17th April | 2021 | Saturday | 10:23:40 PM

प्रांगारिक मलमा पनि अनुदान दिनुपर्छ : रोशन सिलवाल, मार्केटिङ डाइरेक्टर, अर्गानिक बायो फर्टिलाइजर प्रालि

  POSTED ON : मंसिर २०, २०७७ (९:०९ AM)

प्रांगारिक मलमा पनि अनुदान दिनुपर्छ : रोशन सिलवाल, मार्केटिङ डाइरेक्टर, अर्गानिक बायो फर्टिलाइजर प्रालि

प्रांगारिक मल उद्योगको अवस्था कस्तो छ ? 

पछिल्लो समय प्रांगारिक मलको उत्पादन बढ्दो क्रममा छ तर बजार र माग भने खासै छैन । अहिले पनि अधिकांशले प्रांगारिकभन्दा रासायनिक मल नै खोज्ने भएकोले अपेक्षाअनुसार प्रांगारिक मलको बजार बढ्न नसकेको हो । प्रांगारिक मल उद्योगले ठूलो लगानी गरेका छन् र लगानी अनुसारको प्रतिफल पाउनसक्ने अवस्था छैन ।

भनेपछि प्रांगारिक मलको बजार छैन ?

बजार छैन भन्नुभन्दा पनि माग छैन भन्नुपर्छ । विगतको तुलनामा केही माग त बढेको छ, मानिसहरूमा मलप्रतिको धारणामा परिवर्तन हुँदै आएको छ, स्वास्थ्यप्रतिको सचेतना बढ्दै गएको छ, सोचेजस्तो नभएको मात्रै हो, हामीले प्रांगारिक मलको माग हृवात्तै बढ्ला भन्ने सोचेका थियौं, त्यस्तो भने देखिएन । शहरी क्षेत्रमा यसको माग बढेको छ । ग्रामीण क्षेत्रका कृषक अझै पनि प्रांगारिक मलप्रति विश्वस्त हुनसकेका छैनन् । लगानी ग¥यो, काम गरेन भने के गर्ने भन्ने उनीहरूमा आशंका देखिएको छ । उनीहरूले रिक्स लिन नचाहिरहेको देखिएको छ ।

यसको खपत बढाउन के गर्नुपर्ला ?

यसका लागि राज्यस्तरबाटै पहल हुनुपर्छ । सरकारले अनुदानस्वरूप प्रांगारिक मल उपलब्ध गराउने व्यवस्था हुनुपर्छ र प्रांगारिक मलको फाइदाको प्रचारप्रसार गर्नुपर्छ । सरकारले आयातीत रासायनिक मलका लागि जति पनि अनुदान दिएको छ, आफ्नै देशमा उत्पादित प्रांगारिक मलमा अनुदानको व्यवस्था छैन, प्रांगारिक मलको प्रवद्र्धनमा पनि चासो दिएको छैन । नेपालमा वार्षिक झण्डै १०–१२ अर्बको रासायनिक मल आयात हुन्छ भने सुरुमा २० प्रतिशत चाहिँ प्रांगारिक मलमा लगानी गर्ने व्यवस्था भए पनि धेरै राहत हुने थियो । यस्तै, अवस्था रहृयो भने प्रांगारिक मल उद्योगमा भएको लगानी जोखिममा पर्छ ।

प्रांगारिक मलको प्रभावकारिकता चाहिँ कस्तो छ ?

रासायनिक मलको तुलनामा सुरुमा प्रांगारिक मलमा केही बढी लगानी परे पनि दीर्घकालीन रूपमा यो निकै सस्तो पर्न जान्छ । रासायनिक मल प्रयोग नभएको जमिन छ भने त सुरुमै पनि प्रांगारिक मल महँगो पर्दैन । लामो समयसम्म रासायनिक मल प्रयोग गरेको जमिनको माटोमा सुधार ल्याउन भने केही वर्र्ष प्रांगारिक मल अली बढी प्रयोग गर्नुपर्ने भएकोले लगानी बढी पर्ने भएको हो । एक रोपनीमा ६० देखि ७० केजीसम्म प्रयोग गर्दा हुन्छ । हाल बजारमा ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ ।

रासायनिक मल आज १ केजी प्रयोग गरिएको छ भने अर्को वर्ष २ केजी प्रयोग गर्नुपर्ने हुन्छ भने प्रांगारिक मलको प्रयोग भने हरेक वर्ष घटाउँदै जान सकिन्छ । बाली नालीको कुरा मात्र होइन, जनस्वास्थ, वातावरण सबैका हिसाब किताब गर्ने हो भने त रासायनिक मलको तुलनामा प्रांगारिक मलको प्रयोग कैयौं गुणा सस्तो छ ।

प्रांगारिक मलमा विकृति पनि छ, मलका नाममा माटो बिक्री गर्छन् भन्ने गुनासो पनि सुनिन्छ नि ?

