17th April | 2021 | Saturday | 10:29:50 PM

जुन बेला जे उब्ज्यो त्यहीँ लेख्छु : साहित्यकार शोभा केसी

  POSTED ON : कार्तिक २९, २०७७ (८:२५ AM)

जुन बेला जे उब्ज्यो त्यहीँ लेख्छु : साहित्यकार शोभा केसी

मुलुककै राजधानी काठमाडौंको डिल्लीबजारमा बुबा गेहेन्द्र केसी र आमा मखनदेवीको कोखबाट जन्मिनुभएकी शोभा केसीले नेपाली साहित्यकाशका बहुविधामा कलम चलाउँदै आउनुभएको छ । कविता–नाटक र गीत लेखनमा विशिष्टता प्राप्त गर्नुभएकी उहाँले राष्ट्रिय गीतमार्फत आफूलाई अब्बल साबित गरिसक्नुभएको छ । साहित्य समाजबाट टिपिन्छ र समाजकै लागि लेखिन्छ भन्ने मान्यता राख्नुहुने उहाँका विभिन्न समसामयिक विषयमा समेत लेख रचना प्रकाशित भइरहेका हुन्छन् । कला क्षेत्रमा पनि उहाँको सक्रियता चाखलाग्दो छ । 

शोभा केसीको नाम नेपाली गीत लेखनमा नारी हस्ताक्षरमा सशक्त रूपमा आउँछ । उहाँले रचना गरेका थुप्रै गीत स्रोता÷दर्शकमाझ लोकप्रिय छन् । उहाँको पहिलो गीत लाक्पा शेर्पाले गाउनुभएको थियो । विक्रम संवत् २०४८ सालमा सार्वजनिक भएको लाक्पा शेर्पाको ‘झुकेर दुख्छ’ एल्बममा उहाँको गीत समावेश भएको थियो । कला साहित्यका विविध विधामा रहेर आफूलाई प्रस्तुत गर्दै आउनुभएकी साहित्यकार शोभासँग हिमालय टाइम्सका लागि हिँड्दा हिँड्दै कुष्ण भुसालले गर्नुभएको कुराकानी : 

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

बेला नै यस्तो छ । कोरोना कहर बढ्दो छ । घरमा नै थन्किएर बसेकी छु । गर्नु त धेरै छ  । मनले अझै धेरै गर्न भन्छ । 

तपाईँले आफूलाई कसरी चिनाउन चाहनुहुन्छ ?

म बाबाकी प्यारी छोरी थिएँ, अहिले उहाँ हुनुहुन्न । यस्तै यो समाजको एउटा सदस्य । साहित्यका विविध विधामा कलम चलाइरहेकी एउटी नारी । पूर्णरूपमा स्वस्थ नभए पनि आफ्नो क्षमताले भ्याएसम्म यो राष्ट्रप्रति समर्पित एक सिपाही भन्न रुचाउछु आफूलाई ।

तपाईँको साहित्यलेखन कहिलेदेखि सुरु भयो ?

मेरो शारीरिक अवस्थाका कारण अलिक ढिलो मात्रै स्कुल गएँ । बुबाबाट नै मैले प्रारम्भिक शिक्षा पाएँ । बुबाले नै मलाई सबै सिकाउनुहुन्थ्यो । मैले सात वर्षको उमेरदेखि कथा, गीत, कविता लेख्न सुरु गरेकी हुँ ।

पहिलो रचना के थियो ?

रेडियो नेपालको बाल कार्यक्रम ‘कोभन्दा को कम’ प्रतियोगिताका लागि लेखिएको कथा ‘घमण्डको व्यापार’ थियो । जुन कथा प्रथम भएको थियो र पुरष्कृत पनि भएकी थिएँ । त्यसपछि चाहिँ कविता लेख्ने र बालगीत गाउने गर्न थालेकी हुँ ।

तपाईं अभिनय क्षेत्रमा पनि हुनुहुन्थ्यो । तपाईंले अभिनय गर्नुभएका केही नाटक, टेलिसिरियल र चलचित्रको नाम लिनुपर्दा  ?

मैले अभिनय गरेका नाम चलेका नाटकमा मुना–मदन (गीतिनाटक), जसमा मदनकी बूढीआमाको भूमिका गरेकी थिएँ । त्यस्तै, टेलिसिरियलमा रुपमति (धारावाहिक), जसमा धाई आमाको भूमिका थियो । नाटक र टेलिफिल्ममा धेरै जस्तो बूढी र कमेडियन भूमिका नै पाउँथें । यस्तै ठूलो पर्दामा पहिलो फिल्म ‘बेहुली’ थियो । अनि ‘स्वर्ग’, ‘लोभी पापी’, ‘सम्पत्ति’ र ‘पहिलो प्रेम’ रहेका छन् ।

नाटक लेखनमा पनि आउनुभयो, होइन  ?

