17th April | 2021 | Saturday | 11:08:08 PM

कोरोनाले थलिएको अर्थतन्त्र उकास्न सक्षम नेतृत्व चाहिन्छ : चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार

  POSTED ON : मंसिर १२, २०७७ (८:०३ AM)

कोरोनाले थलिएको अर्थतन्त्र उकास्न सक्षम नेतृत्व चाहिन्छ : चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्षका उम्मेदवार

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभा बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । मंसिर १३ गतेसम्म सञ्चालन हुने साधारणसभा तथा निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष हुने भएकोले पनि उपाध्यक्ष निर्वाचन चासोको विषय बनेको हो । वरिष्ठ उपाध्यक्ष पदमा हालका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानबीच तीव्र प्रतिस्पर्धा हुने संकेत देखिएको छ । ढकाल यसअघि सर्वसम्मत उपाध्यक्ष चयन हुनुभएको थियो भने प्रधान विगत लामो समयदेखि महासंघमा सक्रिय रहँदै आउनुभएको छ । दुवै पक्षले निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने दाबी गर्दै आएका छन् । यसै सन्दर्भमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालसँग गरिएको कुराकानी ः

चुनावमा कस्ता विषयलाई प्राथमिकतामा राखेर एजेण्डा बनाउनुभएको छ ?

देशको समृद्धिको यात्राको दरिलो खम्बा हो निजी क्षेत्र । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघ नै । महासंघको नेतृत्व वास्तविक स्टेकहोल्डरले लिएमा मात्र समृद्धिको यात्रामा राज्यको भरपर्दो सारथि हुन सकिन्छ भन्ने मेरो विश्वास छ । किनभने निजी क्षेत्रको दरिलो उपस्थितिबिना राज्य मात्रको पहलमा समृद्ध देशको परिकल्पना गर्न सकिँदैन । तसर्थ, आर्थिक समृद्धिका लागि राज्य र निजी क्षेत्रको अर्थपूर्ण साझेदारीलाई विशेषरूपमा उठाएको छु । त्यस्तै, लगानीका लागि सहजीकरण गर्ने, व्यवसायीका हक अधिकारको संरक्षण र सम्बद्र्धन गर्ने कुरालाई पनि एजेण्डामा विशेष स्थान दिएका छौं । नेपालमा एफडिआई भिœयाउन लगानीमैत्री वातावरण सिर्जना गर्न नेपाली उद्योगी, व्यापारी साथीहरूलाई विदेशी लगानीकर्ताको नेपालको साझेदार बनाउन योजनाबद्धरूपमा अबको टिम अगाडि बढ्नेछ ।

साना मझौला व्यवसायीदेखि ठूला उद्योगी व्यवसायीसम्मका समस्या समाधानका लागि प्रभावकारी पहलकदमी लिने र जटिल विषयवस्तुलाई नीति निर्माता तहसम्म पु¥याउने हाम्रो प्रतिबद्धता रहेको छ । 

नेतृत्वका लागि अलिक हतार गर्नुभयो, यसपटक आफूभन्दा सिनियर र अनुभवीलाई स्थान दिनुपथ्र्यो भन्ने बहस पनि चलेको छ नि ?

यसमा मेरो प्रतिप्रश्न के छ भने, नेतृत्व दाबीका लागि उमेर र महासंघमा आबद्ध समयावधि नै स्तरीय मापदण्ड हुन् त ? महासंघको नेतृत्वमा आउन महासंघमा रहँदा कसले पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह ग¥यो र आम उद्योगी, व्यवसायीका समस्याप्रति जानकार र समाधानका लागि पहल गर्न सक्ने सक्षम व्यक्ति को हुन सक्छ भन्ने विषयमा समीक्षा गरिनु आवश्यक छ कि छैन ? उमेरका सन्दर्भमा मैले अमेरिकाका राष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टन र डोनाल्ड ट्रम्पको कार्यकाललाई उदाहरणका रूपमा प्रस्तुत गर्ने गरेको छु । कुन उमेरका व्यक्तिको कार्यकाल सफल रहृयो त ? तसर्थ महासंघको नेतृत्वका लागि विशुद्ध व्यवसायी आउनुपर्दछ । त्यस्तो व्यवसायी जो सबल, सक्षम र सिर्जनात्मक छ र समग्र व्यावसायिक हित उसको प्राथमिकता हो ।

चुनावका बेला व्यावसायिक हक हितका कुरा गर्ने, चुनावपछि स्वार्थपूर्तितर्फ केन्द्रित हुने नेतृत्वमाथि आरोप लाग्ने गरेको छ नि ? 