प्रांगारिक मलको गुणस्तरप्रति धेरै सचेत हुुनुपर्छ, हामी चाहिँ गुणस्तरप्रति एकदमै सचेत छौं । हामीले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको प्रांगारिक मल उत्पादन गरेका छौं, हाम्रो उद्योग अन्तर्राष्टियस्तरको गुणस्तर प्रमाणपत्र प्राप्त छ । हरेक वर्ष गुणस्तर परीक्षण र अनुगमन हुन्छ । त्यसैले हाम्रो उत्पादन निर्यातका लागि पनि सबै मापदण्ड पुगेको छ, निर्यात पनि गर्न सकिने अवस्था छ । त्यसैले अन्य उद्योगलाई गुणस्तर मापदण्डप्रति कडाइ गर्न सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ । त्यस्तो भयो मल भनेर माटो बिक्री गर्ने प्रवृत्तिको पनि अन्त्य हुन्छ भने किसानमा पनि प्रांगारिक मलप्रति विश्वास बढ्दै जान्छ ।

तपाईंको उद्योगको क्षमता कति हो ?

क्षमतामा त प्रतिदिन २० टन हो तर अहिले माग नभएकोले प्रतिदिन ६ देखि ८ टन मात्रै उत्पादन भइरहेको छ ।

बजार चाहिँ कहाँ हो ?

स्थानीय बजारका साथै नेपालभर बिक्री हुने गरेको छ । नेपालमा मात्र नभई विदेश निर्यातका लागि पनि पहल भइरहेको छ ।

कच्चा पदार्थ के हो ?

गाईको गोबर, कुखुराको सुली, जंगली झारपात, बायोचारलगायत हो ।

उद्योगका लागि अनुदान पनि पाउनुभयो ?

हामीले आफ्नै लगानीमा सञ्चालन गरेको हो, अनुदानका लागि पहल त गरियो तर नपाएपछि आफ्नै लगानीमा स्थापना गरिएको हो ।

अस्वस्थ प्रतिस्पर्धा पनि छ भनिन्छ नि ?

अस्वस्थ प्रतिस्पर्धाको मुख्य कारण त गुणस्तर नै हो । गुणस्तरकै कारण होला, प्रतिकेजी २५ रुपैयाँदेखि ५० रुपैयाँसम्म मल बिक्री भइरहेकोे अवस्था छ । बजार नभएकोले अरू कुरामा खासै प्रतिस्पर्धा छैन । अहिलेको अवस्थामा अस्वस्थ प्रतिस्पर्धाभन्दा पनि बजार बनाउन सबै व्यवसायी मिलेर जानुपर्ने अवस्था छ ।

कति लगानी उद्योग स्थापना गर्नुभयो ?

हाम्रो उद्योग चितवनको चैनपुरमा रहेको छ । उद्योगमा करिब ९ करोड लगानी भएको छ । उद्योगमा युनिभर्सिटी अफ क्यालिफोर्नियाको हट एयर एरोविक कम्पोष्टिङ प्रविधिमा आधारित रहेर सोहीअनुसारको मेसिनरी उपकरण प्रयोग गरिएको छ । अहिले हाम्रो उद्योगको वार्षिक खपत ५० हजारदेखि १ लाख केजीसम्म रहेको छ । खपत बढाउन नेपालभरि पुगिसक्यौँ तर पनि खासै उपलब्धि देखिएको छैन । त्यसैले खपत बढाउन राज्यस्तरबाट नीतिगत व्यवस्था नै हुुनुपर्ने देखिएको छ ।

मुख्य समस्या के छ ? 

सबैभन्दा मुख्य समस्या बजार नै हो । रासायनिक मलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकोेले धेरै चुनौती छ । मल कारोबार हुने मुख्य आधार एग्रोभेट भएकोले एग्रोभेटलाई पनि प्रांगारिक मलको प्रवद्र्धनमा लगाउन सक्यो भने राम्रो हुने थियो तर मुनाफाकै कारण होला, अहिले एग्रोभेटले पनि रासायनिक मल र विषादीलाई प्राथमिकता दिएको अवस्था छ । 





Views: 184