हो, नाटक लेखनसँगै अभिनय गरेकी छु । रेडियो नाटकमा शाही सेनाको रेडियो कार्यक्रममा पनि थुप्रै रेडियो नाटक लेखेकी र खेलेकी छु । शिखा मल्ल दिदीसितको चिनापर्चीपछि उक्त जिम्मेवारी पाएकी थिएँ ।

तपाईं कसका लागि लेख्नुहुन्छ  ?

आफ्नै लागि । समाजका लागि । साहित्य समाजबाट टिपिन्छ र समाजकै लागि लेखिन्छ । त्यसमा कतै–कतै आफू पनि मिसिएकोले आफ्नै लागि लेखिएको हो भन्न÷मान्न कञ्जुस्याइँ गर्नुहुन्न ।

यहाँले साहित्यका धेरै विधामा कलम चलाउँदै आउनुभएको छ । सबैभन्दा मन पर्ने विधा चाहिँ कुन हो  ?

मलाई मनपर्ने विधा यो वा त्यो भन्ने छैन । जुन बेला जस्तो जे उब्ज्यो त्यहीँ लेख्छु । कहिले कविता त कहिले गीत, कहिले नाटक त कहिले कथा अनि समसामयिक व्यंग्य । तर, धेरैजसो कथा र गीत नै पाठक स्रोतामाझ ल्याएकी छु । मधुपर्क र अन्य फुटकर साहित्यिक किताबहरूमा कथा छापिएको र गीती एल्बम निस्किएकाले चाहिँ त्यसमा धेरै मन बसेको भान हुन्छ ।

तपाईंले लेख्ने प्रेरणा कहाँबाट प्राप्त गर्नुहुन्छ  ?

मेरो बुबाको काख, माया, हौसला, आफैँले भोगेका दुःख पीडा, कठिनाइहरू नै हुन् भन्छु म ।

कहिलेसम्म गीत लेख्छु जस्तो लाग्छ ?

गीत गाउने, निकाल्ने निरन्तरता चाहिँ प्राण रहेसम्म कायम रहन्छ । यी हेर्नुहोस् न शरीरले साथ दिन छोडिसकेपछि पनि निरन्तरता दिइरहेकै छु । यो प्राण रहेसम्म रहन्छ भन्ने ज्वलन्त उदाहरण नै हो नि ।

यहाँले सामाजिक परिवेशलाई टपक्क टिपेर गीतमार्फत व्यंग्य पनि प्रस्तुत गर्नुभएको छ, होइन ?

हो, कुनै बेला राजनीतिक–सामाजिक विकृतिलाई टिपेर, समेटेर गीत बनाउँथें र प्यारोडी बनाएर गाउँथे क्याम्पस पढ्दा । यस्तै गीतको एल्बम पनि निकालें म्युजिक नेपालबाट आम निर्वाचनका बेला २०५१ मा ‘कुर्सीमाथि बस्ने अब को होला’ । यस्तै गत वर्षको तीज गीतमा पनि राजनीतिक व्यंग्य पस्किएकी थिएँ । यसपालिको तीजमा भने दुई गीत स्रोता÷दर्शकमाझ ल्याए यसमा भने व्यंग्य थिएन । सबैले मनपराइदिनुभयो खुसी छु । यस्तै केही समयअघि सार्वजनिक राष्ट्रिय गीतलाई पनि औधी मनपराइदिनु भएकोमा शोभा केसी दंग परेकी छ यहाँहरू सबैमा धन्यवाद भन्न चाहेँ यही वार्तामार्फत ।

अन्त्यमा ?

जन्मेपछि अनेकौं घटना, पीडा, खुसी, हेला, मान, माया, प्रेरणा सबै पाइन्छ र भोग्दै जानु पनि पर्छ । त्यसैलाई नै सिंगोे जिन्दगी भनिन्छ । आत्तिनु हुँदैन र मात्तिनु पनि हुँदैन । संघर्ष गर्दै समाधान गर्दै जानुपर्छ, यी मैले जस्तै हाँसी– हाँसीकन । यही बिन्ती गर्छु सबैसित । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारका अवसरमा हार्दिक मंगलमय शुभकामना भन्न चाहन्छु । कोरोनाको कहर बढिरहेका बेला सुरक्षित रूपमा हाम्रा चाडपर्वहरू मनाऔं भन्न चाहन्छु ।


Views: 121