मानिसको भोगाइका अवयवहरू सजीवरूपमा पस्किने कोसिसमा हुन्छु –डा. डीआर उपाध्याय

हिमालय टाइम्स   POSTED ON : मंसिर ६, २०७७ (१:०९ PM)

मानिसको भोगाइका अवयवहरू सजीवरूपमा पस्किने कोसिसमा हुन्छु –डा. डीआर उपाध्याय

साहित्यकार, उपन्यासकार एवं गीतकारका रूपमा पाठक, श्रोता तथा दर्शकमाझ चिनिनुभएका डा. डीआर उपाध्यायको अर्को परिचय हो विश्वकीर्तिमनी गीतकार । उहाँले सिर्जना गरेका थुप्रै गीतले गिनिजबुक अफ वल्र्ड रेकर्डका साथै वल्र्ड बुक्स अफ अमेरिका, अष्ट्रेलिया, वल्र्ड बुक्स अफ लण्डन, मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रेकर्ड, जिनस वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्डलगायत विभिन्न देशबाट वल्र्ड रेकर्ड प्राप्त गरेका छन् । 

उहाँले हालसम्म गीत संगीतका विविध विधामा ३२ वल्र्ड रेकर्ड कायम गर्न सफल हुनुभएको छ । स्तम्भकारका रूपमा पनि विभिन्न दैनिकमा लेखहरू उहाँका प्रकाशन भइरहेका हुन्छन् । ‘वज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’ र ‘सपनाकी रानी’ जस्ता दश उपन्यास पाठक माझ ल्याउनुभएका डीआरका २३ एल्बमका सयौं गीत श्रोता÷दर्शकमाझ लोकप्रिय छन् । चाडपर्वका गीतदेखि लिएर छोरी बिदाइ गर्दाका, पर्यटन, स्वास्थ्य तथा योग, महिला प्रताडना, मजदुर किसान भरिया, विभिन्न परिवेश त्यस्तै, मेजर स्केलका, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतलगायत विभिन्न क्षेत्र, व्यवसायसँग सम्बन्धित गीत श्रोता÷दर्शकमाझ पस्किनुभएका उपाध्यायसँग हिमालय टाइम्सका लागि हिँड्दा हिँड्दै कृष्ण भुसालले गर्नुभएको कुराकानी

तपाइँको दृष्टिकोणमा साहित्य के हो ?

मलाई लाग्छ साहित्य त्यो समाज, परिवेश, भोगाई र मानिसको हृदयको सबैभन्दा सुन्दर ऐना हो । जुन ऐनमा हामीले दुःख र सुखका साथै जीवनका अनेक घुम्ती, उक्काली ओरालीका छायाँ देख्छौं । सामाजिक रूपान्तरणको भरपर्दो जग नै साहित्य हो । 

सिर्जनकर्ममा लाग्न के ले प्रेरित ग¥यो ?

आममानिसको पीर, वेदना, पीडा र आँसुलाई सानैदेखि आफ्नै ठान्थे, त्यहीँ मानिसका गहिरो वेदना, रंगीन सपना र कठोर संर्षहरूले नै मलाई सिर्जनकर्ममा लाग्न प्रेरित ग¥यो । त्यसैले मेरा रचनामा पनि प्रायः मानिसको भोगाइका अवयवहरू सजीवरूपमा पस्किने कोसिसमा हुन्छु । म साहित्यमा जनजीवनले भोग्दै आइरहेका तमाम आरोह–अवरोहको स्पष्ट चित्र उतार्न रूचाउँछु । समाजलाई स्वस्थ, सुन्दर र गतिशील बनाउन साहित्यको अहम् भूमिका रहन्छ भन्ने लाग्छ मलाई । 

यो क्षेत्रमा तपाइँलाई पारिवारिक सपोर्ट कस्तो छ ?

मलाई साहित्यमा लाग्न सबैभन्दा बढी प्रेरणा र प्रोत्साहन दिने नै मेरो परिवार हो ।

पछिल्लो समय के लेखिरहनु भएको छ ?

गीत, कविता, मुक्तकहरू लेखिरहेको छु । यस्तै नयाँ उपन्यास ‘कफी लभ’ पाठकमाझ ल्याउने तयारीमा छु यतिबेला ।

नेपाली गीतकार तथा साहित्यकारकोे सूचीमा आफूलाई कहाँनेर पाउनुहुन्छ ?

नेपाली साहित्यमा स्रष्टाहरूको बाक्लो उपस्थितिप्रति गर्व लाग्छ मलाई । जुन उपस्थितिबीच मेरो पनि कहीँ आफ्नै स्पेस बनाउने कोसिसमा छु म । त्यो स्पेसलाई सुरक्षित र मजबुत बनाउने कुरामा म सचेत छु ।

यहाँका गीतले थुप्रै विश्व रेकर्ड कायम गर्न सफल भएका छन्, कसका लागि लेख्नुहुन्छ यहाँ ?

म समाजका लागि लेख्छु, आत्मसन्तुष्टिका लागि लेख्छु । रेकर्ड, पुरस्कार र अवार्डका लागि गीत नलखेको भए पनि गीत श्रोता÷दर्शकले मन पराउँदै जाँदा गीतले पुरस्कार, अवार्ड दिलाउनुका साथै रेकर्डहरू राख्न सफल भएका छन् । कुनै पनि सिर्जनालाई अलिक फरक ढंगले प्रस्तुत गरौं भन्ने लाग्छ, फरक र अनौठो ठंगले प्रस्तुत गर्दा त्यो नयाँ चिज हुँदो रहेछ र रेकर्ड बन्दो रहेछ ।

लेखनमा के कुरा जरुरी हुने रहेछ र के कुराको खोजी गर्नुपर्छ भन्ने लाग्छ ?

हरेक लेखकले आफ्नो लेखनमा नवीन विषयहरूको खोजी गर्नुपर्छ । साथै, आफ्नै भाषा–शैलीको निर्माण गर्नुपर्छ भन्ने लाग्छ मलाई । त्यही हो लेखकको मौलिकता या पहिचान पनि । अहिले सबै मानिस हतारमा छन्, जसलाई मध्यनजर गर्दै हरेक लेखकले बोझिलो होइन, बरू आमपाठकले तुरुन्त बुझ्ने गरी आफ्ना रचनालाई पस्कनुपर्छ भन्ने लाग्छ मलाई ।


Top