हाम्रा अग्रजको संघर्ष, निष्ठा र लगनले गर्दा महासंघ आज यो स्थानसम्म आइपुगेको छ । चुनाव जित्न मात्र वा कुनै व्यक्तिगत लाभ लिन मात्र आम व्यवसायीसँग नजिक हुने, त्यसपछि महासंघलाई प्रयोग गर्दै राजनीति गर्ने गरेको गुनासो आम उद्योगी व्यवसायीबाट मैले पनि सुनेको छु । यी विगतका कुराहरू भए तर आगामी दिनमा यस्ता प्रवृत्तिहरू दोहोरिने छैनन् भन्नेमा आम उद्योगी, व्यवसायीलाई विश्वस्त पार्न चाहन्छु ।

नतिजा आफ्नो पक्षमा आउनेमा विश्वस्त हुनुहुन्छ, आधार के छन् ?

सानादेखि ठूला उद्योगी, व्यवसायी एवं पेसागत लगानीकर्ताको साझा उम्मेदवार हुँ म । मेरो उम्मेदवारीमा आम उद्योगी, व्यवसायीले अपनत्व महसुस गर्नुभएको छ । मैले आम व्यवसायीका विषयलाई प्राथमिकताको केन्द्रमा राखेको छु । यसअघि महासंघमा रहँदा मैले मेरो पद र कार्यक्षेत्र अनुसारको भूमिका पूरा गरेको छु । त्यसैले देशैभरिका उद्योगी, व्यवसायीको आवाजलाई सम्बोधन गर्दै समग्र उद्योग व्यवसाय र देशको हितलाई ध्यानमा राखेर अघि बढ्न उम्मेदवारी दिएको हो । 

त्यस्तै, मेरो व्यावसायिक नेटवर्क ७७ जिल्ला, नगर तथा टोलसम्म पुगेको छ । मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट जिल्ला तथा नगर, एसोसिएट तथा वस्तुगतका सबै क्षेत्रमा निकै राम्रो अवस्था छ । जितका लागि यो बलियो आधार हो । त्यस्तै, महासंघको संस्थागत क्षमता अभिवृद्धिसँगै यसलाई गतिशील बनाउँदै नयाँ उचाइमा पु¥याउन मेरो साथमा सक्षम अनि प्रतिबद्ध टिम पनि रहेको छ । हाम्रो टिमले गाउँ जिल्ला, नगरदेखि अन्तर्राष्ट्रियस्तरसम्म र नीतिगत तहसम्म पहुँच पु¥याउन सक्ने हैसियत राख्छ । यसले साना तथा ठूला व्यवसायीका समस्या समाधानमा सक्रिय भूमिका निभाउन सक्छ । तसर्थ, नतिजा हाम्रो पक्षमा आउनेछ भन्नेमा म विश्वस्त छु ।

कारोनाबाट थलिएको अर्थतन्त्रलाई नयाँ नेतृत्वले कसरी उठाउन सक्ला ?

निश्चय पनि कोरोनाले थलिएको निजी क्षेत्र र देशको अर्थतन्त्र माथि उकास्न सक्षम र सबल नेतृत्व चाहिन्छ र यसैका लागि हामी महासंघको नेतृत्व गर्न अघि बढेका हौं । यस विषम परिस्थितिसँग जुध्दै समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ हामी लाग्नुपर्ने अवस्था छ । यस विषयलाई मैले तत्काल महासंघतर्फबाट पहल गर्नुपर्ने प्राथमिकतामा राखेको छु । कोरोनाका कारण नेपालको आर्थिक क्षेत्रमा निकै गम्भीर असर पारेको छ । हामी महासंघतर्फबाट नेपालको उद्योग, व्यवसायमा के असर पा¥यो र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा ठोस योजना ल्याउने छौं, यसका लागि हामीले देशैभरका उद्योगी व्यवसायीबीच नियमित अन्तरक्रिया गरिरहेका पनि छौं ।

हालको ध्रुवीकरणले निर्वाचनपछि सँगै काम गर्न कत्तिको सहज होला ?

पहिलो कुरा त स्वच्छ र प्रजातान्त्रिक विधिबाट हुने निर्वाचनलाई गलत मान्नु हुँदैन । चुनावले कुनै पनि संस्था कमजोर हुँदैन । प्रतिस्पर्धाले महासंघलाई अझ बलियो बनाउँछ । स्वभाविकरूपमा निर्वाचनमा गइसकेपछि धैरैभन्दा धेरै मतदातालाई आफ्नो पक्षमा पार्न हरेक उम्मेदवारले जोडतोडले प्रयास गर्छ । नतिजा आफ्नो पक्षमा नआउन सक्छ तर पनि यसलाई स्वीकार गर्दै निर्वाचित हुनेलाई सहयोग गरी संगठन मजबुत बनाउनुपर्छ । महासंघमा आबद्ध हरेक व्यवसायीको यो मुख्य दायित्व हो । म स्वस्थ हिसाबले निर्वाचनमा प्रतिस्पर्धा गर्नेछु र मंसिर १३ पछि सशक्त महासंघ निर्माण गर्न बिना पूर्वाग्रह काम गर्नेछु ।


Views: 156