी अनुभूत गर्छु, तब मेरोमात्र होइन यो समाजको अंश हो है भनेर सार्वजनिक गर्छु ।

तपाइँले लेख्ने गीत–कविताको आधार के हो ?

म साहित्यकार अथवा लेखक थिइनँ तर हाम्रै समाजका रीति–कुरीति र भेदभावहरूले मलाई विश्वासका कलम दिए । म प्रायः फुटबल हेर्छु, दुवै टिम मेरो कोही पनि हुँदैनन् । जब खेल सुरु हुन्छ, एउटा टिम अलिक कमजोर महसुस हुन थाल्दछ, तब मेरो सपोर्ट कमजोर टिमप्रति भइहाल्छ । सायद् आममानिसलाई यस्तै हुन्छ होला । कारण, मानवीय स्वभाव नै यस्तै हुन्छ कि निर्धाको पक्षमा उभिने । त्यस्तै, मेरा कलमहरू पनि समाजका निर्धा, दुब्ला, पिछडिएका, कुसंस्कार, विसंगति, बेथितिप्रति नै चल्ने गर्छ । मेरा गीत–कविताका आधार भनेको नै जहिले पनि निर्धाहरूका आवाजहरू हुन् ।

साह्रै मनपर्ने गीत–कविता ?

सकारात्मक सोच राखेर लेखेका सिर्जनाहरू सबै प्रिय लाग्छन् । नकारात्मक सोच भएका सिर्जना मन पर्दैन । कारण, त्यस्ता सिर्जनाले समाजलाई विखण्डन गर्छन् ।

सबैभन्दा मनपर्ने गीतकार, संगीतकार र गायक÷गायिका ?

हामी स्रष्टाहरू आफ्नो खुशीका साथै अरूको खुशीका लागि पनि त्यत्तिकै लालयित हुन्छौं । त्यसैले मेरो खुशीभन्दा अरूको खुशी घट्ला कि भन्ने त्यत्तिकै चिन्तित हुन्छौं । त्यसैले म कसैको नाम छुटाउन चाहन्न सबै राम्रा छन् ।

वर्तमान समयमा आएका गीतहरूमध्ये मन पर्ने गीत ?

कुनै ढोकाबाट एक–एकजना मानिस आवत–जावत गरिरहेका छन् भने भन्न सकिन्छ कि फलानो आयो, फलानो गयो । तर, हृवार्र एकैचोटी चेपाचेप गरेर आइरहेका, गइरहेका रहेछन् भने को आयो, को गयो पत्तै हुँदैन । गीतसंगीतको क्षेत्र अहिले विशाल बनेको छ । पहिला–पहिला एउटै रेडियो नेपालबाट एउटै गीत एकैदिनमा पटकपटक सुन्नु पथ्र्याे । सीमित गीतकार, सीमित संगीतकार, सीमित गायक÷गायिका हुन्थे । त्यसैले सबै थाहा हुन्थ्यो । तर, अहिले त्यस्तो माहोल छैन । नेपाली संगीतको धरातल विशाल बन्दै गइरहेको छ । कदम–कदममा प्रतिस्पर्धा छ । धेरै राम्रा गीतसंगीत आइरहेका छन् भने विभिन्न स्वाद दर्शक–श्रोताले पाइरहेका छन् जस्तो मलाई लाग्दछ ।

राम्रो गीत, राम्री युवती र राम्रो रक्सीमध्ये कुनलाई रोज्नु हुन्छ ?

तपाइँको सुन्दर प्रश्नका लागि धन्यवाद । कुन रोज्नु हुन्छ भन्नुभएको हुनाले मलाई सजिलो बनाइदिनु भयो । परिस्थितिअनुसार रोज्नु नै उपयुक्त हुन्छ होला तर कुन छोड्नु हुन्छ भन्ने प्रश्न सोध्नुभयो भने बडो कठिन हुन्थ्यो । कारण, यी सबै रोज्जा चिजहरू हुन् । सबै उस्तै मादक छन्, सेलिब्रेसनमा नभई हुँदैन ।

एकथरि मानिस साहित्यमा यौन चाहिन्छ भन्छन्, अर्काथरि यौन बर्जित छ भन्छन् । यहाँको विचारमा ?

हुन त यौनविनाको संसार कल्पना गर्न सकिँदैन तर यसको व्यवस्थापन चाहिँ त्यो समाजको मुख्य विषय हो । सबैभन्दा खोजीको विषय भएको हुनाले मिडियामा बढी बिक्री हुन्छ भने भद्दा प्रस्तुति अशोभनीय हुन्छ बिम्बको रूपमा सुन्दर हुन्छ । गीत–कविताबाहेक अन्य विषयमा लेख्ने झोंक चलेको छैन ?

झोंक चलेर लेखिने होइन । हृदय तरंगित भएपछि लेखिने हो । गीत–कविताको माध्यमबाट पूर्ण अभिव्यक्त हुन सकिएन भने लामो विधामा प्रवेश गर्न सकिन्छ होला ।

तपाइँलाई आफ्ना गीत–कविता श्रोतामाझ पु-याएपछि कस्तो महसुस हुन्छ ?

मेरो जीवनमा विभिन्न प्रतिकूल समयले हानेका चाबुकका सुम्लाहरू त्यति बेलासम्म दुखिरहन्छन्, जति बेलासम्म कसैले हौसलाका हातहरू दिएर उठाउँदैनन् । यस्तै, विभिन्न व्यक्तिको जीवनमा आइपरेका दुःख, पीडा कष्टहरू खिल बनेर तबसम्म हृदयमा गडिरहेका हुन्छन्, जबसम्म ऊ कुनै माध्यमबाट थिलथिलाउन सक्दैन । यसरी मेरा जीवनका वेदनाहरू अक्षरांश बनेर श्रोता तथा दर्शकसामु पुग्दा मलाई स्वर्गीय आनन्दको अनुभूति महसुस हुन्छ ।


Views: 102